सांसद र खानेपानीमन्त्री मगरबीच जुहारी

|

काठमाडौं :

आयोजनाको कन्सेप्ट पेपर सन् १९७२ मा बन्यो। अस्ट्रेलियाली कम्पनी स्मेकले उपयुक्त आयोजना भएको ठहर गर्‍यो। सन् १९९८ मा विकास समितिको गठन गरियो। २००१ बाट आयोजना अघि बढाउने भनेर प्रकियागत काम भयो। २००९ मा चिनियाँ कम्पनीले निर्माण जिम्मा लियो, २०१४ भित्र सक्ने सर्तमा तर २०१२ मा सम्झौता तोडियो।

२०१३ मा तीन वर्षभित्र सक्ने गरी इटालियन कम्पनी सिएमसीले निर्माण ठेक्का लियो। संशोधित लक्ष्यअनुसार ३१ अगस्ट २०१८ मा काम सकिनुपर्ने हो तर काम सकिएन। ठेक्का तोड्ने पत्र खानेपानी मन्त्रालयमा पुग्‍यो।

खानेपानी सचिव गजेन्द्र ठाकुरले निर्माणको दुई चरणमा जिम्मा पाएका दुई अन्तर्राष्ट्रिय कम्पनीसँगको काम बिहीबार संसदको अर्थ समितिमा पेस गरे। सोही समयमा समितिका सदस्यहरूले खानेपानीमन्त्री र सचिव र आयोजना प्रमुख समक्ष भने, 'मेलम्ची आयोजना कथा दुई जस्तो नबनोस्, समयमै काम सकियोस्।'

मेलम्चीको इतिहास खानेपानी सचिवले मात्रै सुनाएनन्, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मेलम्ची पूरा हुँदा पूर्वप्रधामन्त्री कृष्णप्रसाद भट्टराईको सपना पनि पूरा हुने कुरा बताए। उनले भने, 'मेलम्ची इतिहास भएको छ। २०४८ सालमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देखेका सपना हो यो।'

मेलम्ची कथा भाग तीन

यदि पछिल्लो पटक खानेपानी सचिवले दिएको म्यादलाई आधार मान्ने हो भने २०७५ माग २३ गतेभित्र काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउनुपर्ने हो तर मेलम्ची आयोजनाको विषयमा फेरि सुरुवाती बहस चलेको छ।

आयोजना कसले बनाउने, मिति कहिलेसम्म दिने, बजेट कति लाग्ने? लगायतको विषयमा बहस खानेपानी मन्त्रालयले नै सुरु गरेको छ। मेलम्ची खानेपानी आयोजनामा यसअघि काम गरिसकेका अधिकारीहरूले सरकारलाई यसरी गर भनेर सुझाव दिन सुरु गरिसकेका छन्।

खानेपानी मन्त्रालय भने सिएमसीलाई नै फकाउने तयारीमा छ तर नगरेमा आर्थिक रूपमा घाटा नलाग्ने उसको तर्क छ। मेलम्चीमा अब लाग्ने अनुमान गरिएको लागत दुई अर्ब ६० करोड रुपैयाँ बराबर छ तर सिएमसीको तीन अर्ब ५० करोड रुपैयाँ छ। यसको सोझो आर्थिक रुपमा हिसाब मात्रै हर्ने हो भने सरकार करिब एक अर्ब रकम नाफामा देखिनेछ।
तर यदि सिएमसीसँग वार्ता रोकियो भने नयाँ आयोजना जस्तै नै मन्त्रिपरिषद्‌बाट निर्णय गराउँदै आयोजनाको लागत अनुमान नयाँ निर्माण कम्पनीको छनोटलगायतका काम गरेर अघि बढ्नुपर्ने छ। कति समय लाग्ने हो? अनुमान गर्न अहिले कसैले सकेको छैन।

मेलम्ची भाग दुई

चिनियाँ कम्पनीसँगको सम्झौता तोडिएसँगै सन् २०१३ मा तीन वर्षभित्र सक्नेगरी इटालियन कम्पनीसँग सम्झौता भएको हो तर उसले करिव तीन वर्ष समय सकेको छ। भौतिक कामलाई हेर्ने हो भने सात प्रतिशत काम बाँकी रहेको बताइएको छ।

इटालियन कम्पनीले पछिल्ला तीन सरकारका मन्त्रीहरूलाई झुक्याएको छ। पछिल्ला तीनवटा सरकारले नै मेलम्ची आउने समयावधि तोकेका छन्- आयोजनाले दिएको आधारमा टेकेर। गत ११ मंसिरमा प्रधामनत्री केपी शर्मा ओलीले पनि केही दिनमा मेलम्ची काठमाडौंमा आएपछि सरकारको काम देखिने बताएका थिए। खानेपानीमन्त्री बिना मगरले आफूलाई झुक्क्याइरहेको बताइरहेकी छन्।

सिएमसीले सात अर्ब ७१ करोड रुपैयाँमा निर्माण जिम्मा लिएकोमा आठ अर्ब २१ करोड रुपैयाँ सकिसकेको छ भने दुई अर्ब ६० करोड रुपैयाँको अनुमानित काम बाँकी नै छ। रकमको हिसाबले बरिब साढे तीन अर्ब रुपैयाँ र समयको हिसाबले तीन वर्ष ढिला भइसकेको छ। अब कति हुने हो, पत्तो छैन।

मेलम्ची भाग एक

अवधारणापत्र पेस गरेको समयलाई हेर्ने हो भने मेलम्चीको पहिलो चरण अर्थात् 'भाग १' चार दशक लामो रह्‍यो।

काठमाडौंलाई खानेपानीको विकल्पको सम्बन्धमा मेलम्ची पनि एक हुन सक्ने विषयमा सन् १९७२ मा अवधारणा बन्यो। २० वर्षपछि अस्ट्रेलियाली परामर्शदाताले उपयुक्त आयोजना भएको ठहर गर्‍यो। त्यसको छ वर्षपछि आयोजनाको प्रकिया अघि बढाउन मेलम्ची खानेपानी विकास समिति गठन भयो।

सन् २००१ बाट आयोजनाको काम अघि बढाइयो। २००८ सम्म वातावरणीय प्रभाव मूल्यांकन, सम्भाव्यता अध्ययनलगायतका काम भए भने २००९ मा चिनियाँ कम्पनीले निर्माण ठेक्का लियो- २०१४ मा सक्ने सर्तमा। तर २०१२ सम्ममा त्यो समयमा सक्ने भनेकोमा १५ प्रतिशत पनि काम नसकेको तर अतिरिक्त रकम सक्दै गएपछि सरकारले हात निकालेको थियो।

बढ्दो लागत

पछिल्लो पटक सिएमसीलले काम गर्न सुरु गरेपछि ११ अर्ब रुपैयाँ लागतमा मेलम्चीको काम सकिने खानेपानी सचिव गजेन्द्र ठाकुरको भनाइ छ। आयोजना अघि बढाउने विषयमा सन् २००१ मा विश्‍व बै‌ंकले चार अर्ब ३६ करोड रुपैयाँ लागत अनुमान गरेको थियो। अहिलेसम्म सुरुवाती तोकिएको समय सन् २०१४ का हिसाबले पाँच वर्ष ढिला भएको छ भने समयमै आयोजना नबन्दा लागत निकै बढेको छ। सुरुवातदेखि अहिलेसम्म २६ अर्ब ३५ करोड रुपैयाँ रकम सकिँदा ९३ प्रतशित काम सकिएको दाबी खानेपानी मन्त्रालयको छ।
यो हिसाबले हेर्ने हो भने सुरुवाती अनुमानको तुलनामा सात गुणा बढी लागत लागेको छ।

अर्थ समिति र मन्त्रीबीच जुहारी

बिहीबार अर्थ समितिका सांसद र मन्त्रीबीच जुहारी नै चल्यो। खानेपानीमन्त्री मगरले मेलम्ची आयोजनाले हात निकाल्दा पनि आर्थिक रूपमा सरकार घाटामा नहुने र मेलम्चीले गर्न बाँकी कामभन्दा लिन बाँकी रकम बढी भएको बताएपछि सदस्य सुरेन्द्र पाण्डे र घनश्‍याम भुसालले आश्‍चर्य प्रकट गरे। 'दुई अर्ब ६० करोडको काम छ भनियो, तीन अर्ब ५० करोड लैजानु छ भनिएको छ, यो कसरी भयो? कारण के?', भुसालले भने। 

त्यस्तै, पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले भने, 'तँ कुटेजस्तो गर, हामी रोएजस्तो गर्छौं गरिएको त होइन?' पाण्डे, भुसाललगायतका सदस्यहरूको यस्तो प्रश्‍न आएपछि मन्त्री बिना मगरले भनिन्, 'नेतृत्वज्यूहरूलाई म के भन्छु भने यसमा धेरै शंका नगर्नुस्, शंका गर्ने ठाउँ छैन। नेतृत्वज्यूहरूलाई मेरो अनुरोध हो।'

समयमै काम सक्ने सवालमा खानेपानीमन्त्रीले चार गुणा कामको गति बढाउने प्रतिवद्धता जनाइन्, 'हामीले चार गुणा कामको स्पिरिट बढाउने गरी कामको गति बढाउँछौँ, त्यसको तयारी पनि हामीले गरिसकेका छौँ।'

यस विषयमा पूर्वअर्थमन्त्री पाण्डेले जनतालाई ढाँटेजस्तो संसदीय समितिमा आएर नढाँट्न आग्रह गरे। 'कम्तीमा हामीलाई नढाँट्नुस्, हामीलाई यसका प्रक्रिया थाहा छ। सिएमसीले गरेन भने के सरकार तत्काल इन्जिनियर लिएर फिल्डमा जान सक्छ?'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.