|

कास्की :  पोखरामा जारी छ,नेपाल लिटरेचर फेस्टिभल २०१८। फेस्टिभलको तेस्रो दिन। बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा तालबाराही चोकमा भइरहेको फेस्टिभलमा विभिन्न विषयवस्तुमा चर्चापरिचर्चा भएका छन्।  फेस्टिभलअन्तर्गत सोमबारको पहिलो सेसन थियो, ‘अँध्यारो उज्यालो’। यो सेसनमा वरिष्ठ पत्रकार विजय कुमार र रवि लामिछानेले अन्तरक्रिया गरेका थिए ।  

पहिलो सेसनमा पत्रकारद्वयले पत्रकारिता, साहित्य, संगीत, बेथिति एवम् जीवन जगत्बारे छलफल गरेका हुन्। सँगै राजनीतिक अव्यवस्था र नेतृत्ववर्गको गैरजिम्मेवारीपनको समेत उनीहरुले आलोचना गरे। र, राजनीतिक नेतृत्वको अहिलेको प्रवृत्तिमा कतै न कतै जनताको पनि भूमिका रहेको पत्रकार विजय कुमारले बताए।  उनीहरुले आफ्ना जीवनका अँध्यारा उज्याला पक्षको विवेचना मात्र गरेनन्, उनीहरुले मानिसका विविध जीवनशैलीबारे पनि चर्चा गरे। साथै आम मानिसको उज्याला र अँध्यारा पक्षबारे पनि सेसनमा छलफल भएका थिए।  

दोस्रो सेसन थियो, ‘संस्मरण विस्मरण’। यो सेसनमा दीपक सापकोटाले युवराज घिमिरे, ब्रजेश र अर्चना थापासँग अन्तरसंवाद गरेका थिए। उक्त अवसरमा कतिपय अवस्थामा आत्मकथाले वास्तविकता एवम् यथार्थलाई ढाकछोप गरी आफूलाई हिरो देखाउने गरेको विषयमा समेत व्यंग्य गरे। उनीहरुले नेपालमा आत्मकथा लेखनको शैली एवम् आफ्नो जीवनका स्मृति र विस्मृतिलाई उजिल्याए। साथै पछिल्लो समय बढ्दै गएको आत्मकथा लेखनको अवस्था र त्यसले पठनशैली बढाएको विषयमा पनि चर्चा गरे। अर्चना थापा र ब्रजेशले आफूले लेखेका पुस्तकका विषयवस्तु र लेख्नुका कारण पनि प्रस्ट्याएका थिए। सोही समयमा मुक्त मुक्तक शीर्षकमा सेसन चल्यो। उक्त सेसनमा मुक्तक मञ्च पोखरासँग सम्बद्ध १५ जना मुक्तककारले मुक्तक सुनाए। प्रेम, विछोड, राजनीतिक एवम् समसामयिक विषयवस्तुमा आबद्ध रहेर मुक्तककारले मुक्तक सुनाएका थिए। 

‘प्रतिरोध’ शीर्षकको तेस्रो संवादमा बसन्त बस्नेतले वात्स्यायन, कुन्ता शर्मा र उपेन्द्र सुब्बासँग संवाद गरेका थिए। उनीहरुले नेपालमा कला, साहित्यले नै नेपालमा प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको र यसले विकासमा सरकारलाई घचघच्याइरहेको धारणा राखे। कला, साहित्यका माध्यमबाट मानिसले सरकारलाई विकासका लागि झकझक्याइरहेको बताए। साथै कलाका विविध पक्षबारे पनि यो सेसनमा छलफल भयो। सोही समयमा ‘द राइटिङ जर्नी’ शीर्षकमा प्रतिभा तुलाधरले प्रज्ज्वल पराजुली, रवि थापा र प्रणय राणासँग अन्तरसंवाद गरिन्। उक्त अवसरमा उनीहरुले लेखनशैलीबारे चर्चा परिचर्चा गरे। 

फेस्टिभलको चौथो सेसन थियो, ‘प्रजातन्त्र र पुस्तक’। यो सेसनमा हरि शर्मा र सिके लालसँग मानुषी यमी भट्टराईले संवाद चलाइन्। पुस्तकले कसरी प्रजातन्त्रीकरणमा मद्दत गर्छ र बजारीकरणसँग पुस्तकको कन्टेन्टको सम्बन्ध के हुन्छ भन्नेबारे चर्चा भएको थियो। सिके लालले पुस्तकको बजारीकरण र लेखनमा को संग्लन छ भन्नेले कस्तो पुस्तक उत्पादन भइरहेछ भन्ने प्रश्न उठाएका थिए। उनले पछिल्लो समयमा सजिलोसँग लेख्न सकिने र सजिलै बेच्न सकिने आत्मकथाका पुस्तक प्रकाशन बढेको भन्दै यस्तै अवस्था सधैं नरहने दाबी गरे। शर्माले भने प्रविधिको विस्तारले पुस्तकको कन्टेन्टमा विविधता बढाएको बताइन्। साथै जसले पुस्तक लेखे पनि त्यसले केही न केही अथवा कतै न कतै प्रजातन्त्रीकरणलाई सघाइरहेको उनको भनाइ छ।  संवादमा पठनशैलीसँगै प्रजातन्त्रमा पुस्तक लेखनको अवस्थाबारे पनि छलफल भयो। उनीहरुले प्रजातन्त्रसँगै गणतन्त्रमा पुस्तक लेखनको विकासबारे पनि विचारविमर्श गरे।

सोही समयमा ‘कविताको परिधि’ शीर्षकमा कवीन्द्रपुर समूहले प्रस्तुति दिए। पाँचौं सेसन ‘जर्नालिज्म अन्डर फायर’ शीर्षकमा एएस पनिरसल्भान, कनकमणि दीक्षित र सब्रिना थोप्पासँग भृकुटी राईले अन्तरसंवाद गरिन्। उनीहरुले पत्रकारिताका जोखिमका विषयमा आफ्ना अभिव्यक्ति मात्र दिएनन्, यसका विविध पक्षमाथि पनि छलफल चलाए।

 विश्वपरिदृश्यमा पत्रकारिताको अवस्थाबारे पनि यो सेसनमा विमर्श गरियो। सोही समयमा ‘द मेकिङ अफ अ बेस्टसेलर’ शीर्षकमा सुविन भट्टराई, नवराज पराजुली र कृष्ण धरावासीसँग सरिता पुरीले संवाद चलाइन्। उक्त अवसरमा बेस्टसेलर लेखनका पछाडि रहेका संघर्ष, परिश्रमका विविध पक्षमाथि पनि विचारविमर्श भएको थियो। साथै बेस्टसेलर लेखक भट्टराई, पराजुली र धराबासीले पनि आफूहरुको लेखनशैली र प्रस्तुतिबारे पनि आआफ्ना धारणा राखेका थिए। 

फेस्टिभलको छैटौं सेसन थियो, ‘फूलको आँखा’। यो सेसनमा संचारकर्मी दिलभूषण पाठकले गायिका आनी छोइङ डोल्मासँग अन्तरसंवाद गरे। उक्त अवसरमा पाठकले आनीसँग जीवन र जगतलाई हेर्ने सकारात्मक दृष्टिकोणबारे रोचक संवाद गरे। साथै सकारात्मकताबाटै जीवन जित्न सकिनेमा आनीले जोड दिइन्। 

तेस्रो दिनको अन्तिम सेसन ‘बितेका कुरा’ शीर्षकममा दीप श्रेष्ठ र वसन्त थापाले रसिक मुडमा बहस गरे। गायक श्रेष्ठ र लेखक थापाले बितेको समयका संगीतहरु समय बिते पनि संगीत बित्दैन भन्ने विषयमा आधारित रहेर अन्तरसंवाद गरेका थिए। साथै आआफ्ना विगतलाई रोचक किसिमले प्रस्तुत गर्दै तेस्रो दिनको सम्पूर्ण सेसन सकिएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.