|

दमक(झापा) : साहित्य कला संगम दमकले शनिबार दमकमा गरिएको कार्यक्रममा एक साथ विभिन्न पुरस्कार प्रदान गरिएको छ। कार्यक्रममा दाता भवानी मिश्रद्वारा स्थापित कोषबाट एक जना भारतीय श्रष्टा, एक संस्थासहित अन्य साहित्यकारहरूलाई पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रममा ५५ हजार  ५५५ रुपैयाँ राशिको भवानी मिश्र अन्तर्राष्ट्रिय साहित्यिक पुरस्कार भारत सिक्किमकी डा. कविता लामालाई प्रदान गरियो। यस्तै डा. रामप्रसाद ज्ञवालीलाई भवानी मिश्र राष्ट्रिय साहित्यिक पुरस्कारसमेत सोही कार्यक्रममा हस्तान्तरण गरियो। पुरस्कारको राशि ३५ हजार ५५५ रुपैयाँ छ।

यस्तै भवानी मिश्र प्रादेशीक साहित्यिक पुरस्कार मोरङ झोराहाटको झोराहाट नाटय समूहलाई प्रदान गरिएको छ। १५ हजार ५५५ रूपैयाँ राशिसहित भवानी मिश्र जिल्ला साहित्यिक पुरस्कार झापाकी भवानी क्षेत्रीले पाउँदा ११ हजार ५५५ रुपैयाँ राशिको भवानी मिश्र दमक नगर साहित्यिक पुरस्कार रुद्र निरौलाले प्राप्त गरे। यस्तै ११ हजार ५५५ राशिको दमक साहित्य कलाश्री पुरस्कार साहित्यकार उपेन्द्र पागललाई प्रदान गरिएको छ।

सोही कार्यक्रममा साहित्य कला संगमका अध्यक्ष नरपति पाण्डेद्वारा लिखित सुनाखरी हाइकु संग्रह विमोचन गरियो भने त्यसमाथि साहित्यकार धनन्जय बास्काटाले टिप्पणी गरेका थिए। यसैगरी मन्जु श्रेष्ठको छन्द कविता संग्रह माटोको सुवाश पनि विमोचन गरियो। सो कृतिमाथि प्रकाशकको तर्फबाट हरि कट्टेलले टिप्पणी गरे।

कार्यक्रम संस्थाका अध्यक्ष नरपति पाण्डेको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरूका साथै विशिष्ट अतिथी अग्रज पत्रकार तथा संगीतकर्मी चन्द्र भण्डारी, साहित्यकार तेराज खतिवडा, मिश्र बैजयन्ती, लिला अधिकारीलगायतले समाज रुपान्तरणका लागि साहित्यिक क्षेत्रले अगुवाई गर्नु पर्नेमा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.