करिब १९०० वर्ष कैद र ८ करोड रुपैयाँ जरिवान बाँकी

|

धनगढी : २०४६ साल जेठ २ गते बीरबहादुर राजी लगायत ३ जनाबिरुद्ध जिल्ला अदालत कैलालीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो। २० वर्ष सजाय सुनाएको ३० वर्ष बितिसक्दा पनि उनीहरू अझै पक्राउ परेका छैनन्।

२०७२ साल असार १४ गते अपहरण मुद्दामा १३ वर्ष सजाए पाएका केशव जेठारा अझै फरार छन्। राजी र जेठारा जस्तै कैलाली जिल्ला अदालतबाट सामान्यदेखि जघन्य अपराधमा फैसला भएका एकहजार ४७६ जना फरार अभियुक्त रहेको कैलाली जिल्ला अदालतका प्रवक्ता नरबहादुर नेगीले बताए। ‘२००९ सालदेखि हालसम्म १४७६ जना फरार छन्’ प्रवक्ता नेगीले भने, ‘उनीहरूबाट १८६४ वर्ष १० महिना २४ दिन कैद र ७ करोड ७९ लाख ३९ हजार ५८७ रुपैयाँ जरिमान हुन बाँकी छ।’

कैलाली जिल्ला अदालतबाट ६६ वर्ष अघि फैसला भएकाहरू पनि फरार अवस्थामा रहेका छन्। ‘उनीहरू मध्ये केहीको त मृत्यु भइसकेको हुन सक्छ। कोही बसाइँ सराइँ गरेर अन्यत्रै गएका पनि हुन सक्छन्’ अदालतका श्रेस्तेदार इन्द्र कठायतले बताए। 'मुद्दा लगत कट्टाको प्रक्रिया समेत भइरहेको छ। अभियुक्तलाई अदालतले फैसला सुनाएको व्यक्तिको मृत्यु भएमा, थुनामा बसेमा वा अदालतको अभिलेखका आधारमा पक्राउ परेमा फरार अभियुक्तको लगत कट्टा गर्ने व्यवस्था रहेको छ’ श्रेस्तेदार कठायतले भने।

मुलुकी देवानी तथा फौजदारी संहितामा २० वर्ष कैद तोकेको व्यक्ति ५० वर्षसम्म फेला नपरेमा लगत कट्टा गरिने व्यवस्था गरिएको छ। १० वर्ष भन्दा बढी फैसला भएको व्यक्ति ४० वर्षसम्म पक्राउ नपरे, १० वर्षसम्म कैद सजाय भएको व्यक्ति ३० वर्षसम्म पक्राउ नभए, ५ वर्षसम्म कैद सजाय भएको व्यक्ति २० वर्षसम्म र १ वर्ष कैद सजाय भएको व्यक्ति १२ वर्षसम्म फेला नपरे लगत कट्टा गरिने उल्लेख छ।

श्रेस्तेदार कठायतले भने, ‘त्यो बेलासम्म लगत कट्टा भए पनि त्यसपछि ती व्यक्ति पक्राउ परेपछि फेरि साजयको भागिदार हुन्छन्।’ अदालतबाट फैसाला भइसकेको र दोषी किटान भइसकेका फरार रहेकालाई पक्राउ गर्न ताकेता गरिरहेको अदालतले जनाएको छ। ‘प्रत्येक आर्थिक वर्षमा सेवा प्रवाह गर्ने निकायहरूमा हामीले लगत लागेका व्यक्तिको रेकर्ड पठाउँछौं। ती फरार प्रतिबादीको सेवा प्रवाह नगरी तिनीहरूलाई अदालत वा प्रहरीको जिम्मा लगाउँन अनुरोध गरेका छौं’ अदालतका प्रवक्ता नरबहादुर नेगीले भने, ‘अदालतबाट पनि फरार प्रतिबादीलाई खोज तलासीका लागि प्रत्येक छ। छ महिनामा डोर खटाउँने गरेका छौँ। डोर खटाएर फरार प्रतिबादीको ठेगानामा गएर खोज तलासी गर्ने काम हुन्छ। तर कोही घरमा भेटिँदैन भाग्छन्। त्यस्तो अवस्थामा असुल हुन नसकेको अवस्था हो।’

कर्तव्य ज्यान, जवरजस्ती करणी, मानव बेचबिखन लगायत सामान्य चोरी र गाली गलौजको आरोपमा अदालतले सजाय सुनाएकाहरू पनि फरार रहेका छन्। एकदिनदेखि २० वर्षसम्म कैद भुक्तान गर्नेहरू पनि फरार रहेको अदालतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.