तमलोपाको कार्यालयबाट सदस्यता वितरण गर्न व्यस्त ठाकुर

|

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)भित्र विवाद चुलिँदा अध्यक्ष मण्डलको बैठकसमेत बस्न सकेको छैन।

गत मंसिर ४ गते अध्यक्ष मण्डलको संयोजकबाट महन्थ ठाकुरलाई हटाउँदै राजेन्द्र महतोलाई संयोजक बनाइएपछि सुरु भएको विवाद उत्कर्षमा पुग्दा एक महिना पाँच दिनमा पनि अध्यक्ष मण्डलको बैठक बस्न नसकेको हो।

चक्रीय प्रणालीअनुसार संयोजक फेर्ने व्यवस्था भएको भन्दै अध्यक्ष मण्डलका बहुमत सदस्यले महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाएपछि विवाद सुरु भएको हो। ठाकुरले अहिले आफूलाई अध्यक्ष मण्डलबाट हटाइएको भन्दा पनि एकताताका निर्वाचन आयोगमा पठाइएको केन्द्रीय समितिको सूचीलाई आधिकारिक मान्दै त्यसयताका नियुक्ति र मनोनयन रद्द गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन्।

उनले आफूले एकतापछि गरेका मनोननयन कायम गर्न माग गरेका छन्। अध्यक्ष मण्डलको बैठक बसाउन संयोजक महतोले प्रयास गरिरहेका छन्। तर महतोले संयोजकको जिम्मेवारी सम्हाल्न अब २५ दिन मात्र बाँकी छ। उनी संयोजक भएपछि पार्टीका गतिविधि बने शून्य जस्तै बनेको छ।

ठाकुर निकटका नेताहरूले भने संयोजकबाट किर्ते गरेर ठाकुरलाई हटाइएको आरोप लगाउँदै आएका छन्। महतो पनि यही कारण बैठकमा नआएको स्रोतले बताएको छ। ‘तपाईंले त्यो निर्णयको प्रेस विज्ञप्ति पनि हेर्न सक्नुहुन्छ। त्यहाँ लेटरप्याड छुट्टै छ र निर्णय लेखिएको पेपरपछि जोडेको छ’, ठाकुर निकट उपमहासचिव डा.सुरेन्द्र झाले भने, ‘बैठक सकिएपछि ठाकुरजीलाई साधा कागजमा हस्ताक्षर गराइयो र पछि लेटरप्याड जोडियो। यो किर्ते झै गरेर गरिएको निर्णय हो।’

हेर्नुहोस् त्यो विज्ञप्ति

ठाकुरले गरेका मनोनयनलाई खारेज गरेर उनको अपमान गर्न खोजेको झाले आरोप लगाए। ‘उहाँले संयोजक परिवर्तनको विषयमा त आपत्ति जनानुभएको छैन। हुन त उहाँलाई महाधिवेशनसम्म संयोजक बनाउने सहमति भएको थियो। तर संयोजक फेर्दा खासै आपत्ति थिएन। हाम्रो विधानमा सर्वसम्मत हुनुपर्छ भन्ने व्यवस्थाविपरीत बहुमतको बलमा निर्णय गरियो। हुनेमा उहाँहरूले बहुमतको  उहाँले मनोनयन गरेका सबै खारेज गर्ने विषयमा हाम्रो आपत्ति छ। उहाँको संघर्षका विरुद्ध आक्षेप लगाए जस्तो भयो।’

पार्टी कार्यकर्ताको भावनालाई ठेस पुग्ने गरी भएको भन्दै सो निर्णय सच्याउन उनले आग्रह गरे। सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गर्ने दिन भनेर बोलाइएको बैठकमा संयोजक परिवर्तन गरेर मधेसको मुद्दामाथिनै प्रहार गरेको उनको आरोप छ। ‘संविधान संशोधनको विषय के हुँदैछ। सरकारलाई दिएको समर्थन के गर्ने भनेर बोलाइएको बैठकमा ठाकुरलाई संयोजकबाट हटाइएर उहाँमाथि गरिएको प्रहारलाई हामीले मधेसमाथि गरिएको प्रहारको रूपमा लिएका छौँ।’

ठाकुरले मंसिर दोस्रो हप्ता उपचारका लागि भारत जाँदै गर्दा भारतबाट आएपछि बैठक बस्ने बताएका थिए। भारतमा उपचारका लागि गएको भनिए पनि राजनीतिक भेटघाट गरेको पनि स्रोतको दाबी छ।

भारतबाट मंसिर २२ गते नै उनी फर्किए पनि बैठक बस्न मानेका छैनन्। त्यसपछि उनी मंसिर २५ गते जनकपुर गए। पुस १ गते जनकपुरबाट आएको भए पनि उनी पार्टी कार्यालयसम्म आएका छैनन्।

यसबीचमा उनी दैनिक जसो पुरानो तमलोपाको कार्यालय विजुली बजार गइरहेका छन्। तर बबरमहलको राजपा कार्यालय भने एक महिनाको अवधिमा एकपटक पनि आएका छैनन्। आइतबार मात्रै उनी तमलोपाको कार्यालय गएर विजयकुमार गच्छदारको पार्टीको केन्द्रीय सदस्यबाट कांग्रेसमा नगई राजपा प्रवेश गर्न आएका वेदराज आचार्यलाई पार्टी प्रवेश गराए। आचार्यलाई पार्टी प्रवेश गराउँदै गरेको तस्वीर उनी निकट केन्द्रीय सदस्य विपी यादवले सामाजिक संजालमा हालेका छन्। ठाकुर दैनिक जसो विजुलीबजारको कार्यालय पुगेर आफू निकटका नेताहरूलाई भेट्ने गरेका छन्।

तर पार्टीको अध्यक्ष मण्डलका नेता महेन्द्रराय यादवले भने ठाकुर स्वस्थ नभएका कारण बबरमहलस्थित पार्टी कार्यालय नआएको बताए। ‘सबै कहाँ प्रत्येक दिन पार्टी कार्यालय आउन भ्याइन्छ र! संसद हुन्छ, कार्यक्रमहरू हुन्छन्’, उनले भने, ‘महन्थजीको स्वास्थ्य पनि ठीक छैन।’

ठाकुरलाई बैठकमा सहभागी गराउन अध्यक्ष मण्डलका संयोजक महतोले पनि प्रयास गरिरहेका छन्।

महतोले एक महिनाको बीचमा धेरैपटक बैठक बसाउने प्रयास गरे। तर ठाकुरले नमानेपछि बैठक बस्न सकेन। संयोजक महतोले शनिबार मात्र ठाकुर निकटका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ल, महासचिव जितेन्द्र सोनल, उपाध्यक्ष गोविन्द चौधरी र महासचिव विजय सिंहसँग छलफल गरे। तर उनीहरूले पनि ठाकुरको असन्तुष्टि के हो भन्ने विषय नभनेको बताइएको छ। उनीहरूले पार्टीमा अब मिलेर अघि बढ्नुपर्ने मात्रै बताएका थिए।

महतोले बैठकको वातावरण तयार पार्न आइतबार ठाकुरको निवासमै पुगेर भेटघाट पनि गरे। तर बैठकको वातावरण तयार हुन सकेन। अहिले पनि मंगलबार बैठक बसाउने गरी महतोले प्रयास गरिरहेका छन्।

ठाकुरलाई पटकपटक फकाउने प्रयासमा महतो पक्षले पार्टीमा सर्वमान्य नेता दिने पनि आश्वासन पनि दिए। तर ठाकुरले कुनै प्रतिक्रिया दिएनन्। ‘उहाँको खास असन्तुष्टि के हो नै थाहा छैन। उहाँले भन्नु पनि हुन्न’, स्रोतले भन्यो, ‘हामीले सर्वमान्य नेता बनाउँछौँ भन्दा पनि कुनै प्रतिक्रिया दिनुभएको छैन।’ ठाकुरले बैठकमा सहभागी हुन नमान्दा पार्टीको गतिविधि शून्य बनेको छ। जसका कारण बैशाखमा गर्ने भनिएको महाधिवेशन पनि अन्यौलमा पर्दै गएको राजपा नेताहरू बताउँछन्।

तर महतो पक्षका नेताहरू भने पार्टीभित्र कुनै विवाद नभएको भन्दै विवादलाई लुकाइरहेका छन्। ‘हाम्रो पार्टीको भलो नचाहने व्यक्तिले गरेको प्रचार मात्रै हो। बाहिर आएजस्तो विवाद छैन’, अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भने, ‘हाम्रो पार्टीमा कुनै विवाद छैन।’

महतो निकट स्रोतले भने ठाकुरका कारण बैठक बस्न नसकेको बताएको छ। तर ठाकुर निकटका नेताहरूले भने महतोले बैठक नै बोलाएको बताउँछन्। ‘हामी त राजनीतिक समितिकै बैठक बोलाउनु भनिरहेका छौँ। महतोजीले अध्यक्ष मण्डलको बैठक पनि बसाउन सक्नु भएको छैन’, उपमहासचिव डा. झाले भने, ‘अध्यक्ष मण्डलको बैठक बोलाए महन्थजी सहजै जानुहुन्छ।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.