|

धनगढी : भारतको कर्नाटक राज्यको बै‌ंगलोर शहरमा सामान्य गरिखाने परिवारमा जन्मिएकी हुन्, गंगुदेवी खडायत। मालिकको घर सरसफाइ गर्ने, खाना पकाइदिने, लुगा धोइदिने काम गरिरहेकी गंगुदेवीले त्यो बेला सपनामा पनि त्योभन्दा भिन्न देख्न सकिनन्। बाबुले त्यस्तै काम गरेर प्राण त्यागे, बाजेले पनि त्यही काममा जीवन बिताए। गंगुले आफ्नो सन्ततिका लागि त्योबाहेक कहिल्यै कल्पना पनि गर्न सकिनन्।

कुवाको भ्यागुत्तोलाई त्यही नै संसार लाग्छ भनेझैँ गंगुकोे जीवन पनि त्यही मालिक र त्यही मालिकको घर नै संसार बनिरहेको थियो। ‘त्यही घरमा मेरो जीवन सकिन्छ कि भन्ने थियो, त्यस्तो त भएन तर त्योभन्दा कयौँ बढी पीडा र दुःख त्यसपछि मैले खेप्न बाध्य भएँ’, गंगुले सुनाइन्। 

गंगुदेवी खडायत बझाङको थलरा गाउँपालिकाकी उपाध्यक्ष हुन्। उनी तत्कालीन नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन्। भारतमा अर्काको घरमा बिहान बेलुका भाँडा माझ्ने, लुगा धुने, एउटी किशोरी, जोसँग नेपाली नागरिकता पनि थिएन, उनी कसरी गाउँपालिका उपाध्यक्ष भइन्? भन्ने प्रसंग पनि रोचक छ। 

'दु:खका पहाड फोड्नुपर्‍यो'

आठ बहिनी र चार भाइकी अभिभावक थिइन् उनी। बुबाले संसारबाट बिदा लिएपछि सबै अभिभारा उनमा थपियो। यस्तो अवस्थामा धेरै पढ्न पाउने कुरा भएन। १६ वर्षकी हुँदा बझाङका दिलबहादुर खडायतसँग उनको विवाह भयो। 

उनको प्रेम विवाह होइन, परिवारका सदस्यहरूले केटा खोजिदिएका हुन्। विवाहको अन्तिम दिनसम्म पनि उनलाई दिलबहादुरले आफ्नो वास्तविक परिचय दिएका थिएनन्। ‘दिल्लीमै घर छ भनेर कुरा पक्का भएको थियो, त्यो बेलासम्म नेपाल पनि देश छ भन्ने मलाई थाहा थिएन’, उनले भनिन्। 

विवाहपछि दिलबहादुरले नेपाल जाने कुरा गर्दा उनी छाँगाबाट झरेजस्तै भइन् तर जे हुनु भइसकेको थियो। श्रीमानको घरमा आउनुको विकल्प पनि थिएन। उनले परिस्थितिसँग सम्झौता गरेर नेपालको यात्रा तय गरेकी थिइन्।

बझाङ आएको केही वर्षमै उनका श्रीमानले छाडेर हिँडे। एकल जस्तै बनेर सन्तानलाई हुर्काउने क्रममा गंगुले दुुःखका पहाड फोड्नुपर्‍यो। 'महिलाहरूलाई यतिसम्मको तल्लो स्तरबाट हेरिन्छ होला भन्ने सोचेकी पनि थिइनँ’, उनले विगत सम्झिँदै भनिन्, ‘एक पल्ट त आत्महत्या गर्न भन्दै भीरबाट हामफाल्न पुगेकी थिएँ, कसले बचायो, पत्तै भएन।’

गंगुलाई विवाह गर्नुभन्दा केही वर्षअघि नै श्रीमानले अर्की एक जना महिला घरमा भित्र्याइसकेका रहेछन्। उनलाई बझाङ ल्याएपछि केही वर्ष सँगै बसे, त्यसपछि अत्तोपत्तो भएन। 

‘करिव तीन वर्षजति बसे होलान्, त्यसपछि कहिले जाने कहिले आउने गर्थे, मलाई थाहा पनि हुँदैन थियो’, श्रीमानसँगको सम्बन्ध बताउँदै उनले भनिन्, ‘उनको कमाइ खान पाइनँ, उनले किनिदिएको एक जोड लुगा लगाउन पाइनँ। विवाह भएपछि कहिल्यै खुसी राख्नुभएन, पीडामाथि पीडा थियो।’  

केही महिनाअघि उनले पति गुमाएकी छन्। ‘हुँदा र नहुँदामा मलाई केही फरक भएको छैन। अहिले बरु यादहरूले सताउँछन्’, गंगु भावुक भइन्।

संघर्षका पलहरू बताउँदा बताउँदै बेलाबेलामा उनका आँखामा आँसु बगिरहेका हुन्थे। देब्रे हातको माइली औँलाले आँसु पुछ्दै उनले भनिन्, ‘मैले जस्तो दुःख र पीडा त कसैले नपाऊन्।’ 

गंगुलाई ती दिनहरू कहालीलाग्दा लाग्छन्। ‘आफूले जन्माएका चिचिला सन्तानहरूको हेरचाह गर्ने दायित्वसँगै सामाजिक कुरीतिहरूको आडमा महिलाहरूमाथि हुने ज्यादतीहरूविरुद्द एकैचोटि जुध्नु कम जोखिम थिएन’, उनले भनिन् , ‘तर मेलै कहिल्यै हिम्मत हारिनँ।’

पाँच वर्ष हलो जोतेर सन्तान पालिन् 

२०५९ सालको समय थियो। मुलुकमा सशस्त्र द्वन्द्व उत्कर्षमा चलिरहेको थियो। गंगुलाई देशको द्वन्द्वभन्दा पनि आफ्नै घरभित्र र मनभित्रको अन्तरद्वन्द्वले पिरोलिरहेको थियो। ‘आफ्नै श्रीमानले छाडेर गएपछि अरूले के साथ दिन्थ्यो र!’, गंगुले मलिन स्वरमा भनिन्, ‘आफूलाई र सन्तानलाई दुई छाक टार्ने हल गोरु चलाउन थालेँ।’

परिवार पाल्न गंगुले हलो जोत्न थालिन्। उनले भनिन्, ‘महिलाहरूले हलो जोत्दा अनिष्ट हुन्छ भन्थे, पानी पर्दैन भन्थे, हलो जोतेको रात नै मैले ख्याल गरेकी थिएँ, सबैभन्दा ठूलो पानी परेको थियो।’ 

सुदूरपश्चिमको ग्रामीण बस्तीमा एक महिलाले हलो जोतिन् भन्ने सुनेर हेर्न आउनेहरूको दैनिक घुइँचो हुन्थ्यो। ‘कोही रमाउने, कोही कराउने। भन्नेले जेसुकै भनेपनि मैले हलो जोत्न छाड्नेवाला थिइनँ’, उनले भनिन्, ‘हलो जोत्न छाड्ने हो भने खान पनि छोड्नुपर्ने अवस्था थियो।’ 

एक महिना, दुई महिना वा एक वर्ष, दुई वर्ष पनि होइन। गंगुले निरन्तर पाँच वर्ष बढी हलो जोतेर आफ्नो खेती आफैँ लगाइन्। ‘थोरै जग्गा थियो, घरमा काम गरिदिने कोही थिएनन्, आफ्ना भन्नेहरू पनि कोही रहेनन्। मलाई सहयोग गर्ने, दुःखमा साथ दिने कोही नभएपछि आफ्नो खेतबारीका लागि अरू कसको बाटो हेर्नु भनेर मैले आफैँले हलो जोत्ने र खेती लगाउने काम गरेकी हुँ’, विगत सम्झँदै केही भावुक मुद्रामा उनले सुनाइन्। 

‘सबैका पुरुष सधैँ घरमा हुँदैनन्’, उनले भनिन्, ‘पुरुष घरमा नभएका महिलाहरूले आफन्तलाई हार गुहार गरेर हलो जोतिमाग्नुपर्थ्यो, मैले त्यो परंपराको अन्त्य गरेकी हुँ। त्यो मेरो रहर नभई बाध्यता थियो।’

कामदारदेखि उपाध्यक्षसम्मको यात्रा 

सानैदेखि अरूको घरमा सरसफाई गर्ने, खाना पकाइदिने, लुगा धोइदिने काम गरेकी गंगुले विवाहपछि त्योभन्दा थप कठिन र जटिल काम गर्न बाध्य भइन्। त्यस्तो अवस्थामा उनले ठूला सपना कहिल्यै देख्न पाइनन् र चाहिनन् पनि। बाउ बाजेझैँ अर्काकै घरमा जुठा भाँडा धोएर जुनी बित्छ भन्नेमा उनी निश्चिन्त थिइन्। 

तर 'हुने हार दैव नटार' भनेझैँ हिजो आफैँ अन्यायमा परेकी गंगु आज न्याय समितिको प्रमुख भएकी छन्। ‘यो ठाउँमा पुगौँला भन्ने त कल्पाना नै थिएन तर सधैँ यस्तो दुःख पाइरहन्छु भन्नेचाहिँ लागेको थिएन’, गंगुले भनिन्। 

२०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको थियो। २०५६ सालमा उनी क्षेत्रपालमा मनोनीत भइन्। त्यसबेला उनी औपचारिक शिक्षा ५ कक्षासम्म मात्र पढेकी थिइन्। राजनीतिसँगै अध्ययनलाई अघि बढाएकी गंगुले २०६७ सालमा ४७ वर्षको उमेरमा एसएलसी पास गरिन्।

बझाङको थलारा गाँउपालिका उपाध्यक्ष निर्वाचित भ पछि खडायतको परिचयसँगै दैनिकीसमेत फेरिएको छ। हिजोसम्म न्यायका लागि कार्यालय धाउने गंगु आज आफैँ न्याय समितिकी संयोजक बनेर न्याय निरूपण गर्ने कुर्सीमा बस्न आइपुगेकी छन्।

उपप्रमुख भइसकेपछि गाउँपालिकाको समग्र विकाससँगै महिलाहरूप्रति हेर्ने दृष्टिकोणलाई न्यायपूर्ण बनाउन आफू रातदिन लागिरहेको उनको भनाइ छ। मदिरा नियन्त्रण गर्नु आफ्नो पहिलो काम भएको उनी बताउँछिन्। त्योसँगै महिलाहरूलाई आत्मनिर्भरको बाटो दिनुपर्ने उनको अर्काे माग छ। ‘आफू कमाइ नगर्ने भएका कारण महिलाहरू बढी समस्यामा छन्। विभिन्न खालका सीप सिकाएर महिलालाई गरिखाने बनाउनका लागि पहल गर्नेछु’, गंगुले प्रतीक्षा गरिन्। 

‘हेर्दै जानुहोस्, थलारामा तपाईंले अन्त कतै नभएको काम भयो भनेर समाचार लेख्ने दिन छिट्टै आउँछ। अन्तका मान्छेले हामीबाट सिक्ने गरी काम गर्छु’, उनले ठोकुवा गरिन्। आफूले नर्कको जीवन बाँचेको भन्दै यस्तो अवस्था कसैलाई पनि आउन नदिने उनको योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.