|

विराटनगर : जिन्दगीभरको कमाइबाट जोडेको घरजग्गा हरायो भने त्योभन्दा ठूलो पीडा गरिबका लागि के हुनसक्छ? मोरङ ग्रामथान ७ का ४ घर परिवारलाई अहिले त्यस्तै आपत् आइलागेको छ।

जग्गा दलालको विभिन्न तानाबानाका कारण उनीहरूले मेहनतले कमाएको करोड बढी मूल्य पर्ने घरजग्गा अलपत्र भएको हो। ग्रामथान ७ कि इसुमती चौधरीले ६९ सालमा स्थानीय कृष्ण श्रेष्ठबाट साढे ६ लाख रुपैयाँमा ५ धुर जग्गा खरिद गरेकी थिइन्। आफ्नो जग्गामा कहिले बालुवा चालेर त कहिले बनिबुतो गरेर कमाएको पैसा तथा बैंकबाट ऋण काढेर ६० लाख रपैयाँमा दुईतल्ले घर बनाएकोमा गाउँपालिकाको ६ नम्बर वडा कार्यालय र ७ नम्बर वडाको सिमाना नटुंग्याउँदा पनि उनीहरू तनाबमा बस्न बाध्य छन्।

छिमेकीले आफ्नो जग्गा चौधरीको घर बनाएको ठाउँमा परेको भन्दै अदालतमा दिएको निवेदन सदर भएपछि घर भत्काउन प्रहरी पुगेको थियो। दुःख गरेर कमाएको पैसाले बनाएको घरमा अर्कैले ताला लगाएपछि आफू अलपत्र बनेको इसुमतिको भनाइ छ। उनको घरबाट उत्तरपट्टी रहेको छिमेकीको जग्गा १५ फिट गायव भएपछि मुद्दा परेको थियो। त्यसपछि इसुमतिको सिमाना १५ फिट पर सर्ने र अर्को घर पनि भत्किने अवस्था बनेपछि दक्षिणी छिमेकी प्रमिता खामाजी र वीरेन्द्र चौधरीको पनि करोड बढी लगानी गरेर बनाएको घर भत्किने भएको छ।

दक्षिणतिर सिमाना सर्दै गएपछि अन्तिममा ग्रामथान ६ को वडा कार्यालयको ऐलानी जग्गा सर्ने देखिन्छ। तर, ६ नम्बर र ७ नम्बर वडा कार्यालयले सिमाना सही ढंगले नछुट्याउँदा र घर भत्किने अवस्थामा पुगेका उनीहरूको समस्या समाधानका लागि पहल नगर्दा आफूहरू मारमा परेको पीडित बताउँछन्। यसअघि प्लटिङ गर्नेहरूले जथाभावी गर्दा समस्या आएको स्थानीय बलभद्र चौधरीको भनाइ छ।

ग्रामथान ६ का वडाध्यक्ष सवदनारायण चौधरीले पनि प्लटिङ गर्नेहरूकै कमजोरीका कारण स्थानीयले दुःख पाएको बताए। घर बनाएर बसिरहेका स्थानीयको घर भत्काउने कुनै पनि काम राम्रो नहुने भन्दै उनले प्लटिङ गर्नेहरूले स्थानीयको जग्गालाई बाटोमा पारेको हुनसक्ने र खोजी गर्नुपर्ने बताए।

साविक बनिगामा गाविस हाल ग्रामथान ६ को वडा कार्यालय रहेको स्थानको कित्ता नम्बर १२, ५, ११, १३ र १४ को ७ कठ्ठा साढे १३ धुर जग्गा सरकारको नाममा रहेको छ। सोही जग्गासँग टाँसिएको जग्गा सर्दै आउँदा ऐलानी जग्गा व्यक्तिको हुनसक्ने भन्दै स्थानीयले भने सिमांकनको माग गर्दै आएका छन्।

वडा नम्बर ६ र ७ का ७८ जनाले स्थानीयको जग्गा हराएको भन्दै पुनः सिमांकन गर्नुपर्ने र धनीपूर्जामा उल्लेखित जग्गा हुनुपर्ने आफ्नो मागमा गाउँपालिका तथा वडा कार्यालयहरुले चासो नदिएको गुनासो छ। सर्वसाधरणको जग्गा धनीपूर्जामा देखिए पनि फिल्डमा देखिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.