विचार

राजतन्त्रका शकुनिको अवसान र केही सवाल
SHARES

पुस ८, २०७५

    आधुनिक नेपालको इतिहासका एउटा पात्र यस्ता पनि थिए, जसले संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रको विकल्पमा सक्रिय राजतन्त्रको पक्षमा आफूलाई जीवनभर दौडाए र अन्तमा गुमनाम जीवन व्यतीत गरेर गए। उनले बीसौँ शताब्दीको अन्त र एक्काइसाँै शदीको प्रारम्भमा  कस्तो व्यवस्थाको पक्षधरता देखाए भने, जहाँ विचार प्रतिबन्धित हुन्थ्यो, प्रजातान्त्रिक र स्वतन्त्र विचार बोक्ने मानिसहरूको निर्मम हत्यासमेत हुन्थ्यो र दासताले मात्र शिर निहु¥याएर बाँच्न पाउँथ्यो अनि राजा त्यसैमा मख्ख परेर आफूलाई विष्णुको अवतारको रूपमा आफैँले आफैँलाई पूजा गर्थे र संसारभर सबैले आफूलाई मानेको आत्मरतिमा रमाउँथे। सैनिकको आडमा राज्य चलाउनु ती राजाको नियति थियो। ती राजा थिए, महेन्द्र वीरविक्रम शाह। महेन्द्रलाई आत्मरतिमा रमाउन लगाउने पात्र थिए, डा. तुलसी गिरी। 

    नेपालका प्रधानमन्त्री भइसकेका व्यक्तिको निधनमा शब्दश्रद्धा दिनु नै पर्छ र दिएँ पनि- यिनै शब्दहरूमार्फत्। तर महाभारतमा शकुनिको जुन भूमिका थियो कौरवको वंश नाशका लागि, ठीक त्यही भूमिकामा डा. गिरी देखिएका छन्- नेपाली राजतन्त्रको अन्तका लागि। 

    संसदीय प्रजातन्त्रका नेपाली महानायक विपी कोइरालालाई विश्वासघात गरेको कुरा त नेपाली इतिहासमा पाइन्छ तर विपीलाई मात्र धोखा दिएर प्रजातन्त्रलाई चाहिँ धोखा नदिएको भए सायद नेपाली इतिहासमा खलनायकको रूपमा गिरीलाई लिइँदैनथ्यो कि! 

    भर्खर सुरु भएको संसदीय प्रजातन्त्रमा पाउनुपर्ने भन्दा पनि धेरै बढी सबै पदहरू डा. गिरीले पाएका थिए। उनी नेपाली कांग्रेसका महामन्त्री बनाइएका थिए, पहिलो मन्त्रीमण्डलमा ग्राम विकास उपमन्त्री र तत्कालै पुनर्गठनमा परराष्ट्रमन्त्री भए। उनले बोलेको विपीले बोलेको भन्ने भान सबैमा पर्थ्यो। सुरुदेखि नै प्रजातन्त्रका प्रति यदि उनमा आस्था थियो भने कसरी रातारात प्रजातन्त्रका विरुद्धमा षड्यन्त्रकारी हुनसके भन्ने कुराको छनक राजाले संसद विघटन गरेपछिको मन्त्रीमण्डलमा वरिष्ठतम मन्त्रीका रूपमा देखिनुले स्पष्ट पारेको थियो। 

    हुनत नेपालको प्रजातान्त्रिक विकासक्रमको परिप्रेक्ष्यमा  विपी र डा. गिरीका बीचमा तुलना गर्र्नु पनि अप्रासंगिक हुन जान्छ। तुलना नै गर्दा राजा महेन्द्रसँग नै गरिन्छ किनभने गिरीहरू निमित्त नायकका रूपमा मात्र राजाका भरिया भएका देखिन्छ। तर एउटा शंकाको फाइदा के लिन सकिन्छ भने यदि २०१७ पुस १ गते गिरी र विश्वबन्धु थापाहरूले राजालाई सहयोग नगरेको भए राजाले प्रजातन्त्रको हत्या नै गर्ने हिम्मत गर्थे कि गर्दैनथे होलान्? या त  राजाले जसरी पनि सत्ता आफ्नै हातमा लिएर गिरीहरूलाई पनि सायद विपीलाई जस्तै जेलमा राख्थे होलान् या तत्काललाई विपीको सरकारसहित संसद विघटन गर्ने धारणामा परिवर्तन गर्थे होलान्। जे हुनु थियो भइसक्यो तर अहिले गिरीको अन्त्यपछिको एउटा बहस हुने खालको धारणासम्म हो यो। 

    प्रजातन्त्रको कुरा आउँदा चाहे राजा महेन्द्र हुन् या डा. गिरी, जसको पनि कुरा आउँछ, विपीसँगको तुलना गर्ने कुरा आजको अवस्थामा। कहाँ प्रजातन्त्रका लागि जीवन न्यौछावर गर्ने महानायक विपी, कहाँ जनतालाई अधिकार दिनै हुँदैन भनेर आफूलाई विष्णुको अवतार मान्न जनतालाई बाध्य पार्ने राजा र पञ्चतन्त्र कथामा वर्णित नीलवर्णछृङ्गालको पछिपछि हिँड्ने गिरी-थापा-शाहहरू! 

    सायद प्रजातन्त्रको तापले सेकिएर होला, पहिलो पंचायती संविधान तयार गर्ने ऋषिकेश शाहमा पछि भने मानवअधिकारको प्यास देखिएको थियो। त्यो प्रजातन्त्रका विरुद्धमा हिजो लागेको प्रायश्चित थियो या राजाले दिन्छु भनेर नदिएको केही कुराको बदला थियो? 

    आखिर गिरीहरूको लहैलहैमा लाग्दा राजतन्त्र गयो। आइभर जेनिङ्सले दिएको छुचुन्द्रो र सर्पको उदाहरणको सावधानीको सीमालाई नाघ्न उचाल्नेहरू नै राजतन्त्रको अन्त्यका कारक रहे। बीसौँ शताब्दीको अन्त्यतिर राज्यारोहण गर्ने राजामा देखिएको प्रत्यक्ष शासनको अतिमहत्त्वाकाङ्क्षाका पछिल्तिर राजाको खोलमा आफ्ना महत्त्वाकाङ्क्षाको पूर्णता देख्नेहरूले यो देशलाई अँध्यारो युगतिर फर्काएका थिए। यसको उदाहरणका रूपमा बाध्यकारी अवस्थामा राजाले बहुदल या निर्दलका बीचमा रोज्न जनतालाई जनमतसंग्रह दिँदा पनि या त जनमतसंग्रहलाई नमान्ने वा जनमतसंग्रहमा जनमतलाई कृत्रिम रूपमा हराउनेहरू नै हिजोका दिनमा पनि प्रजातन्त्रका हत्यारा थिए। 

    उनले शकुनिको जस्तै पक्षधरता लिएको राजतन्त्र पनि कौरवको वंश नाश भएझैँ राजा वीरेन्द्रको वंश नाश भयो, राजा ज्ञानेन्द्रका बेलामा राजतन्त्र गयो। राजाको मात्र पक्षधरता, निरङ्कुश राजाको मात्र पक्षधरता गर्ने गिरीले न यश पाए, न नाम पाए, न इतिहासमा राम्रो स्थान पाए, न त आत्मसन्तुष्टि नै पाए। 

    डा. गिरीको निधनको खबर एक प्रकारले गुमनामकै रूपमा रह्यो। कतिले यसो पनि भने– डाक्टर गिरीको निधन एक पटक २०१७ पुस १ गते भयो अनि अन्तिम पटक भने २०७५ पुस ३ गते बिहान भयो– एक पटक आफ्ना आस्थाको मृत्युमा राजाको सहयोगी भएर र प्रजातन्त्रप्रति विश्वासघात गराएर र अर्को पटक कालकलवित भएर। मृत्युपश्चात् प्रजातन्त्रवादीहरूले यसलाई स्वाभाविकरूपमा लिए भने निरङ्कुशतावादीहरूले यसलाई एउटा इतिहासको अन्त्य ठाने। वास्तवमा इतिहासको अन्त्य त भएकै हो, प्रजातन्त्रप्रतिको अन्तर्घात र विश्वासघातको नमुनाका रूपमा चित्रित एक खलनायकको।

    व्यक्तिगत रूपमा डाक्टर गिरीसँग हाम्रो कुनै दुश्मनी थिएन तर जसरी आफैँ सम्मिलित दलका मानिसहरूलाई दलीय व्यवस्थामा लागेको कारणले पहिलेकै समयको आधारमा थुन्ने, मार्ने गरिने कुरामा उनको नेतृत्व रह्यो, सायद त्यो इतिहासको निर्मम चपेटामा उनी आफैँ पनि परे र राजाको सक्रिय नेतृत्वको असामयिक व्याख्या गर्दागर्दै नेपाली राजनीतिमा खलनायकको रूपमा स्थापित हुनपुगे। 

    नेपाल कति उदार देश छ। बहुदलवादीहरू कति उदार छन्। २०१७ सालदेखिका खलनायकहरू मात्र होइन, २०४६ सालको जनआन्दोलन र २०६२÷०६३ को जनआन्दोलनका अपराधी भनेर सरकारले नै गठन गरेका आयोगहरूले कारवाहीका लागि सिफारिस गरेका व्यक्तिहरूलाई कारवाही नगरी प्रधानमन्त्री, उपप्रधानमन्त्रीका पदहरूले सुशोभित गरे। कांग्रेसले कम्युनिस्टको तेजोबध गर्न र कम्युनिस्टहरूले कांग्रेसको तेजोबध गर्न तिनै पुराना पंचहरूको सहयोग लिए।

    उदार प्रजातन्त्र भएको जर्मनीमा नाजीको अवस्था जस्तो होला भनेर जनआन्दोलनमा लागेका आन्दोलनकारीहरू त्यसबेलामा अलमल्ल परे, जब प्रजातन्त्रका विरोधीहरूको हालीमुहाली प्रजातन्त्रोत्तर कालमा पनि उस्तै देखियो। जस्तो कि राजाको प्रत्यक्ष शासनकालमा थियो। नाजीलाई हिटलरपश्चातका सरकारले जस्तै गरेको भए संभवतः नेपाली राजनीतिमा शुद्धीकरण आउँथ्यो होला तर अझै प्रजातन्त्रका वाहकहरूमा राजनीतिलाई शुद्धीकरणतर्फको पाइला उचित लागिरहेको छैन। 

    यदि अझै पनि मल्लिक आयोग र रायमाझी आयोगका प्रतिवेदनहरूमा गरिएका सिफारिसहरू कार्यान्वयन गर्ने हो भने राजनीतिमा केही शुद्धीकरण देखिन्थ्यो र प्रजातन्त्र र नागरिक अधिकारका विरोधीहरूले दण्ड पाएर खलनायककै हैसियतमा रहन्थे कि! 

    फेरि कुरो डा. गिरी प्रवृत्तिकै। ९३ वर्षको उमेरमा उनको निधन भयो। जन्मँदा हिन्दु शैव परिवारमा जन्मिएका गिरीको निधन भएर अन्त्येष्टि गर्दा इसाइधर्मीको रूपमा गरियो। त्यो उनको व्यक्तिगत जीवन थियो। तर उनले आस्था देखाएको व्यवस्थाले नेपाली जनताको जीवनमा के असल प्रभाव पारेको थियो र उनकै जीवनमा पनि जनताले के भनेर सम्झने भनेर त्यस्तो केही देखिएन। उनले शकुनिको जस्तै पक्षधरता लिएको राजतन्त्र पनि कौरवको वंश नाश भएझैँ राजा वीरेन्द्रको वंश नाश भयो, राजा ज्ञानेन्द्रका बेलामा राजतन्त्र गयो। राजाको मात्र पक्षधरता, निरङ्कुश राजाको मात्र पक्षधरता गर्ने गिरीले न यश पाए, न नाम पाए, न इतिहासमा राम्रो स्थान पाए, न त आत्मसन्तुष्टि नै पाए। 

    अब के मात्र भन्नुपर्ने भयो भने डा. गिरी जस्ताले राजालाई नउचालेका भए सायद राजतन्त्र जाँदैन थियो कि? जापानमा जस्तै, थाइल्यान्डमा जस्तै, नर्वेमा जस्तै सम्मानित भएर राजतन्त्र रहिरहने थियो कि? कि राजतन्त्रको अन्त्यका लागि पो गिरीहरूले राजालाई उचालेका थिए कि?

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]