१० किलो मिटर सडक पिच

|

सिन्धुली : पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजनाको पश्चिम खण्ड निर्माणको काम तीव्र गतिमा अघि बढेको छ।

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको सडकको पश्चिम खण्डमा सडक संरचना निर्माण, पुल निर्माण, कजवे, ह्युम पाइप, बक्स कल्भर्ट र स्ल्याब कल्भर्ट लगायतको संरचना निर्माणको काम धमाधम अघि बढेको हो।

सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवनपुरको हेडौँडा महानगरपालिका–६ चौगडासम्मको कुल ११५ किलोमिटरमध्ये हालसम्म पुल र सडक गरी करिव ४० प्रतिशत सडक निर्माणको काम सकिएको आयोजनाको दावी छ।

कुल ११५ किलोमिटर खण्डअन्तर्गत सडकतर्फ करिव ३० प्रतिशत र पुलतर्फ ५०.५५ प्रतिशत काम सम्पन्न भएको धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौँडा सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर तथा सूचना अधिकारी प्रकाश पौडेलले बताए।

आयोजनाको पश्चिम खण्डको १० किलो मिटर सडकमा पिच नै भइसकेको छ। वागमती नदीदेखि मकवानपुरको फापरवारी छतिवनसम्मको १० किलोमिटर सडक पिच भएको इन्जिनियर तथा सूचना अधिकारी पौडेलले जानकारी दिए।

अहिले सडक निर्माणको काम धमाधम अघि बढेको छ। उनले भने ‘सुरुवातको केही समय सडक सीमा भित्रको घर–टहरा हटाउँदै क्षतिपूर्ति दिन, फास्ट ट्रयाकसँग जोडिएको स्थानमा व्यवस्थापन गर्न, रूख कटान गर्न, सडकमा पर्ने पोल र पाइपहरूको व्यवस्थापन गर्न मुख्य समस्या थियो। अहिले सबै हल हुँदै गएको छ।’

११५ किलो मिटरमा ३३ वटा पुल, ५७ स्थानमा कजवे, ह्युम पाइप ३९७ वटा, बक्स कल्भर्ट १९, स्ल्याब कल्भर्ट ४ रहने इन्जिनियर पौडेले जनाए। ३३ वटा पुलमध्ये ८/९ वटा पुल निर्माण सम्पन्न भएको र बाकी पुलको जग र सवस्टक्टर निर्माण भइरहेको इन्जिनियर पौडेलेको दावी छ।

तीन वर्ष निर्माण अवधि रहेको सडक आयोजनालाई कालिका, स्वच्छन्द, रकेन जेभी काठमाडौंले २०७३ कात्तिक २२ गते ठेक्का सम्झौता गरेको थियो। ११ मिटर चौडाई रहेको उक्त सडक दुई पत्रमा पिच हुनेछ। पहिलो लेयरमा ११ मिटर चौडाइमै पिच हुने र त्यस माथि ७ मिटर चौडाइमा दोस्रो लेयरमा पिच हुने इन्जिनियर पौडेलेको भनाई छ।

आयोजनाको कुल लम्बाई ३१८ किलोमिटरमध्ये उदयपुरको बसाहादेखि सिन्धुलीको भीमानसम्मको १३५ किलोमिटर पूर्वी र भीमानदेखि हेटौँडासम्मको ११५ किलोमिटर सडकलाई पश्चिमी खण्डको रूपमा विभाजन गरिएको छ। ११५ किलोमिटर रहेको पश्चिम खण्डको मकवानपुरमा ४८ दशमलव ६१ र सिन्धुलीमा ६६ दशमलव ४३ किलोमिटर रहेको छ।

११५ किलो मिटर सडक स्तरोन्नतीका लागि ६०० करोड र ३३ वटा पुल निर्माण गर्न ३०० करोड गरी कुल ९०० करोड रुपैयाँमा सम्झौता भई निर्माण कार्य भइरहेको छ।

धुराबजारदेखि खठ्ठारसम्मको पाँच किलोमिटरमा देखिएको विवाद समाधान गर्ने सहमती

धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौँडा सडक आयोजनाको पश्चिम खण्डअन्तर्गत कमलामाई नरपालिकाको शान्तिनगर चोकदेखि खट्टारसम्मको सडकमा देखा परेको समस्या समाधान गर्ने सहमति भएको छ। राजमार्ग निर्माण अघि गरिएको नक्सांकनभन्दा वैकल्पिक ठाउँबाट पाँच किलोमिटर सडकको ट्रयाक खन्ने विषयमा जिल्लाका राजनीतिक दल, स्थानीय तह, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधि र सरोकारवालाबीच सहमती भएको कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले बताए।

नक्सांकन गरिएको स्थानबाट सडक विस्तार गर्दा धुराबजा, मिलनचोक, साङबाले, खट्टारका दर्जनौँ भौतिक संरचना हटाउनु पर्ने र जसले गर्दा धेरै मानिस विस्थापित तथा सुकुम्बासी हुने भन्दै स्थानीयले विरोध जनाएपछि नक्सांकन गरिएको स्थानबाट नभई अन्यत्रबाटै विकल्प खोज्नुपर्ने स्थानीयले माग गरेपछि त्यस क्षेत्रको सडक विस्तारमा विवाद भएको थियो।

आयोजनाले विवाद समाधान गर्दै वैकल्पिक ठाउँ छनोट गर्न कमलामाई नगरपालिकालाई जिम्मा दिएको थियो। जसअनुसार राजनीतिक दल, संघ तथा प्रदेशका सांसद, प्रशासन तथा स्थानीय सरकारले नक्सांकन गरिएको स्थानभन्दा उत्तरबाट साविक हाज्माको २ नम्बर गेट हुँदै कुमाल फाँट भई खट्टार जोड्ने सहमति भएको नगरप्रमुख खत्रीले बताए।

कुमाल फाँटमा पनि नयाँ बस्ती बढ्दै गएकाले विवाद हुन थालेपछि त्यस क्षेत्रको सहरीकरण गर्दै सडक विस्तार गर्ने सहमती भएको र सोहीअनुसार सहरीकरणको डिपिआर तयारको प्रक्रिया सुरु हुन थालेको नगरप्रमुख खत्रीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.