|

पर्वत:  सुन्तला राम्रो उत्पादन हुने पर्वतको मोदी गाउँपालिका २ देउपुरमा गएका बर्षहरुको यो समयमा बोटमा सुन्तला देख्न मुस्किल हुन्थ्यो। मंसिरदेखि पुषको पहिलो सातासम्ममा देउपुरका हरेक घरमा लगाईएका सुन्तलाहरु बिक्री भैसकेका हुन्थे। तर यो बर्ष भने सुन्तलाले उचित मूल्य नपाएपछि सुन्तला अझै पनि बोटमै छन्। 

अघिल्ला बर्षहरुमा पनि सुन्तालले राम्रो मूल्य नपाएका कारण यस बर्ष भने पुषको अन्तिममा मात्र सुन्तला बिक्री गर्ने भन्दै कृषकहरुले सुन्तला बोटमा नै राखिरहेका छन्। १४ रोपनी क्षेत्रफलमा सुन्तलाका बोटहरु लगाएका हिम शर्मा भन्छन, ‘पछि मूल्य पर्ला की भनेर यसपाली अझैसम्म पनि बोटमै राखेका छौँ। छोडेर हिँड्न पनि भएको छैन। बाँदरले सखाप पार्छ।’ उनले सुन्तला नटीपेका कारण घर छोडेर कतै निस्कन नपाएको बताए।


गत बर्ष मंसिरको दोस्रो हप्तामा नै सुन्तला बिक्री गररेका देउपुरका कृषकहरुले प्रतिकिलो ६० रुपैयाँसम्ममा बेच्न सकेका थिए। मंसिर र पुषको शुरुमै सुन्तला बेच्ने हो भने ग्राहककै दरमा दिनुपर्ने भएकाले अन्यत्रको सुन्तला बजारमा गएपछि मात्र आफूँहरुले सुन्तला टिप्ने देउपुरे कृषकको योजना छ। अर्की कृषक कल्पना पौडेल भन्छिन, ‘अहिले दिने हो भने किलोको ५०/६० मात्र पर्छ, अब एक पहिना पर्खने हो भने लगभग ८० देखि एक सय रुपैयाँ सम्म बेच्न सकिन्छ भन्ने आशा छ।’ देउपुरकै अर्का कृषक विजय चापागाईँ भन्छन, ‘गएको बर्ष एउटै बोटबाट लगभग १५ हजारको सुन्तला बेचेको हुँ, यसपाली त दाना पनि ठूलो छ, ढिला गरी बेचेमा एउटै बोटबाट २० हजार भन्दा बढी पर्ला भन्ने लागेको छ।’

देउपुरका झण्डै ६० भन्दा बढी घरपरिवारले व्यवसायिक रुपमा नै सुन्तला खेती गर्दै आईरहेका छन्। करिब डेढ दशकदेखि सुन्तलाको व्यावसायिक उत्पादन सुरु गरेका देउपुरका किसानले उत्पादन गरेको सुन्तलाले राम्रो मूल्य पाउन थालेको भने केही बर्ष मात्र भएको छ। केही बर्ष अगाडिसम्म गाउँमा सडकको सुबिधा नभएका कारण उत्पादित सुन्तला भरीया लगाएर २ घण्टासम्म डोकोमा बोकेर नजिकको बजार पातिचौरमा लैजानुपर्ने बाध्यता थियो। अहिले भने गाउँका टोल–टोलमा सड्कले छोएका कारण सुन्तला खरीदकर्ताहरु आफै देउपुर पुग्ने गरेका छन्। मिठो स्वादको मानिने पर्वतको देउपुरको सुन्तला खरीद गर्न पोखरा, नारायणगढ, मुग्लिन, काठमाडौं लगायतका ठाउँट व्यापारीहरू जाने गरेका छन्। 

समय हुँदा पनि सुन्तला बिक्री नगर्दा कृषकहरुलाई बाँदरको चुनौती भने निकै बढेको छ। आसपासका गाउँका कृषहरुले सुन्तला बिक्री गरिसकेको अवस्थामा देउपुरमा मात्र बाँकी रहँदा हरेक दिन बाँदरले सताउने गरेको कृषकहरुको भनाई छ। कृषकहरुले सुन्तला सहित अन्य खेती पनि जोगाउनको लागि गाउँपालिकामा अनुरोध नगरेका भने होईनन् तर गाउँपालिकाले बाँदर नियन्त्रणको लागि कुनै पनि योजना तयार पारेको छैन्।

बाँदर नियन्त्रण र सिँचाइ पर्याप्त भए अहिलेको भन्दा दुई गुणा बढी सुन्तला उत्पादन गर्न सकिने किसानहरू बताउँछन। देउपुरमा मात्रै बर्षेनी करिब साढे २ देखि ३ करोड रुपैयाँको सुन्तला उत्पादन हुने गररेको कषि ज्ञान केन्द्र पर्वतका प्रमुख बरीष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.