|

मोरङ : श्रम तथा रोजगार कार्यालय विराटनगरमा हाजिर भएको दुई महिना नपुग्दै सरुवा भएका श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले घुस खान नमानेपछि आफ्नो सरुवा गराइएको आरोप लगाएका छन्।

गत असोज २५ गते श्रम तथा रोजगार कार्यालयमा वरिष्ठ श्रम अधिकृतको रुपमा हाजिर भएका उपसचिव सञ्जेलको शीप विकास कार्यालय इटहरी सुनसरीमा सरुवा परेपछि उनले  सोमबार पत्रकार सम्मेलन गरेर यस्तो गुनासो गरेका हुन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रशासन शाखाले ६ पुस २०७५ मा व्यवसायिक तथा शीप विकास तालिम प्रतिष्ठान ईटहरीमा कार्यकारी निर्देशक भएर कामकाज गर्नेगरी सरुवा गरिएको पत्र सञ्जेललाई पठाएको  छ।

श्रम कार्यालयमा हाजिर भएदेखि नै सरकारले लागू गरेको श्रमजीवीको न्युनतम बेतन र योगदानमा आधारित समाजिक सुरक्षा योजना लागू गराउन सक्रिय रहेको उनको दाबी रहेको छ। नियम विपरीत दुई महिनामै आकस्मात बदनियतपूर्वक आफ्नो सरुवा गरिएको भन्दै सञ्जेलले त्यस विरुद्ध कानुनी उपचार खोज्ने बताएका छन्।  श्रम तथा रोजगार कार्यालयमार्फत चाँडै वैदेशिक रोजगारका लागि श्रम स्वीकृति सेवा पनि सुरु हुने भएकोले घुस खाएर अकुत कमाउन चाहनेहरुले आफूलाई बाधक ठानेर सरुवा गरेको उनको आरोप छ । 

निजामती कर्मचारी ऐन २०४९ र नियमावली २०५० अनुसार कुनै पनि कर्मचारीलाई उचित कारणबिना दुई वर्ष नपुग्दै सरुवा गर्न नपाइने व्यवस्था गरेको छ। श्रम कार्यालयमा आउनुभन्दा पहिले क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा निर्वाचन अधिकारीको रुपमा रहँदा गुणस्तरहिन भवन निर्माण गर्ने ठेकेदारको  एक करोड रुपैयाँ भुक्तानी रोकेको कारण पनि सरुवा परेकाे बताउदै अदालतमा रिट हालेर उनी त्यसबेला पुनः दरबन्दीमा पर्केका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.