|

काठमाडौं : स्थानीय तह पुनर्संरचना गर्दा पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकालाई मिसाउने वा अलग राख्ने भन्नेमा विवाद भएपछि कास्की जिल्लाबाट स्थानीय तह पुनर्संरचना आयोगमा दुईवटा प्रस्ताव पेश भएका छन्। कास्की जिल्लाबाट आयोगमा पठाइएको पहिलो खाकामा एक महानगरपालिका र पाँच गाउँपालिका बनाउने प्रस्ताव गरिएको छ भने दोस्रो खाकामा एक महानगरपालिका, एक नगरपालिका र तीन गाउँपालिका बनाउने प्रस्ताव छ।

पहिलो खाकामा अहिलेको पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकालाई मिसाएर पोखरा लेखनाथ महानगरपालिका बनाउने प्रस्ताव छ भने दोस्रो खाकामा पोखरा र लेखनाथलाई अहिलेकै संरचनामा राख्ने प्रस्ताव गरिएको छ। भूगोल र आर्थिक-सामाजिक दृष्टिले सँगै रहेका यी दुई नगर जोडेर स्थानीय तह पुनर्संरचना गर्ने कि अलग सहरका रुपमा आफूलाई विकास गरिरहेको लेखनाथलाई छुट्टै तह बनाउने भन्नेमा यहाँका राजनीतिक दल, सामाजिक संस्था र स्थानीयबासीका आआफ्ना मत छन्।

यही सन्दर्भमा संसदको विकास समितिका सभापति एवं कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद रविन्द्र अधिकारीसँग पोखरा र लेखनाथको आर्थिक सम्बन्ध र यी दुई सहरको भविष्यबारे रविराज बरालले गरेको कुराकानी :  

लेखनाथ र पोखराको एकीकृत विकासबाटमात्रै यो क्षेत्रलाई सम्मृद्ध बनाउन सकिन्छ भन्ने मेरो पूर्ववत मान्यता हो। यी दुईवटालाई छुट्याएर गरिने विकास दिगो हुँदैन। लेखनाथ र पोखराको एकीकृत विकास गर्नुपर्दछ ताकि पूर्वाधार बनाउँदा, पर्यटन, सञ्चार,सहरी विकास, यातायात व्यवस्थापन, जनशक्ति विकास र समाजिक परिचालनसँगसँगै गर्न सकियोस्। लेखनाथ र पोखरा जोड्नेगरी चक्रपथ बनाउने योजना त्यही एकीकृत विकासको पहल हो।

पोखरा भनेको लेखनाथ र पोखरामात्रै होइन, यस आसपासको क्षेत्रपनि हो। त्यसैले वृहद् पोखरा (ग्रेटर पोखरा) को अवधारणामा गयौँ भनेमात्रै हामीले यस क्षेत्रको दिगो विकास गर्न सक्छौँ। विकासको विद्यार्थीभएकोले संसारका अन्य मुलुकले कसरी विकास गरेका छन् भनेर हेर्ने मौका पाएको छु। जति ठूला नगरपालिका बनाउन सक्यो, ती उति नै प्रभावकारी भएका छन्। त्यसैले संसारमा  नगरपालिकाहरुलाई सानो बनाउने वा टुक्र्याउने होइन, बढाउने क्रम चलेको छ। ठूलो बनाउँदा अर्कै सम्भावनाका साथ काम गर्न पाइन्छ।

अबको बसाइसराईँ पनि नगरपालिकाहरुमै हुन्छ। अहिलेदेखि बस्ती व्यवस्थापन गर्ने हो भने त्यहाँ जनसंख्या पनि कम हुँदैन। अध्ययनहरुले भनेका छन् कि अबको २५ वर्षमा ८० प्रतिशत जनसंख्या सहरमा हुन्छ। त्यसैले भविष्य हेरेर हामीले योजना बनाउनुपर्छ। दीर्घकालीन हिसाबले सोचेर योजना बनाउने हो भने एकातिर आधुनिक बस्तीहरु बनाउन सकिन्छ भने अर्कोतिर प्राकृतिक स्रोतको उचित संरक्षण पनि गर्न सकिन्छ। यो लेखनाथ पोखरा जोड्नुको पहिलो फाइदा हो।

लेखनाथ र पोखरालाई जोड्दा एकातिर पूर्वाधार विकासको एउटै योजना बनाउन सकिन्छ भने अर्कोतिर सहरको एकीकृत विकास गर्न सकिन्छ। यो दोस्रो फाइदा हो। पोखरालाई स्मार्ट सिटी बनाउने योजना छ। तर पोखरालाई स्मार्ट सिटी बनाउने लेखनाथलाई नबनाउने भन्ने हुँदैन। बनिहाल्यो भने पनि बुचो हुन्छ। त्यसले पोखरा वृहद् भयो भने बल्ल संसारका सहरसँग प्रतिस्पर्धा गर्ने स्मार्ट सिटी बनाउन सकिन्छ। फेवातालको कुरा गरेर सात ताल भुल्न पनि भएन र सात तालको कुरा गरेर फेवाताल भुल्न पनि भएन। लेखनाथ र पोखरा जोडेर एकीकृत विकास गरेमा हामीलाई जमिन पनि पर्याप्त हुन्छ। फलस्वरुप कहाँ के बनाउने भनेर हामीले योजना बनाउन पाउँछौँ।  

पोखरा प्रदेश नम्बर ४ को राजधानी पनि हो। आसपासको क्षेत्रलाई समेट्दै हामी लेखनाथ र पोखरासम्म फेलियौँ भने लमजुङ, तनहुँ, स्याङ्जा र पर्वत जोडिएर अगाडि जान सक्छौँ। त्यसपछि गोर्खा, मुस्ताङ र मनाङ जोडिन्छन्। यो तेस्रो फाइदा हो। लेखनाथमा विमानस्थल छैन, पोखरामा विश्वविद्यालय छैन भन्न मिल्दैन। हामीसँग पोखरा विश्वविद्यालय छ, हामीसँग विमानस्थल छ। हामी एउटै हौँ। त्यसैले लेखनाथ र पोखरालाई एकीकृत स्वरुपमा जोड्नुपर्छ।

जुनसुकै सहरमा पनि न्यूनतम काम गर्न निश्चित जनसंख्या आवश्यक पर्छ। पोखराको जनसंख्यामात्रै पनि पर्याप्त छैन र लेखनाथको जनसंख्यामात्रै पनि पर्याप्त छैन। दुईवटा जोड्दाखेरीमात्रै एउटा आधुनिक सहरको लागि चाहिने जनसंख्या पुग्छ। त्यो जनसंख्याभित्र तपाईँले सानातिना उद्योगदेखि लिएर ठूला ठूला विकासका योजनाहरु कार्यान्वयन गर्न सक्नुहुन्छ। यो चौँथो फाइदा हो।

मनोविज्ञानको समस्या

यी दुई सहरको एकीकृत विकास गर्नपर्छ तर त्यसका लागि जनमानसमा रहेका केही भ्रम निवारण गर्न जरुरी छ। लेखनाथ र पोखरा दुबैतिर केही समस्या छन्। मुख्यरुपमा मनोविज्ञानको प्रश्न हो। लेखनाथ पहिलादेखि नै हेपिएको छ, पछाडि परेको छ। हामी लेखनाथलाई नयाँ पोखरा बनाउन खोजिरहेका छौँ तर यो ठाउँ लामो सयमदेखि पोखराको छायाँमा परेको छ। दुईवटा नगरपालिका हुँदा पनि पोखराको मेयरले हेप्थ्यो होला। जुनसुकै कार्यक्रममा पनि पोखराका मान्छे हुने तर लेखनाथ नसमेटिने कुरा त छँदै थियो।

लेखनाथ नगरपालिका बनाइसकेपछि लेखनाथको परिचालन अलि प्रभावकारी भएको छ। नयाँ बनेका नगरपालिकामध्ये राम्रो लेखनाथले नै गरेको छ। साना सहरी खानेपानी आयोजना नगरपालिकाको आफ्नै नेतृत्वमा राम्रोसँग पूरा भयो। उद्योग वाणिज्य संघ लगायतको काम पनि प्रभावकारी भएको छ। सामाजिक परिचालन पनि प्रभावकारी देखिन्छ। त्यसले गर्दा पोखरासँग मिसिँदा हाम्रो पहिचान लोप हुन्छ कि भन्ने चिन्ता छ। लेखनाथ भन्दा त हामी अलगै थियौँ, केही न केही परिचय थियो भन्ने मनोविज्ञान पनि छ।हो, तलबाट हेर्दा अलग परिचय थियो होला तर व्यापक हिसाबले हेर्दा त त्यो परिचय पनि ठूलो परिचयबाट जति बलियो आउँछ सानोबाट त आउँदैन।

पञ्चायतकालदेखि पछाडि पारिएका लेखनाथबासीको भावना स्वभाविक हो। बाटो त हाम्रैबाट जान्छ तर हामीपछाडि पर्‍यौँ भन्ने मनोविज्ञान आज पनि छ। त्यसको निम्ति पोखरा दोषी छ कि छैन? बहस यहाँनेर जरुरी छ।पोखरा दोषी छ। पोखराले आफूलाई ठूलो ठान्यो। पर्यटन भन्यो भने लेखनाथ होइन पोखरा, पोखरा पनि होइन लेकसाइड भन्ने भयो। लेकसाइडमा मात्र सीमित पर्यटनले केही पनि गर्नेवाला छैन। त्यो बेगनासतालसम्म फैलिन सकेन भने, बेगानासतालमा अर्को लेकसाइड बनाउन सकिएन भने, रुपाताललाई संरक्षण गरेर त्यहाँ अर्को लेकसाइड बनाउनसकिएन भने समुचित विकास गर्न सकिँदैन। सात तालमा संरक्षण गरेर रहेक तालमा लेकसाइड बनाउन सक्यौँ भनेमात्र हामीले सोचेको ग्रेटर पोखरा बन्छ। 

पोखराजस्तै लेखनाथ बनाउनपर्‍यो, पोखराको लेकसाइडजस्तै लेखनाथमा पनि लेकसाइडहरु बनाउनुपर्‍यो, पोखरामा जस्तै अरु पूर्वाधार लेखनाथमा पनि हुनुपर्‍यो। अनिमात्र वृहद् पोखरा बन्छ। पोखराले विश्वविद्यालय भएन भनेर चिन्ता मान्नुपरेन। लेखनाथले विमानस्थल भएन भनेर चिन्ता गर्नुपरेन। वृहद् बसपार्क लेखनाथको लामेआहालमा राख्ने हाम्रो योजना छ। कोत्रेमा पारी जाने पुल बन्दैछ। पोखराले आफूलाई साँघुरो बनाउने होइन फराकिलो बनाउनुपर्छ। पोखराको रैथाने मानसिकता हट्नुपर्छ। पर्यटनको हिसाबले लेकसाइड र व्यापार व्यवसायको हिसाबले महेन्द्रपुल वा चिप्लेढुंगा भन्ने बुझाइलाई पनि हामीले फराकिलो बनाउनुपर्छ। ग्रेटर पोखरा भनेको यही हो। त्यसो गरियो भने पोखरा आसपासका गाउँहरुको अर्को ढंगले विकास हुन्छ र ग्रेटर पोखरा बन्छ। त्यतिबेला अहिलेको भन्दा आधुनिक पोखरा बन्छ। समग्रमा स्मार्ट सिटी बन्छ। निश्चित जनसंख्यासहितको क्षेत्रको योजनाबद्ध विकास नगरीकन स्मार्ट सिटी बनाउन सकिँदैन।

लेखनाथमा पर्यटनको विकास सोचेजस्तो किन हुन सकेन? भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ। जति छलफल गरे पनि निष्कर्ष के हो भने लेखनाथ र पोखरालाई जोडेरमात्र समग्र विकास गर्न सकिन्छ।हामी कोरलादेखि सुनौलीसम्म उत्तर दक्षिण राजमार्ग ल्याउँदै छौँ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै छौँ। हामी अलगअलग हौँ भन्ने सोचेर यो सबैको लाभ लिन सम्भव हुँदैन। पहिलेको मनोवृत्तिअनुसार सोच्नुको कुनै अर्थ छैन, नयाँ सोचाइबाटकाम गर्नुपर्छ। अन्ततः लेखनाथ पोखराको एकीकृत विकासको विकल्प हामीसँग छैन। कामको क्षेत्र बाँड्ने र क्षमताअनुसार गुणस्तरीय सार्वजनिक सेवा दिने कुरा मुख्य हो। मान्छेका 'इगो' को पछि लागेर विकासका काम रोकिनुहुन्न। 

स्मार्ट सिटीको अवधारणा

फोटोः fb.com/shreedharphotography

लेखनाथ र पोखराको एकीकृत विकास गरी स्मार्ट सिटी बनाउने योजनामा हामी छौँ। के पोखरालाई स्मार्ट सिटी बनाउन सकिन्छ? स्मार्ट सिटीका केही पूर्वाधार हुन्छन्, जुन पूरा गर्न सकेमा हामी स्मार्ट सिटी बन्न सक्छौँ। मुख्यरुपमा संसारमा जहाँतहीँ यातायातलाई एक नम्बरमा राखिन्छ। स्मार्ट सिटीमा सार्वजनिक यातायात नियमित चल्नुपर्छ। एकजना यात्रु नभए पनि यातायात चलिरहनुपर्छ। त्यसले निजी यातायातको बाध्यता घटाउँछ। सामान्यतया मान्छेहरु यातायात भाडाका लागि कार्डमा अभ्यस्त हुन्छन्। त्यही कार्डले बैंकमा काम गर्छ, विद्युतमा काम गर्छ, रेस्टुराँमा काम गर्छ, बजारमा काम गर्छ, सबै ठाउँमा काम गर्छ। यसका लागि स्मार्ट पूर्वाधार बनाउनुपर्छ। पूर्वाधार बलियो भयो भने स्मार्ट सिटी बनाउन सकिन्छ, स्मार्ट सिटिजन बन्न सकिन्छ।

दोस्रो, सञ्चार।स्मार्ट सिटीमा सञ्चारको यस्तो प्रणाली हुन्छ कि त्यहाँ गुणस्तरीय टेलिफोनसेवा, मोबाइलसेवा, द्रुतगतिको इन्टरनेट हुन्छ। वाइफाइ फ्रि क्षेत्रहरु हुन्छन्। पूर्वाधारका हिसाबले यसलाई पनि पहिलो मानिन्छ तर धेरैजसो ठाउँमा यातायातलाई नै पहिलो भनिएको पाएँ। सञ्चारको पूर्वाधार बलियो भएन भने आइफोन भएर पनि केही हुँदैन।

तेस्रो हो- विद्युत। स्मार्ट सिटीमा २४ घण्टा विद्युत हुनुपर्छ। सबैकुरा किनबेच कार्डबाटै हुन्छ। स्कुल/कलेजमा पठानपाठनका लागि पनि डिजिटल प्रविधिको प्रयोग हुन्छ। यी सबैका लागि विद्युतको नियमित उपलब्धता पूर्वसर्त हो। स्वास्थ्यमा पनि परिवर्तन हुन्छ। कतिसम्म भने घरमै बसेर पनि तपाईँडिजिटल माध्यममार्फत डाक्टरसँग परामर्श गर्न सक्नुहुन्छ। अहिलेजस्तो अस्पतालमा नाम लेखेर लाइन लगाउनुपर्दैन। पर्यटनमा पनि परिवर्तन हुन्छ। एप्सहरुमा सहरका बारेमा सूचना हुन्छन्। कोही हाम्रो सहरमा आउँछ भने गाइड नभए पनि हिँड्न सक्ने र गन्त्व्यमा पुग्न सक्ने हिसाबले सबै क्षेत्रलाई प्रविधिसँग जोडिएको हुन्छ। सबै क्षेत्रहरुलाई प्रविधिमैत्री बनाएको सहर स्मार्ट सिटी हो। पूर्वाधारसँगै नागरिक पनि स्मार्ट हुन्छन्। त्यहीअनुसारको शिक्षा र संस्कृतिको विकास हुन्छ। 

पोखरा बन्ला त स्मार्ट सिटी?

पोखरा र लेखनाथलाई छुट्याएर पनि स्मार्ट सिटी बनाउन सकिन्छ तर त्यो प्रभावकारी हुँदैन। लेखनाथ र पोखरालाई जोड्ने गरी चक्रपथमा पोखरासम्म कार्ड चल्छ तर लेखनाथमा चल्दैन भन्ने हुँदैन। जति भूभाग ओगट्छ, त्यो ठाउँमा सबै कुरा प्राप्त हुने बनाउनुपर्छ। बैंक, एटीएम, चक्रपथ, बाटोमा सार्वजनिक शौचालय, पेट्रोलपम्पहरु आदि समान मापदण्ड र स्तरका हुनुपर्‍यो। स्मार्ट सिटीको योजना बनाउन र कार्यान्वयन गर्न ठूलो जनसंख्यामा सजिलो हुन्छ। आर्थिक हिसाबले पनि जति ठूलो जनसंख्या त्यति सस्तो सेवा हुन्छ। धेरैजना मिलेर बस्दा खर्च घट्छ। पोखरालाई माथि उल्लेख गरिएका चरित्रसहितको स्मार्ट सिटी बनाउन सम्भव छ। तर त्यसका लागि हामीले हाम्रो छाति ठूलो बनाउनुपर्छ, हामी एकआपसमा जोडिएका छौँ भन्ने यथार्थ बिर्सिनुहुन्न।

आफूलाई लेखनाथबासी र पोखराबासी भनेर हामीले अलगअलग सोचे पनि जोमसोमसम्मलाई पोखरा भनेर चिन्न थालिएको छ। जोमसोमलाई पोखरा भन्न किन पनि गाह्रो भएन भने त्यहाँएकदम छोटो समयमा पुगिन्छ। जहाजबाट त छँदैछ, गाडीबाट पनि बढीमा ६ घण्टामा पुगिन्छ। राम्रो बाटो बन्ने हो भने ४ घण्टामै पुगिन्छ। त्यसैले फराकिलो हिसाबमा भन्ने हो भने पोखरा आसपासमा रहेका जिल्लाहरु र साँघुरो हिसाबले भन्दा पोखरा र लेखनाथसँग जोडिएका गाउँ र उपत्यकाको टापुमा रहेका भूभाग समग्रमा पोखरा हो। अब लुम्बिनी पनि स्मार्ट सिटी बन्ने योजनामा छ। पोखराको पर्यटक लुम्बिनी र लुम्बिनीको पर्यटक पोखरा गर्दा हामीलाई दोहोरो फाइदा हुन्छ। पोखरालाई थप फाइदा के छ भने पोखराबाट काठमाडौं पनि उत्तिकै दुरीमा छ। २०० किलोमिटर यता पनि उता पनि जाने अवसर हामीलाई छ। चितवन पनि पोखराबाट त्यति नै नजिक छ। यस हिसाबले पोखरा नेपालकै हब र सेन्टर बन्छ। 

पोखराको भविष्य

आजकै दिनमा पनि पोखरा लेखनाथ सबैभन्दा राम्रो सहर हो। ५/७ वर्षयता पोखरा नेपालका सहरमा एक नम्बरमा छ। पूर्वाधार, पर्यटन र संसारको आकर्षणको हिसाबले पनि एक नम्बरमै छ। अबको १० वा २० वर्षमा पोखरा नेपाल चिनाउने सिटी हुन्छ, नेपालीले गर्व गर्ने सहर हुन्छ। अझ छिटो पोखरालाई अन्तर्राष्ट्रिय सहर कसरी बनाउने भन्ने हो। हामी उत्तर दक्षिण राजमार्गमा पनि छौँ। पूर्व पश्चिमपनि जोडेको छौँ। अन्तर्राष्ट्रिय विमानस्थल पनि त्यहीँ छ। चक्रपथदेखि अरु पूर्वाधार पनि बनाउँदै छौँ। पर्यटक बढिरहेका छन् भने रेमिट्यान्स घट्दै छ। यसलाई ब्यालेन्स गर्ने हो भने अब ४०/५० लाख पर्यटक ल्याउनुपर्छ।

पर्यटन, जलविद्युत,प्रदेश राजधानी, तालतलैया, स्वास्थ्य, शिक्षा, खेलकुद र साहित्यसंस्कृति सहितको स्मार्ट सिटी अबको पोखरा हो। पोखराका मान्छेहरु सभ्य हुन्छन्, सुसंस्कृत हुन्छन्, सहयोगी हुन्छन्, राम्रो समाज छ, सामाजिक सुरक्षा भएको, मिहिनेती उद्यमीहरु भएको सहर हुनेछ। पूर्वाधारको विकाससँगै यति कुरा विकास गरेको शिक्षित र सुसंस्कृत पोखरा बनाउन सकिन्छ।

स्थानीय तह पुनर्संरचनाको बहसमा सहभागी हुनुहोस्। आफ्नो विचार पठाउनुहोस्। इमेलः [email protected]  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • पुनश्च : राज्य पुनरसंरचना प्राविधिक सहयोग समितिले केन्दीय आयोगका कास्कीको स्थानीय ईकाई को खाका पठाउनु भन्दा पहिल्यै अन्नपुर्ण गाउँपालिकामा समावेस गरिने भन्ने सुन्नमा आए लगत्तै पुनरविचार गरी अन्नपुर्ण गाउँपालिका बाट यस ढिकुरपोखरी गाविसलाई पोखरा महा नगरपालिका समावेसको माग गर्दै ढिकुरपोखरी नागरिक मंचको को तर्फबाट मिति २०७३/०५/ २७ गते २५०० जनताको प्रतिनिधिमुलक संकलित हस्ताक्षर सहित निवेदन पेश गरेका थियौं / त्यस निवेदन उपर कुनै सुनुवाई नभए पछी फेरी मिति २०७३/०७/२६ र २७ गते गाविस कार्यालयमा ताला समेत लाग्न पुग्यो / यसै क्रममा सर्वदलीय सर्वपक्षीय आम भेलाको पोखरा महा नगरपालिकामा नै समावेस गर्ने माग गर्ने निर्णय बमोजिम मिति २०७३/०७/२९ गते भेलाको को निर्णय उतार, नागरिकको संकलित हस्ताक्षर र गाविसको सिफारिस् सहित गाविस नागरिक मंचको अगुवाईमा डेलिगेसन गै पुन: निवेदन पेश गरिएको व्यहोरा आवगत चाहन्छौं / जिल्लामा भोलि मिति २०७३/०८ ०१ गते दिउसो ३ बजे बैठक बस्ने भन्ने सुनिएको छ /

  • माननीय ज्यु को अवधारणा मलाई अत्यन्त मन परेको छ / राष्टको भौगोलिक क्षेत्र जति ठुलो भयो त्यति प्राकृतिक श्रोत र साधनको भण्डार ठुलो हुन्छ /तिनै साधनहरुको समुचित उपयोगबाट नै राष्ट्र सम्बृद्ध बन्ने हो /त्यस्तै हाम्रा स्थानीय एकाईहरु जति ठुला बनाउन्छौ त्यतिनै ति एकाईहरु साधन र श्रोतले धनि हुने हुँदा त्यो क्षेत्रको बिकाशको गति तिब्र हुन्छ , जनताले प्राप्त गर्ने सेवा र सुविधाहरु सहज र सस्तो हुँदै जान्छ / यही महत्व भुझेर नै हामी ढिकुरपोखरी गाविसका सचेत नागरिकहरु पोखरा समावेस हुन चाहन्छौं / बिडम्बना ! हाम्रो चाहना विपरित , भौगोलिक स्वरुपको विपरित , पायकको विपरित , फेवाताल जलाधार संरक्षणको गुरुयोजना विपरित ,अग्रगमनको विपरित , विकासका विद्यमान पूवाधारको आवस्था विपरित , सामाजिक तथा शैक्षिक विकासको अवस्था विपरित यस ढिकुरपोखरी गाविसलाई तीन तिरबाट नगरपालिका नगरपालिका घेरी नसुहाउँदो किसिमले , विकासका पूर्वाधार दृष्टिले तुलनात्मक हिसाबले धेरै पछाडी रहेका गाविसहरुको समुहमा समावेस गरी अन्नपूर्ण गाउपालिका समाबेस गरिनु ठुलो अन्यायमा परेको र साथै लज्जाबोध अनुभूति गरेका छौं / यसमा पुनरविचार गरी पोखरा महा नगरपालिकामा समावेसको लागि पहल गरिदिनु हुन् बिनम्र आनुरोध छ / साथै हजुरको प्रतिक्रियाको पर्खाई मा छौं !

  • पोखरा स्मार्ट सिटिको अवधारणा राम्रो छ! अन्नपूर्णा गांउपालिकाको हालको ढिकुरपोखरी खण्ड झण्डै नेपालको नक्सा आकारको दुई तर्फबाट महानगरले ढाकेको क्षेत्रलाइ समेत पोखरा स्मार्ट सिटिमा समावेस गर्न पाए कति राम्रो हुन्थो !