|

संखुवासभा : खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिका जोड्ने अरुण  नदीमा पक्की पुल नहुँदा सर्वसाधारण सास्ती भोग्दै आएका छन्। संखुवासभाको हेलुवाबेसी र भोजपुरको बुम्लिङटारको सिमानाबाट बग्ने अरुण नदीमा पक्की पुल नहुँदा यातायात संचालनमा हुन सकेको छैन। बिकट भौगोलिक अवस्था भएका कारण सिलिचोङ गाउँपालिका जान छिमेकी जिल्ला भोजपुर तरेर मात्र जान सकिन्छ। 

उक्त स्थानमा झोलुंगे पुलको बाट स्थानियहरु आवतजावत गर्छन्।  सदरमुकाम खाँदबारीबाट ढुवानी गरिएका सामान तार्न र भोजपुरबाट ल्याइएका सामानहरु भरिया र खच्चडको भरमा तार्नुपर्ने अवस्था रहेको स्थानीयहरुले दुखेसो गरे। ढुवानी गरिएका सामान पुल वारिपारि गर्न भरिया तथा खच्चडहरुले चर्को शुल्क असुल्ने गरेको  बुम्लिङटारकी होटल व्यवसायी तारा थापाको भनाइ छ। उनी भन्छिन्, 'गाडी तार्ने पुल छैन सामान ढुवानी गर्ने भरिया र खच्चडलाई महँगो मूल्य मनपरी भाडाले ढाड सेकेको छ।' कहिलेकाहीँ त भनेको समयमा भरिया र खच्चडसमेत नपाउँदा बाटैमा सामान अलपत्र पर्ने गरेको उनी बताउँछिन्। व्यवसायी थापाले थपिन् पक्की पुल हुने हो भने आँगनमा सामान आइपुग्ने थियो तर पुल तार्न मात्र खाँदबारीदेखि हेलुवाबेसीसम्मको डबल भाडा तिर्नुपर्ने बाध्यता रहेको बताइन्। 

सिलिचोङ र खाँदबारी नगरपालिका जोड्ने झोलुंगे पुलको वारिपारि सडकसमेत जोडिसकेको छ। खाँदबारीबाट हेलुवाबेशीसम्म नियमित गाडी सञ्चालनमा छ भने बुम्लिङटार भोजपुरमा पनि गाडी सञ्चालनमा छ। तर पक्की पुल नहुँदा खाँदबारीबाट भोजपुर हिँडेका यात्रुहरु पुल तरेर बुम्लिङटारबाट अर्को गाडीको यात्रा गर्नुपर्ने बाध्यता छ।

कहिलेकाहीँ हेलुवाबेशी पुगेका यात्रु बुम्लिङटारमा गाडी नपाउँदा अलपत्र पर्छन् भने कहिले भोजपुरबाट आएकाहरु हेलुवाबेशीमा गाडी नहुँदा अलपत्र पर्छन्। भने संखुवासभाकै सिलिचोङ गाउँपालिकाका सर्वसाधारणहरू पनि सोही पुलबाट हिँड्नुपर्छ। अरुणपारिका गाविस भनेर चिनिने साबिक बाला, शिसुवा, ताम्कु, माङ्तेवा र याफु गाबिसका सर्वसाधरणहरु सडक सञ्जालले जोडिए पनि पक्की पुल नहुँदा समस्या उस्तै नै छ। अध्ययनको क्रममा खाँदबारी बस्दै आएका शिसुवाका कल्पना राई घर जाँदा हेलुवाबेशीमा अलपत्र परेको बताउँछन्। खाँदबारीबाट ४ सय भाडा तिरेर हेलुवाबेशी त पुगिन्छ तर बुम्लिङटारमा गाडी नपाउँदा हेलुवाबेशीमा नै बस्नु पर्ने राईले बताए।

पुल बनाउने कुरामा योजना नै नहुँदा अस्थायी विकल्पको रुपमा फेरी सञ्चालनमा ल्याउने प्रक्रिया भइरहेको छिमेकी जिल्ला भोजपुरको साल्पा शिलिछो गाउँपालिका १ का वडाध्यक्ष गणेश बुढाथोकीले बताए। उनले भने, 'फेरी ल्याउन खाँदबारी नगरपालिका ११ का वडा अध्यक्षसँग आवश्यक प्रक्रियाका लागि छलफल भइरहेको छ।' फेरी संचालन भए जिल्लाको सिलिचोङ गाउँपालिका र भोजपुरको साल्पा शिलिछो गाउँपालिका सर्वसाधारणहरु लाभान्वित हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.