माइक कान्डले बोल्न पाएनन् जगदीश्वर

|

काठमाडौं : १० दिनदेखि जारी कांग्रेस महासमिति बैठक सकिएको छ। मंसिर २८ गते महासमिति सदस्यले नाम दर्ता गराएपछि सुरु भएको बैठक २९ गते भने औपचारिक रूपमा सुुरु भएको थियो। नौ दिनसम्म निरन्तर चलेको बैठकको बन्द सत्र बीचमा पटक पटक स्थगित हुँदै बस्यो।

पार्टी नेताहरूले विधान मस्यौदामा विवाद निकालेर सहमति गर्न नसक्दा बैठक पटक पटक स्थगित हुनपुगेको थियो। यो समयमा धेरै महासमिति सदस्यहरू घर फर्किसकेका थिए। आइतबार बैठक सकिँदा करिब आधा मात्र महासमिति सदस्यहरू बैठक स्थलमा देखिन्थे।

सुरुमा विधान मस्यौदालाई लिएर पार्टीका नेताहरूबीच विवाद भए पनि महासमिति बैठकमा भने सबै दस्तावेजहरू सर्वसम्मत रूपमा पारित भए। विवादमा फसेको आरोप लागेको कांग्रेसका लागि यो निकै ठूलो उपलब्धिका रूपमा हेरिएको छ।

समापन समारोहमा पनि कांग्रेसका नेताहरू एक भएका जस्ता देखिन्थे। उद्घाटन समारोहमा गुटगत रूपमा विभाजित नेताहरू समापनमा भने एक जस्तै देखिन्थे। समापन समारोहमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेतृ सुजाता कोइरालाले बोलेका थिए। सधैँ देउवाको उछितो काड्ने पौडेल र सुजाता आइतबार भने मत्थर देखिन्थे। उनीहरूले पार्टीको आन्तरिक एकतामा जोड दिइरहेका थिए।

उनीहरूले विभाजित भन्दा पनि एकताको सन्देश दिन खोजेजस्तो देखिन्थ्यो। ‘तपाईंहरू सबैको नकारात्मक कुरा मात्र नगर्नुहोस्। सकारात्मक कुरा पनि छन्’, कोइरालाले भनिन्, ‘शेरबहादुरजीले निर्वाचन हुनै नसक्ने अवस्थामा पनि निर्वाचन गरेर देखाउनुभएको छ। बरु यसको प्रचार गर्नुहोस्। सर्वसम्मत केन्द्रीय समितिबाट विधान ल्याएर पनि प्रमाणित भयो। अब हामी पनि एक भयौँ।’

खुसी हुँदै देउवाले भने : पार्टीभित्र ‘डिप लभ’ हुनेछ

कांग्रेस सभापति देउवा सधैँ भावुक देखिन्छन्। उनलाई हाँसेको देख्न निकै मुस्किल पर्छ। तर आइतबार भने देउवा निकै खुसी देखिन्थे। समापनको कार्यक्रममा वरिष्ठ नेता पौडेल र नेतृ कोइरालाले बोल्दै गर्दा पनि उनी मुसुमुसु हाँसिरहेका थिए।

आफू बोल्ने क्रममा त झनै खित्का छाडेरै पटक पटक हाँसे देउवा। सधैँ अक्रोशित देखिने देउवाले कार्यक्रममा आएका कार्यकर्तालाई हप्काउन पनि भ्याउँथे। तर यस पटक भने उनी निकै उत्साहित देखिन्थे। कार्यकर्ताको कमै ताली पाउने देउवाले यस पटक भने पटक पटक कार्यकर्ताको ताली पाइरहेका थिए।

उनी बोल्दै गर्दा कार्यकर्तासँग पनि ठट्टा गर्दै थिए। महासमिति सदस्यहरूलाई आफूलाई गाली नगरेको भन्दै धन्यवाद पनि दिइरहेका थिए। ‘तपाईंहरूले मलाई धेरै गाली गर्नुहुन्छ भन्ने डर लागेको थियो’, उनले हाँस्दै भने, ‘तर तपाईंहरूले केही पनि भन्नुभएन। तपाईंहरूलाई धेरैधेरै धन्यवाद।’ यो भनाइबाट उनी महासमिति बैठक सकेपछि खुसी देखिएको प्रस्ट हुन्थ्यो।

वरिष्ठ नेता पौडेलले कांग्रेसले कार्यकर्तालाई भित्रैबाट आश्वस्त हुने गरी एकताको सन्देश दिएको बताए। ‘धेरै पार्टी खोल्ने साथीहरूलाई भन्न चाहन्छु, पार्टी त्यसै बन्दैन। आकांक्षीको भीड लगाउँदैमा पार्टी हुँदैन’, उनले भने, ‘पार्टी हुन त्यसभित्र एउटा महत्त्वपूर्ण तत्त्व चाहिन्छ, त्यो हो, इमोसनल अट्याच्मेेेन्ट। त्यसले जतिसुुकै विमति र घन्चमन्च हुँदाहुँदै एक भएर जाने रसायनको काम गर्छ। त्यो कांग्रेसमा छ।’ पौडेलले यसो भनिरहँदा देउवा भने हाँसिरहेका थिए।

आफूले बोल्ने क्रममा पनि देउवाले यो विषय भने समावेश गराएर खित्का छाडेरै हाँसे। ‘रामचन्द्रजीले अट्याचमेन्ट भन्नुभयो, इमोसनल अट्याचमेन्ट। केटाकेटीको लभ पर्दाको जस्तै कुरा गर्नुभयो’, उनले भने, ‘केटाकेटीले गर्ने डिप लभको कुरा उहाँले गर्नुभएको हो। मैले यो केटाकेटीको लभमा मात्र सुनेको हुँ। उहाँले भनेजस्तै हाम्रो पार्टीमा इमोसनल अट्याचमेन्ट छ र रहन्छ।’ देउवाले यति भन्दै आफ्नो हाँसो रोक्न सकेनन्। उनी मात्र होइन, महासमिति सदस्य र उपस्थित सबै मज्जाले हाँसे।

माइक कान्डले बोल्न पाएनन् जगदीश्वर

महासमिति बैठकमा सबैभन्दा बढी चर्चा पाएको विषय हो, माइक कान्ड। पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महत र नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीबीच मंगलबार महासमिति बैठकमा माइक खोसाखोस भयो। केसीले बोल्न खोज्दा सहमहामन्त्री डा. महतले माइक खोसेपछि बैठक झन्डै स्थगित नै हुनपुग्यो।

पार्टी केन्द्रीय समितिले महासमिति बैठकमा विधान मस्यौदा प्रस्तुत नगरेको र विधान मस्यौदा नआएसम्म बैठक चल्न नदिने भन्दै स्टेजमा बोलिरहेका केसीको माइक सहमहामन्त्री डा. महतले खोसेका थिए।

यही कान्डका कारण नुवाकोट सभापति केसीले भने महासमिति बैठकमै बोल्न पाएनन्। उनले दुई पटकसम्म नाम टिपाए तर नाम नआएपछि सभापतिलाई आग्रह गरेको केसीले थाहाखबरसँग बताए। ‘मैले दुई पटकसम्म नाम टिपाउँदा आएन’, उनले भने, ‘त्यसपछि सभापतिलाई नै दुई पटक भनेंँ। उहाँले तपाईंलाई बोल्न दिन्नँ भन्नुभयो।’

उनले आफूलाई महासमिति बैठकमा धारणा राख्न नदिएर अन्याय गरेको बताए। ‘हामी लोकतन्त्रका लागि लड्यौँ। पार्टीमा सुकिलामुकिलाको हावी भयो’, उनले भने, ‘अब पार्टीको आन्तरिक लोकतन्त्रका लागि लड्नुपर्ने बेला आएछ।’

‘हाम्रो सुझाव डस्टविनमा फालियो’

कांग्रेसको महासमिति बैठकमा ३०० बढीले धारणा राखे। धेरैले पार्टीलाई सुधार गरेर जानुपर्ने धारणा राखे। केहीले त हिन्दु धर्मका मुद्दालाई अब कांग्रेसले एजेन्डा बनाएर अघि बढ्नुपर्ने धारणा पनि राखे। धर्मको विषयलाई त कांग्रेसले एजेन्डा बनाएर जान असम्भव जस्तै थियो।

तर गत असारमा हेटौँडामा भएको जिल्ला सभापतिहरूको भेलाले दिएको सुझाव पनि कार्यान्वयन नभएको भन्दै जिल्ला सभापतिहरूले आक्रोश व्यक्त गरे। उनीहरूले विधान मस्यौदा महासमिति बैठकमा पेस भएपछि पनि आफूहरूको विषय नसमेटिएको भन्दै आपत्ति पनि जनाए। तर विधानमा उनीहरूले राखेको विषय समेटिएन।

उनीहरूले पार्टीका केन्द्रीय सदस्यहरू पनि महाधिवेशनमा भाग लिनका लागि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने, पार्टीको हरेक समानुपातिकमा एक पटकभन्दा बढी अवसर दिन नहुनेलगायत माग राखेका थिए। तर उक्त विषय विधानमा नसमेटिएपछि उनीहरू भने आक्रोशित बनेका छन्।

‘पार्टीको उत्कृष्ट विधान आएको छ। यद्यपि, हामीले राखेका मागलाई पार्टी केन्द्रले वास्ता गरेन’, मुगु सभापति खड्गबहादुर शाहीले भने, ‘हाम्रो सुझावलाई डस्टविनमा फालियो। हामी जति उत्साहित भएर आएका थियौँ, जाने बेलामा त्यति उत्साहित भएर जाने अवस्था आएन।’ यो विषयलाई पार्टीको आगामी महाधिवेशनमा पनि लैजाने उनीहरूको भनाइ छ।

महासमिति र जिल्ला सभापतिहरूको सुझाव मात्र समेटिएको तर पार्टीका केन्द्रीय सदस्यको सुझाव नै नसमेटिएको युवा नेता गगन थापाले बताए।

‘केन्द्रीय समितिका सदस्य पनि तलैबाट लडेर आउनुपर्ने भन्ने र एक पटक मात्र समानुपातिकमा अवसर पाउनुपर्ने भन्ने जिल्ला सभापतिहरूको माग ठीक छ। यसले मात्र पार्टीलाई समावेशी बनाउँछ, नभए समुदायको होइन,  व्यक्तिको प्रतिनिधित्व हुन्छ’, थापाले भने, ‘यो विषयमा हामीले पनि केन्द्रीय समितिमा धेरै लड्यौँ। अन्तिममा विधान नै पास नहुने अवस्था आएपछि हामीले छाड्यौँ। तर यो विषय हाम्रो निरन्तर संघर्ष र लडाइँको विषय बन्छ।’

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने सबैको सुझावलाई समेट्न नसकिने बताए। ‘महासमिति सदस्यहरूले वा केन्द्रीय सदस्यहरूले सबैले राखेको सुझाव समेटिँदैन’, उनले भने, ‘संविधान निर्माण गर्दै गर्दा हामीले कतिपय विषय विमति राखेका थियौँ। कम्युनिस्टले राखेका पनि छुटे होला। कसैले भनेको समेटियो होला, कसैको समेटिएन होला। यो विधानलाई अन्तिम रूप दिँदा धेरैको समेटियो होला, केहीको समेटिएन होला। यसलाई अनौठो रूपमा लिनुहुँदैन तर विधानले पार्टीको वृहत्तर हितमा काम गर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.