एउटै बगैँचामा ६ लाखको सुन्तला

|

गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिका- १ नयाँगाउँका टीकाबहादुर हमाललाई बिहानदेखि बेलुकासम्म सुन्तलाको स्याहार सुसार गर्न भ्याइनभ्याई छ। यो समय सुन्तला टिप्ने र बिक्री गर्ने भएकाले त झनै उनी बगैँचामै व्यस्त हुन्छन्। सुन्तलाकै स्याहार गर्दा कुनै बेला खाने समयसमेत पाउँदैनन् हमालले। बिहानैदेखि सुन्तलाकै चिन्तन गर्ने हमाल कोही पाहुना आए समय दिनसमेत पाउँदैनन्। हिजोआज हमाललाई भेट्नुपरे सुन्तलाकै बगैँचामा पुग्नुपर्छ।

५२ वर्षीय हमालले विगत ३१ वर्षदेखि सुन्तला खेती गर्दै आएका छन्। सुन्तला खेतीबाटै उनले वार्षिक पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। ‘एक वर्ष बिराएर सुन्तलाको उत्पादन राम्रो हुन्छ। पोहोर साल पाँच लाखको बिक्री गरियो’, हमालले भने, ‘यो वर्ष राम्रो उत्पादन भएको छ। कम्तीमा छ लाख पर्ने अनुमान छ।’ सुन्तला लिन घरमै व्यापारी आउँछन्। उनको सुन्तला स्थानीय बजारदेखि तम्घास, सन्धिखर्क हुँदै बुटवलसम्म पुग्छ। अहिले प्रति किलो ५० रुपैयाँमा सुन्तला बिक्री गरिरहेका छन् उनले। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरूको प्रतिस्पर्धा छ तर हमाल भने घरमै बसेर मनग्य आम्दानी गरिरहेका छन्। ‘यो पुर्ख्यौली पेसा हो, मैले व्यावसायीकरण गरेको मात्र हुँ’, उनले भने, ‘घरमै आम्दानी भएपछि विदेश जानुको औचित्य छैन।’ 

उनले कुल १२ रोपनी जग्गामा सुन्तला खेती गर्दै आएका छन्। अहिले २५ हजार बोटमा सुन्तला उत्पादन भइरहेको छ भने थप ४० हजार बिरुवा नर्सरीमा छन्। केही वर्षपछि ती बिरुवाले पनि उत्पादन दिँदा उनको आम्दानी झनै बढ्ने हमाल बताउँछन्। घरमा तीन छोरा, तीन छोरी र श्रीमान–श्रीमती गरी छ जनाको परिवार छ। सुन्तलाका साथसाथै ११ बाख्रा र ११ घार मौरी पनि उनले पाल्दै आएका छन्। घरखर्चका लागि बाख्रा र मौरीबाट प्रशस्त पुग्छ। सुन्तलाको रकम बचत हुन्छ। ‘घरखर्च अन्य आम्दानीबाट चल्छ, सुन्तलाबाट कमाएको रकम बचत हुन्छ’, उनले भने, ‘तराईतिर घडेरी किनेर घर बनाउने हो।’ सुन्तलाबाट कम मिहिनेतमा बढी आम्दानी हुने भएपछि खाद्यान्न लगाउने ठाउँमा सुन्तला लगाएको उनको भनाइ छ।

सोही गाउँका चन्द्र विकले पनि अहिले ६० हजार रुपैयाँको सुन्तला बिक्री गरे। नौ वर्षदेखि व्यावसायिक सुन्तला खेतीमा लागेका विकको बगैँचामा १०० बोटले उत्पादन दिइरहेका छन् भने थप ५०० बिरुवा नर्सरीमा छन्। ६० वटा बिरुवाबाट सुरु गरेका विकले वर्षैपिच्छे आम्दानी बढाइरहेका छन्। सुन्तला एक पटक लगाएपछि धेरै वर्षसम्म फल्ने र अन्य खेतीलाई झैँ स्याहार गर्नु नपर्ने भएकाले सुन्तला खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ। आफ्नै घरपरिवारमा बसेर खेतीपाती गर्दा आनन्द आउने विक बताउँछन्।

‘घरमै बसेर काम गर्दा पारिवारिक आनन्द हुन्छ’, विकले भने, ‘परिश्रम गर्न सके स्वदेशमै राम्रो कमाइ हुन्छ।’ सुन्तलाका साथसाथै भैँसी, बाख्रालगायतका माध्यमबाट पनि उनले मनग्य आम्दानी गर्दै आएका छन्। अब सुन्तला र कागतीको माध्यमबाट आम्दानी गर्ने उनको सोच छ, जसका लागि उनले गाउँपालिकाबाट एक लाख रुपैयाँ अनुदानसमेत लिएका छन्।

गुल्मीमा २६ करोडको सुन्तला

सरकारले गुल्मीलाई ‘सुन्तला जोन’ घोषणा गरेको छ। गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। राम्रो मौसम, अनुदानलगायतका कुराहरूको तालमेलले गर्दा २५ करोड रुपैयाँ बढीको सुन्तला उत्पादन भएको केन्द्रको भनाइ छ। ‘उत्पादन भएको पूरै सुन्तला बजारमा आइपुगेको त छैन’, केन्द्रका कृषि प्रसार अधिकृत सनबहादुर रानाले भने, ‘बोटको फल हेर्दा २५ करोड बढीको सुन्तला उत्पादन भएको आँकलन गरिएको छ।’ उत्पादन भएको सुन्तलामध्ये ४० प्रतिशत जिल्लामै खपत हुने बाँकी ६० प्रतिशत जिल्लाबाहिर निकासा हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

गुल्मीमा कुल एक हजार २९७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य छ, जसमध्ये ६६० हेक्टरमा ९.८ मेट्रिक टन यस वर्ष सुन्तला उत्पादन भएको छ । त्यसलाई न्यूनतम प्रति किलो ४० रुपैयाँका दरले जोड्दा पनि २५ करोड ८७ लाख २० हजार रुपैयाँको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले बताएको छ। खुद्रा बजारमा भने सुन्तलाको भाउ प्रति किलो १२० रुपैयाँसम्म रहेको छ।

यी हुन् सुन्तला उत्पादन हुने मुख्य क्षेत्र

जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर- ९ अर्लाङकोटमा ८० हेक्टर जमिन सुन्तला उत्पादन क्षेत्रमा पर्छ तर त्यहाँ हाल ५० हेक्टरमा मात्र सुन्तला उत्पादन भएको छ। बाँकी ३० हेक्टर जमिनमा व्यावसायिक सुन्तला खेती गरिएको छैन। मुसिकोट नगरपालिकाको वडा नम्बर- ८ वामीमा १५ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ, जहाँ सम्भावित क्षेत्रफल ३० हेक्टर रहेको छ। रुरु गाउँपालिकाको बलेटक्सारमा ३० हेक्टर क्षेत्रफल जमिन सुन्तला उत्पादनका लागि योग्य छ तर त्यहाँ जम्मा १० हेक्टरमा मात्र सुन्तला खेती गरिँदै आएको छ। छत्रकोट गाउँपालिकाको दिगाममा १२० हेक्टरमा सुन्तला उत्पादन गरिँदै आएको छ, जहाँ २४० हेक्टर सुन्तला खेतीका लागि सम्भावित क्षेत्र हो। सोही गाउँपालिकाकै हर्दिनेटामा २०० हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये १६१ हेक्टर र हुँगामा ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ ।

गुल्मी दरबार गाउँपालिकाको गौँडाकोटमा १०० हेक्टर सम्भावित क्षेत्रफलमध्ये जम्मा ५० हेक्टरमा मात्र सुन्तला खेती गरिँदै आएको छ। गुल्मी दरबारको वीरबासमा ५० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ, जहाँ ८५ हेक्टर सम्भावित क्षेत्रफल रहेको छ। त्यस्तै, सोही गाउँपालिकाकै राजामा ६० हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये ३० हेक्टरमा सुन्तला उत्पादन भइरहेको छ। धुर्कोट गाउँपालिका- ६ धुर्कोट रजस्थलमा १४० हेक्टर जमिनमा सुन्तलाको व्यावसायिक खेती गरिएको छ, जहाँको सम्भावित सुन्तला खेती क्षेत्र २३० हेक्टर हो। सोही गाउँपालिकाको वडा नम्बर- १ नयाँगाउँमा २२५ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ, जहाँ सम्भावित क्षेत्रफल ३०० हेक्टर रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

सोही गाउँपालिकाकै वडा नम्बर- २ पीपलधारामा १३८ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ, जहाँ सम्भावित क्षेत्रफल २०० हेक्टर रहेको छ। त्यस्तै, वडा नम्बर- ३ हाडहाडेमा १२९ हेक्टरमा सुन्तला उत्पादन गरिएको छ, जहाँको सम्भावित क्षेत्रफल २२० हेक्टर हो। वडा नम्बर- ४ जैसीथोकमा सम्भावित क्षेत्रफल २० हेक्टरमध्ये १० हेक्टरमा मात्रै उत्पादन गरिँदै आएको छ। वडा नम्बर- ७ वाग्लामा ३० हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये १५ हेक्टरमा उत्पादन गरिँदै आएको छ। 

मदाने गाउँपालिकाको भनभनेमा कुल ४० हेक्टर जमिन सुन्तला खेतीका लागि योग्य छ तर त्यहाँ ३० हेक्टरमा मात्रै उत्पादन गरिँदै आएको छ। सोही गाउँपालिकाको पुर्काेट दहमा ३० हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये जम्मा १० हेक्टरमा मात्र खेती गरिएको छ। कालीगण्डकी गाउँपालिकाको भुर्तङमा कुल ३५ हेक्टर जमिन सुन्तला खेतियोग्य छ तर त्यसमध्ये जम्मा १० हेक्टरमा मात्र सुन्तला लगाइएको छ।

सोही गाउँपालिकाकै जयखानीमा १०० हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये ७० हेक्टरमा मात्र लगाइएको छ। त्यस्तै, अर्वेनीमा ६० हेक्टर सम्भावित क्षेत्रफलमध्ये २० हेक्टरमा सुन्तला उत्पादन भइरहेको छ।

रेसुङ्गा नगरपालिकाको वडा नम्बर- ३ भाडगाउँ, वडा- ४ अर्खले, वडा- ५ को बालकाटे र वडा- ६ को गुरुङगाउँलगायतका स्थानमा १९० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ, जबकि त्यहाँको सम्भावित क्षेत्रफल ३०० हेक्टर रहेको छ। चन्द्रकोट गाउँपालिकाको हरेवामा ८५ हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये जम्मा ४० हेक्टरमा मात्र लगाइएको छ।  

बिचौलियाको मारमा कृषक

गुल्मीमा सुन्तलाको उत्पादन अत्यधिक मात्रामा हुने गरेको छ तर जिल्लामै भण्डारण गर्ने चिस्यान केन्द्र छैन, जसले गर्दा किसान बिचौलियाको मारमा पर्ने गरेका छन्। ‘टिपेर लामो समयसम्म राख्न पनि मिल्दैन, बोटमै राखे झेरेर सकिन्छ’, धुर्कोट गाउँपालिका- १ नयाँगाउँकी कृष्णा कुँवरले भनिन्, ‘आफूखुसी मूल्य राखेर व्यापारीले लैजान्छन्।’ आफूहरूसँग ५० रुपैयाँ प्रति किलो लगेर बजारमा ८० रुपैयाँदेखि बढी मूल्यमा बेच्ने गरेको उनले बताइन्। किसानले अझै पनि सुन्तलाको वास्तविक मूल्य नपाएको भन्दै उनले गुनासोसमेत गरिन्। त्यस्तै, किसानलाई भण्डारणको समस्याले गर्दा पनि सस्तैमा सुन्तला बिक्री गुर्नपरेको गुनासो सुन्तला कृषकले गरेका छन् भने जिल्लाका अधिकांश ठाउँमा सिँचाइको अभाव, प्राविधिक ज्ञानको कमीलगायतका समस्याले पनि किसानहरू मर्कामा परेका छन्। 

जिल्लाबाट प्राविधिक र अन्य सुविधा स्थानीय सरकारले दिने

गुल्मीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन कार्यान्वयन इकाई घोषणा भएको छ। यसले सुन्तलाको उत्पादन वृद्धि, उन्नत र आधुनिक प्रविधि उपलब्ध गराउन पहिलो वर्षमा सुन्तला जोन क्षेत्रका लागि ८१ लाख ८८ हजार रुपैयाँ विनियोजन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। किसानहरूले बिचौलियामा परेको गुनासो गरिरहँदा कार्यालय भने त्यसो नभएको दाबी गर्छ। त्यसका साथै प्राविधिक ज्ञान कृषि ज्ञान केन्द्रले प्रदान गर्ने र अन्य सुविधा स्थानीय सरकारले गर्नुपर्ने कार्यालयले जनाएको छ। अहिले जिल्लाको धुर्कोट गाउँपालिकाले १०० बढी सुन्तलाका बिरुवा जगाउनेलाई प्रति बोट ४० रुपैयाँका दरले अनुदान दिन सुरु गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.