|

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हालै सम्पन्न गरेको आफ्नो अमेरिकाको द्विपक्षीय भ्रमण सफल रहेको बताएका छन्। झण्डै दुई दशकसम्म दुई देशबीच औपचारिक रुपमा हुन नसकेको उच्चस्तरीय भ्रमणको क्रमलाई तोडेको मन्त्री ज्ञवालीले विश्वास व्यक्त गरेका छन्।

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल रिचार्ड पोम्पेओसँग द्विपक्षीय औपचारिक भेटवार्ताका लागि गत साता गरेको अमेरिकाको वाशिङ्गटन डि. सी. मा द्विपक्षीय भ्रमणबारे आइतबार परराष्ट्र मन्त्रालयले जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रीले त्यस्तो बताए।

मुलुकको पछिल्लो राजनीतिक परिवर्तन तथा विकासक्रमप्रति संयुक्त राज्य अमेरिकाजस्तो पुरानो तथा महत्वपूर्ण साझेदार राष्ट्रको नेपालप्रतिको चासो र महत्वमा बढोत्तरी ल्याएको बताउँदै मन्त्री ज्ञवालीले भ्रमणको उद्देश्य कुनै सम्झौता वा थप परियोजनामा हस्ताक्षर गर्नु नभएको बताए। आफ्नो अमेरिका भ्रमणले आगामी दिनमा द्विपक्षीय हीतका विषयहरुमा ठोस उपलब्धि हासिल गर्ने दिशामा प्रयासहरु केन्द्रित गर्नेतर्फ सम्भावनाको थप ढोका खुलेको मन्त्री ज्ञवालीले बताए। 

समग्रमा भ्रमणले संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय सम्बन्धमा बढोत्तरी हुनाको साथै आपसी सहयोग र सहकार्यमा अभिवृद्धि हुने विश्वास लिएको उनको भनाइ थियो। यस्तै मन्त्री ज्ञवालीले भ्रमणले अमेरिकी जनता तथा त्यहाँ रहेका गैह्रआवासीय नेपाली मार्फत जनस्तरको सम्बन्धमा समेत बढोत्तरी हुने आशा गरेको बताए।
भ्रमणका क्रममा अमेरिकाको विदेश मन्त्रालयमा पोम्पेओसँग द्विपक्षीय औपचारिक भेटवार्ता गर्नुका साथै नेपाल अमेरिका सम्बन्धसँग महत्व राख्ने अन्य अमेरिकी निकायका उच्च पदाधिकारीहरुसँग समेत भेटवार्ता गरेको जानकारी  मन्त्री ज्ञवालीले दिए। उनी  नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रसचिवका अतिरिक्त अर्थ र गृह मन्त्रालयका सहसचिवहरु सम्मिलित भ्रमणमा अमेरिकाका लागि नेपाली राजदूत र नेपाली नियोगका उपप्रमुख समेत उक्त बैठकहरुमा सहभागी रहेका थिए।

पुस १ गते राति काठमाण्डौबाट प्रस्थान गरेर पौष २ गते साँझ वाशिङ्गटन डि. सी. पुगेको टोलीले पौष ३ गते वाशिङ्गटन डि. सी.स्थित अमेरिकाको विदेश मन्त्रालयमा अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पेओसँग द्विपक्षीय औपचारिक भेटवार्ता गरेको मन्त्री ज्ञवालीले जानकारी दिए। 

उक्त भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप उचाइमा लैजाने विषयमा छलफल भएको जानकारी दिँदै मन्त्री ज्ञवालीले त्यस अवसरमा नेपालको शान्ति प्रकृया, पछिल्लो राजनीतिक विकासक्रम र वर्तमान सरकारका विकास प्राथमिकताहरु सम्बन्धमा नेपालको धारणा राखेको जानकारी दिए।

खासगरी नेपालमा अमेरिकी लगानीका लागि सहजीकरण गरिदिन अनुरोध गर्दै नेपालमा मार्चको अन्तिम सातामा आयोजना हुन लागेको लगानी सम्मेलनबारे जानकारी दिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। 

व्यापारको क्षेत्रमा अमेरिकाले नेपाललाई प्रदान गरेको सहुलियतका लागि धन्यवाद दिंदै नेपाललाई प्रदान गरेको भन्साररहित तथा सीमारहित सहुलियत प्राप्त वस्तुमा नेपालको तुलनात्मक लाभ रहेका केही थप वस्तुहरु (पुरुष र महिलाका पोशाकहरु) समावेश गरिदिन अनुरोध गरेको उनले जानकारी दिए।

भेटमा विदेशमन्त्री पोम्पेओले नेपालको राजनीतिक प्रगति र स्थायित्वको प्रशंसा गर्नुका साथै नेपालको विकासमा सहयोग गर्न आफू तत्पर रहेको बताएका थिए। बैठकका क्रममा द्विपक्षीय क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विविध विषयहरुमा समेत छलफल भएको जानकारी दिँदै मन्त्री ज्ञवालीले शान्ति सेनामार्फत नेपालले विश्व शान्तिमा पुर्‍याएको योगदान तथा कोरियाली प्रायदीपमा भइरहेको शान्ति स्थापनाको प्रयास तथा आणविक निशस्त्रीकरणको प्रयासका बारेमा छलफल गरेको जानकारी दिए। 

यस अघि सोही दिन परराष्ट्रसचिव शंकरदास वैरागी तथा अमेरिका विदेश मन्त्रालयकी एलिस जी. वेल्सले नेतृत्व गरेको प्रतिनिधिमण्डलबीच नेपाल-अमेरिका राजनीतिक परामर्श बैठक सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। 'उक्त परामर्श बैठकमा नेपाल सरकारका विकास प्राथमिकताहरु, द्विपक्षीय समझदारीहरुको कार्यान्वयन, मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्टको प्रगति, विकास सहायता, व्यापार तथा लगानीका साथै दुई देशको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा चासोका बारेमा विस्तृत छलफल भएको छ', मन्त्री ज्ञवालीले पत्रकार सम्मेलनमा भने।

भ्रमणका क्रममा अमेरिकाका लागि नेपाली राजदूतले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भएर अमेरिकी सरकारका विभिन्न निकायका उच्च पदाधिकारीसहित अमेरिकामा रहेका नेपाली समुदायका प्रतिनिधिहरु भेट गरेको उनले जानकारी दिए। 

त्यस कार्यक्रममा आफ्ना धारणाहरु राख्ने क्रममा नेपालको राजनीतिक प्रगति, विकासका प्राथमिकता, नेपाल अमेरिका बीचको सम्बन्ध तथा राष्ट्र निर्माणमा गैरआवासीय नेपालीले पुर्‍याउन सक्ने योगदानको बारेमा चर्चा गरेको मन्त्री ज्ञवालीले जानकारी दिए।

पौष ४ गते अमेरिकाका एशिया प्रशान्त मामिला सम्बन्धी सहायक रक्षा मन्त्री र्‍यान्डल स्क्रिभरसँग मन्त्री ज्ञवालीले भेट गरेका थिए। भेटका क्रममा नेपाल र अमेरिकाबीच सहयोग तथा सहकार्यका साथै संयुक्त राष्ट्र संघको शान्ति सेनामा नेपालको महत्वपूर्ण योगदानका बारेमा छलफल भएको जानकारी दिदै मन्त्री ज्ञवालीले त्यस अवसरमा पाँचखालस्थित विरेन्द्र शान्ति कार्य तालीम केन्द्रको क्षमता अभिवृद्धिमा अमेरिकाले गर्नसक्ने सहयोगको बारेमा समेत छलफल भएको बताए।

वाशिङ्गटनस्थित मिलेनियम च्यालेन्ज कर्पोरेशनको मुख्यालयमा कर्पोरेशनका प्रमुख जोनाथन नाशसँग भेटवार्ता गर्दै दुईबीच गत वर्ष दुई मुलुकबीच हस्ताक्षरीत सम्झौताबमोजिमको ५०० मिलियन अमेरिकी डलरको सहायता रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट अन्तर्गतका परियोजनाहरुलाई शीघ्र कार्यन्वयनमा ल्याउन चाल्नुपर्ने कदमहरुको बारेमा छलफल भएको ज्ञवालीले जानकारी दिए। उक्त कम्प्याक्ट अन्तर्गत नेपालको उर्जा तथा सडकको क्षेत्रमा महत्वपूर्ण परियोजनाहरु संचालनमा आउनेछन्।

अर्को भेटमा वाशिङ्गटनस्थित आइजनहावर एक्जेक्युटिभ अफिस बिल्डिङ्गमा अमेरिकी राष्ट्रपतिकी डेपुटी असिस्टेन्ट तथा राष्ट्रिय सुरक्षा परिषद्की दक्षिण तथा मध्य एशिया मामिला सम्बन्धी निर्देशक लिजा कर्टिससँग मन्त्री ज्ञवालीले भेटवार्ता गरेका थिए। उक्त भेटमा दुई देशबीचको सम्बन्धका विविध क्षेत्रहरुमा विचार आदानप्रदान हुनाको साथै उच्चस्तरिय भ्रमणमार्फत दुई देशबीचको सम्बन्धलाई नयाँ उचाई दिने विषयमा छलफल भएको थियो। त्यस अवसरमा दुई देशका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय महत्व तथा चासोको विषयमा समेत कुराकानी भएको बताइएको छ।

भ्रमणका सन्दर्भमा परराष्ट्र सचिवले युएसएड का निमित्त उपप्रशासक डेभिड एच मुरसँग युएसएडको मुख्यालयमा भेटवार्ता गरेका थिए। त्यसक्रममा द्विपक्षीय विकास सहायताका विविध पक्षहरुमा छलफल गर्नुका साथै आगामी दिनमा विकास सहायतामा थप सहकार्य तथा सहयोगको सम्भावनाका बारेमा छलफल भएको थियो।

अमेरिका बसाइको अन्तिम दिन पौष ५ गते वाशिङ्गटनमा एशिया सोसाइटीद्वारा आयोजित एक गोलमेच छलफलमा मुख्य वक्ताको रुपमा सहभागी हुदै मन्त्री ज्ञवालीले नेपालको राजनीतिक उपलब्धि तथा विकासका प्राथमिकता, नेपालको परराष्ट्र नीतिका प्राथमिकता तथा नेपाल अमेरिका सम्बन्धका विविध आयामहरु बारे आफ्नो धारणा राखेको जानकारी दिए। छलफलमा सहभागीहरुसँग नेपालको परराष्ट्रनीति तथा नेपाल अमेरिका सम्बन्धका विविध विषयमा अन्तर्क्रिया समेत भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.