'झुर फिल्मको ट्रेलर काट्न त साह्रै अल्छी लाग्छ'

|

काठमाडौं : राजधानीमा आउने हरेक मानिससँग आफ्नै सपना छन्। सपना पूरा गर्ने संकल्पहरू छन्। संकल्पसँग जोडिएका कथाहरू छन्। राजधानीमा रंगीन सपना देख्ने युवाहरूको संख्या पनि बढ्दो छ र बढ्दो छ नेपाली फिल्मको रंगीन दुनियाँमा रमाउन खोज्नेहरूको संख्या पनि।

एउटा फिल्म सफल हुन उत्कृष्ट कथा, पटकथा र प्रस्तुति जरुरी हुन्छ तर त्यो फिल्म हेर्न हलसम्म दर्शकलाई डोहोर्‍याउन सजिलो भने पक्कै छैन। दर्शकलाई हलसम्म पुर्‍याउने काम फिल्मको ट्रेलरले गर्छ। ट्रेलर हेरेर नै दर्शक फिल्म हेर्न उत्साहित हुन्छन्।

नेपाली फिल्मको ट्रेलर दुनियाँमा परिचित नाम बनिसकेको छ- शाहिल खान। शाहिल लामो समयदेखि ट्रेलर मेकरका रूपमा काम गरिरहेका छन्। नेपाली फिल्मका ६० प्रतिशत बढी फिल्मको ट्रेलर बनाउँछन् उनी। भन्छन्, 'यति धेरै काम पाउनु भने मलाई र मेरो कामलाई विश्वास गर्नु हो।'

शाहिलका अनुसार फिल्म प्रचारको मेरुदण्ड हो- ट्रेलर। उनी भन्छन्, 'ट्रेलर हेरेर नै दर्शकहरू हलसम्म फिल्म हेर्न आउनुहुन्छ। ट्रेलर राम्रो बनेको छ, दर्शक बढी नराम्रो भए दर्शक कम आउनुहुन्छ। त्यसैले म ट्रेलरलाई फिल्म प्रचारको मेरुदण्ड भन्न सक्छु।'

ट्रेलर काट्न सजिलो भने पक्कै छैन। दुईदेखि तीन घण्टासम्मको फिल्मलाई काटेर दुई मिनेटमा झार्नुपर्ने हुन्छ। त्यसमा पनि दर्शकलाई आकर्षित गर्न सक्नुपर्‍यो। 'ट्रेलर काट्न एकदमै गाह्रो काम हो। यो काममा त दिमाग पनि उत्तिकै लगाउनुपर्छ', उनी भन्छन्, 'फिल्मको सस्पेन्स बचाउनेदेखि दर्शकलाई कन्भिन्स गर्नेसम्म ध्यान राख्नुपर्छ।' एउटा फिल्मको ट्रेलर तयार गर्न शाहिललाई १५ दिनदेखि दुई महिनासम्म लाग्छ।

शाहिल आफू ट्रेलर काटेर नै बाँचिरहेको बताउँछन्। भन्छन्, 'सुरुवाती दिनहरूमा ट्रेलरलाई खासै मतलब गरिन्नथ्यो तर अहिले ट्रेलरमा विशेष चासो देखाउन थाल्नुभएको छ फिल्मकर्मीहरू। त्यसैले पनि ट्रेलरको काम पाइरहेको छु।'

रुचिको क्षेत्रमा पाएको अवसर

सानो उमेरदेखि नै शाहिललाई फिल्ममा एकदमै रुचि थियो। फिल्म भनेपछि मरिहत्ते गर्थे। उनी भन्छन्, 'फिल्म हेर्न पाएँ भने मलाई अरू केही चाहिन्नथ्यो।' शाहिललाई पर्दामा हिरो बन्ने रहर थिएन, टेक्निसियन भएर काम गर्ने त सोचेका पनि थिएनन्। उनी फिल्म हेर्दा रमाउँथे मात्र। 'मलाई फिल्ममा एकदमै इन्ट्रेस्ट थियो तर हिरो बन्छु वा फिल्ममा काम गर्छु भन्ने थिएन', उनी सम्झिन्छन्, 'अझ टेक्निसियन बन्छु भनेर त सोचेको पनि थिइनँ।'

वनारसमा बसेर १२ पढ्दै गर्दा उनलाई बाबाले फोन गरे। बाबाले उनलाई काठमाडौंमा मल्टिमिडिया पढ्न जान भने। शाहिल खुसी हुँदै काठमाडौं आए। उनी काठमाडौं आएर शाहिलका दाई अश्लाम खानको ताल म्युजिकमा मल्टिमिडिया सिक्न थाले। उनी त्यहाँ सिक्दै काम गर्दै थिए। भन्छन्, 'यो क्षेत्रमा रुचि भएर पनि होला, मलाई सिक्न पनि धेरै गाह्रो भएन। म त काम गर्दै सिक्दै थिएँ।'

दुई वर्षपछि अश्लामसँग उनको सम्बन्ध बिग्रियो। शाहिलले ताल म्युजिक छोडिदिए। काठमाडौंमा उनले कसैलाई चिन्दैनथे। एक महिनासम्म साथीको शरणमा बसे। पछि साथीले पनि उनलाई आफ्नो गर्न भनेपछि उनीमाथि समस्या थपियो।

काम खोज्दा यतिसम्मको दुःख

परिवारको सहयोगमा उनी कीर्तिपुरमा बस्न थाले। कीर्तिपुरबाट कामको खोजीमा उनी हरेक दिन हिँडेर पुतलीसडकसम्म आउँथे। उनी सम्झिन्छन्, 'अघिल्लो दिन काम माग्दा हुन्छ भन्नुहुन्थ्यो। भोलिपल्ट तपाईंको दाइले विरोध जनाउनु भएको छ यार! हामीलाई पनि गाह्रो हुन्छ भनेर काम दिनुहुन्नथ्यो।'

छ महिनासम्म उनको दिनचर्या कामको खोजीमा नै बित्यो। उनी शारीरिक रूपमा पनि कमजोर भइसकेका थिए। रोगले पनि उनलाई सतायो।

उनले काठमाडौं छाडेर घर फर्किने निर्णय गरे। घर फर्किने समयमा 'एनएस क्रियसन'का विजय चौधरीलाई बायोडाटा दिएर गएका थिए। उनले आफ्नो समस्या बताएर बायोडाटा छाडका थिए। उनले काम दिने आश्वासनसहित बायोडाटा लिएका थिए।

उनी काठमाडौं छाडेर घर गए। घर गएर उपचार गराए। तीन महिनासम्म आराम गरे। स्वस्थ भएर उनले आमालाई फेरि काठमाडौं गएर काम गर्ने भन्दै काठमाडौं हानिए। उनी भन्छन्, 'पहिला पाएको दुःख सम्झिएर पनि जे गर्छु काठमाडौंमा नै गर्छु भन्ने लागेर फेरि काठमाडौं आएँ।'

'पहिला पनि काम गरिरहेको थाहा पाएर नै उहाँहरूले मलाई ट्रेलर काट्न दिनुभयो', उनी भन्छन्, 'त्यही फिल्मबाट नै अफिसियल रूपमा मेरो नाम नै आएर ट्रेलर काट्न सुरु गरेको हुँ।'

काठमाडौं आएर पुनः संघर्ष

काठमाडौं आएर शाहिलले विजयलाई फोन गरे। उनले शाहिललाई सुशील श्रेष्ठलाई फोन गर्न भने। शाहिलले उनलाई फोन गरे। सुशीलले पनि विपीन मल्ललाई फोन गर्न भने। शाहिलले विपीनलाई फोन गरे। विपीनले शाहिललाई एक सातापछि फोन गर्न भने। त्यसको लगभग १५ दिनपछि शाहिलले विपीनलाई भेटे।

विपीनसँगको भेटपछि शाहिलले काम पाए। विपीनले शाहिललाई 'डर' फिल्मको ३० सेकेन्डको ट्रेलर काट्न अह्राए। त्यस बेलासम्म पनि शाहिललाई फिल्मको काम गर्ने अफिसमा काम पाएको छु भन्ने थाहा थिएन। ट्रेलर काट्ने भनेपछि बल्ल थाहा पाए कि यो फिल्म क्षेत्रमा काम पाएको रहेछु। 'ट्रेलर काट भनेपछि बल्ल थाहा पाएँ कि यो त फिल्म क्षेत्र रहेछ', उनी भन्छन्, 'मेरो रुचिको क्षेत्र भएपछि त झनै राम्रो काम गर्ने आँट आयो।'

विपीनले दिएको उक्त काम शाहिलले छोटो समयमा नै सिध्याए। उनी भन्छन्, 'उहाँले दिनुभएको काम मैले छिट्टै सिध्याइदिएँ। पछि आएर मेरो काम हेर्नुभयो र स्याब्बासी दिनुभयो।' शाहिलले विपीनकोमा काम पाए। उनलाई महिनाको तीन हजार रुपैयाँ तलब दिइयो। उनी सम्झिन्छन्, 'तलब के र कति भन्दा पनि मैले पाएको स्याब्बासीमा निकै खुसी भएको थिएँ।'

शाहिलले लगभग साढे चार वर्ष त्यहाँ काम गरे। चार वर्षपछि आन्तरिक कुरा र तलबको कुरा नमिल्दा उनले त्यो अफिस छाडे।

'फेसबुक'बाट ट्रेलरमा शाहिलको नाम

त्यस समय बनीष शाहले 'फेसबुक' नामक फिल्म सम्पादन गरिरहेका थिए। बनीषको सहायक भएर शाहिल पनि फेसबुकको सम्पादन गरिरहेका थिए। उनी सम्झन्छन्, 'त्यहाँ छोड्नेबित्तिकै म फेसबुकको एडिटिङमा लागे।'

फेसबुक सम्पादन गर्दै गर्दा शाहिललाई सुरज सुब्बाले उक्त फिल्मको ट्रेलर पनि काट्न आग्रह गरे। 'पहिला पनि काम गरिरहेको थाहा पाएर नै उहाँहरूले मलाई ट्रेलर काट्न दिनुभयो', उनी भन्छन्, 'त्यही फिल्मबाट नै अफिसियल रूपमा मेरो नाम नै आएर ट्रेलर काट्न सुरु गरेको हुँ।' फेसबुकको पोस्टरसमेत शाहिलले डिजाइन गरेका थिए।

एक वर्षमा जम्मा पाँच हजार

त्यसपश्चात् शाहिलले आफ्नै अफिस खोले, 'मुभी फ्याक्ट्री।' अनामनगरमा यसको अफिस थियो। त्यहाँ महिनाको लगभग २० हजार रुपैयाँ खर्च हुन्थ्यो। तर विडम्बना! शाहिलले त्यहाँ काम पाएनन्। उनी सम्झिन्छन्, 'एक वर्षमा मैले जम्मा एउटा फिल्मको काम गरेँ, जसबाट पाँच हजार पाएको थिएँ।' शाहिलले 'म छु नि तिम्रो' नामक फिल्मको काम पाएका थिए।

मिहिनेतपछिको यो सफलता

उक्त फिल्मको काम पाएपछि उनले लगातार जस्तो काम गर्ने मौका पाए। उनी भन्छन्, 'त्यसपश्चात् त राम्रो राम्रो फिल्मको पनि काम पाउन थाले। त्यसयता करिअरमा पछाडि फर्किएर हेर्नुपरेको छैन।'

कहिलेकाहीँ त 'झुर' फिल्मको ट्रेलर काटेर राम्रो बानउनुपर्ने बाध्यता पनि उनमा छ। उनी भन्छन्, 'झुर फिल्मको ट्रेलर काट्न त साह्रो अल्छीलाग्दो पो हुन्छ त!' तर शाहिल त्यस्ता फिल्महरूलाई बढी समय दिएर ट्रेलर तयार गर्छन्। 'त्यो मेरो कामप्रतिको वफदारी हो', उनी भन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.