|

रामेछाप : जिल्लाको सदरमुकाम मन्थलीस्थित सानीमदौमा निर्माणाधीन रामेछाप कृषि शिक्षालयको भवन (पोली टेक्निक इन्ष्टिच्यूट) निर्माणमा ठेकेदारको लापरवाही देखिएको छ। शिक्षालयको निर्माणाधीन भवनमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गर्नुका साथै भवनको पिलरमा प्रयोग गरिएको रडसमेत स्टिमेट अनुसारको छैन। 

स्टिमेट अनुसार पिलरमा २० एमएमको रड प्रयोग गर्नुपर्ने भए पनि १६ एमएमको रड प्रयोग गरिएको छ। भवन निर्माणमा १ नम्बर इटा प्रयोग गर्नु पर्ने स्टिमेट रहेको तर ३ नम्बर इँटा प्रयोग गरिएको स्थानीय युवराज सुवेदीले बताए। भवनको गाह्रोमा अधिकांश टुक्रा इँटा प्रयोग गरिएको छ। ढुवानीको क्रममा भाँचिएका र टुक्रिएका इँटाहरू समेत गाह्रो लगाउन प्रयोग गरिएको हो। गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको थाहा पाएपछि गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्न पटक-पटक सुझाव दिँदा पनि निर्माण व्यवसायीले अटेर गरेको सुवेदीको आरोप छ। 

एक नम्बर इँटा प्रयोग गर्नुपर्नेमा निर्माण व्यवसायीले तीन नम्बर इँटा झारेपछि, तीन नम्बर इँटा फिर्ता गरी एकनम्बर इँटा ल्याउन अनुरोध गर्दा निर्माण व्यवसायीले अटेर गरी त्यही इँटा प्रयोग गरेको सुवेदीले बताए। भवनको ढोकामा नेपाली अग्राखको काठ प्रयोग गर्ने भनिए पनि मलेसियाको काठ ल्याइएको सुवेदीको भनाई छ।

स्थानीयको सुझावलाई बेवास्ता गरी निर्माण व्यवसायीले २० एमएमको रडक हाल्नु पर्ने पिलरमा १६ एमएमको रड हालेपछि सिटीइभिटीइबाटै इन्जीनियर झिकाई निरीक्षण गराएर १६ एमएमको रड राखेर निर्माण गरिएको पिलर फुटाई स्टिमेट अनुसारको पिलर निर्माण गर्न आग्रह गरिएको रामेछाप शिक्षालय (पोली टेक्निक इन्ष्टिच्यूट) का प्रमुख रामनारायण यादवले जानकारी दिए। 

निर्माण व्यवसायीले चरम लापरवाही गरेको स्थानीयको आरोप छ। शिक्षालयको निर्माणाधीन भवनमा थुप्रै त्रुटिहरू पाइएकाले निर्माण ब्यवसायी र सम्बन्धित प्राविधिकसँग छलफल गरी त्रुटि भएको कामलाई सुधार गर्न लगाउने मन्थली नगरपालिका १ का अध्यक्ष नारायणदाश श्रेष्ठले बताए। सिटीइभिटीइअन्तर्गत नेपाल सरकारको तीन करोड ३० लाखको लगतमा कृषि शिक्षालयको साढे २ तले भवन निर्माणको जिम्मा ज्ञान ज्योति विल्डर्सले पाएको थियो। निर्माण व्यवसायी देवेन्द्र चौलागाईले इँटाको अफसिजन भएकाले इँटा कम्जोर परेको स्वीकार गर्दै अन्य निर्माण सामग्री भने गुणस्तरहीन नरहेको दावी गरेका छन्। 

शिक्षालय भवनको लागि ल्याइएको ढोका स्टिमेटमा फरक परेकाले त्यसलाई फिर्ता गरी अर्को मगाइएको पनि चौलागाईले बताए। भवन निर्माणको क्रममा भएका अन्य त्रुटिलाई पनि सुधार गर्ने उनले बताएका छ। ज्ञान ज्योति विल्डर्सले रामेछाप कृषि शिक्षालयकै यस अघि निर्माण गरिएको भवन पनि नबुझाउँदै चिर्किने र भत्किने भएपछि शिक्षालयले भवन बुझ्न अस्वीकार गरेको छ।

निर्माण कार्य नसकिंदै प्लस्टर भत्किएपछि भत्किएको ठाउँमा टालटुल पारेर भवन हस्तरण गर्न लाग्दा शिक्षालयले भवन बुझ्न अस्वीकार गरेको हो। भवन निर्माणकाे काम पूर्ण रुपमा नसकिएसम्म नबुझ्नो पनि शिक्षालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.