|

कास्की : पोखरामा नेपाल लिटरेचर फेस्टिभल २०१८ सुरु भएको छ। पिएन क्याम्पसका संस्थापक प्रिन्सिपल जर्ज जोन र एलियम्मा जोनले शनिबार कार्यक्रम उद्घाटन गरेका हुन्।

उद्घाटनका अवसरमा जर्जले पोखरामा सहभागी लेखक एवं साहित्यकारलाई स्वागत मात्र गरेनन्, उनले सबैको जीवन शुभकर, सन्तोषप्रदक एवं सुखमय होस् भन्ने चाहनासमेत व्यक्त गरे। केरलामा जन्मिएका जोनले कालान्तरमा काठमाडौं हुँदै पोखरा आएर यहाँको शिक्षाको क्षेत्रमा काम गरेको विषय एवं उनका योगदानबारे कार्यक्रममा चर्चा भएको थियो। उनका विषयमा साहित्यकार सरुभक्त श्रेष्ठले बोलेका थिए।

उद्घाटन समारोहमा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सहभागीलाई स्वागत गरेका थिए। उनले पर्यटकीय नगरी पोखरालाई संस्कृति एवम् साहित्यको समेत सहर रहेको चित्रण गरे। त्यस्तै आइएमईका प्रबन्ध निर्देशक हेमराज ढकालले फेस्टिभलमा आफूहरू सहभागी हुन पाउँदा खुसी लागेको बताए। साथै आगामी दिनमा पनि यस्तो सहकार्य जारी रहने उनले प्रतिबद्धतासमेत व्यक्त गरे।

उक्त अवसरमा नेपालको पहिलो महिला प्रधानन्यायाधीश कार्कीले ‘अन्यायमा महिला’ विषयमा विद्वत्प्रवचन दिएकी थिइन्। त्यसअघि पत्रकार एवं लेखक हरिबहादुर थापाले कार्कीका विषयमा बोलेका थिए। प्रधानन्यायाधीश हुने बेला धेरैले ‘जस्केलाबाट छिरेको व्यक्ति’का रूपमा चित्रण गरेको र पछि कार्कीले गरेको न्यायसम्पादनले उनलाई एउटा सफल नायक बनाएको थापाले बताए।

विद्वत्प्रवचन दिँदै कार्कीले हिंसामा परेका महिलाका विषयमा न्यायालयले समेत उचित न्याय दिन नसक्ने अवस्था रहेको धारणा राखिन्। सही न्यायाधीश भएको अवस्थामा मात्र पीडित महिलाले न्याय पाउने उनको भनाइ छ। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या एवं ललितपुरमा भएको सामूहिक बलात्कारको विषयमा समेत प्रहरीले सही निर्णय गर्न नसकेकोमा उनले चिन्ता प्रकट गरेकी छन्।

त्यसैले प्रहरीले गरेको निर्णयमा चित्त नबुझे न्यायालयले त्यसलाई पुनः अनुसन्धान गर्न दिन सक्ने निर्णय गर्नुपर्नेमा उनले जोड दिइन्। २०३५ सालबाट न्याय सेवामा प्रवेश गरेकी उनले त्यसअघि आफू साहित्यकार रहेको बताइन्। त्यसअघि लेखिएका कथा आफूसँग सुरक्षित रहेको पनि उनको भनाइ छ।

कार्यक्रमको दोस्रो सेसनमा बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’ सार्वजनिक गरियो। पेन्गुइनले प्रकाशन गरेको पुस्तक मनीषाकी आमा सुष्मा कोइराला, अभिनेता राजेश हमाल, फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारी र पेन्गुइनका प्रतिनिधि अल्केशले सार्वजनिक गरे।पुस्तक सार्वजनिक भएसँगै अभिनेता हमालले मनीषा कोइरालासँग अन्तरसंवादसमेत गरे। उक्त अवसरमा हमालले मनीषालाई क्यान्सर लागेपछिको अवस्था, पुस्तक लेखन आदि विषयमा रोचक संवाद गरेका थिए।

कार्यक्रमको तेस्रो सेसनमा ‘अझै रमिता छ’ शीर्षकमा मन्जुश्री थापा र कृष्ण धरावासीसँग केदार शर्माले संवाद गरेका थिए। संवादमा उनीहरूले इन्द्रबहादुर राईको विषयमा मात्र चर्चा गरेनन्, उनले थालेका विभिन्न अभियान एवं प्रयोगबारे छलफल गरे। आफूलाई प्रगतिशील लेखक बताउने थापाले लामो समय राईलाई पढ्न हिच्किचाएको र पछि पढ्दै जाँदा राईलाई गैरप्रगतिशील असामाजिक लेखकका रूपमा नभेटेको बताइन्।

सोही समयमा सरुभक्त, गनेस पौडेल एवं तीर्थ गुरुङसँग ‘पागल बस्तीपछिको पोखरेली आख्यान’ विषयमा कुमारी लामाले संवाद गरेकी थिइन्। उनीहरूले पछिल्लो समय पोखरेली आख्यानले लिएको बाटो विषयमा मात्र चर्चा गरेनन्, यो क्षेत्रको समग्र साहित्यबारे आ-आफ्ना धारणा राखे। पागल बस्तीपछि पनि पोखराले थुप्रै उत्तिकै सशक्त पुस्तक जन्माएको उनीहरूको दाबी थियो। 

चौथो सेसनमा निकाला स्ट्रिनसँग कञ्चन बुढाथोकीले ‘द आर्ट अफ दि ग्राफिक मेम्वायर’ बारे संवाद गरेकी थिइन्। साथै सोही समयमा ‘अन्सर्टेन जर्निज’ बुक विमोचन भएको थियो। पुस्तक विमोचनसँगै एज पनिरसल्भान, जनकराज सापकोटा र सब्रिना तोप्पासँग रम्यता लिम्बूले संवाद गरिन्।

पाँचौं सेसनमा कान्तिपुरका प्रधान सम्पादक नारायण वाग्ले र चर्चित स्तम्भकार खगेन्द्र संग्रौलाले ‘सम्पादक र स्तम्भकार’ शीर्षकमा अन्तरसंवाद गरे। उक्त अवसरमा संग्रौलाले स्तम्भकारको भूमिका सरकारको प्रतिपक्षीका रूपमा रहेका धारणा राखे। उनीहरूबीच रोचक घोचपेचसमेत चलेको थियो। सोही समयमा लेखक मोहम्मद हनिफको पुस्तक ‘रेड बड्रस’का विषयमा कुन्द दीक्षितले संवाद गरे। कार्यक्रमको अन्तिम सत्र थियो, ‘ठाडै ठट्टा’। यो सेसनमा आ-आफ्नो प्रस्तुति दिए— सीमा गोल्छा, शैली बस्नेत र आयुष श्रेष्ठले।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.