|

काठमाडौं : नेपालीसँग भएका भारु ५०० र १००० दरका नोट साटिने वा नसाटिने अन्यौलता कायमै रहेका बेला केन्द्रीय बैंकले भने केही समय अझै धैर्य गर्न ब्यापारी र सर्वसाधारणलाई आग्रह गरेको छ। 

भारतीय सञ्चार माध्यमहरुमा नेपालमा रहेका भारु नसाटिने समाचार प्रकाशित भइरहेका बेला नेपाल राष्ट्र बैंकले ती नोट साटिने वा नसाटिने बारे भारतीय रिजर्ब बैंकको निर्णय नआउँदासम्म धैर्ष गर्न आग्रह गरेको हो। नेपालको भारु नोट के हुने भन्नेबारे राष्ट्र बैंकले भारतीय रिजर्ब बैंकलाई पठाएको पत्रको जवाफ नआएको राष्ट्र बैंकका सहप्रवक्ता निर्देशक राजेन्द्र पण्डितले बताए। 

'हामीले नेपालीसँग भएको भारु नोट साट्नको लागि रिजर्भ बैंकलाई पत्रचार गरेका छौं, त्यसको प्रतिउत्तर आएको छैन, रिजर्भ बैंकको प्रतिउत्तर आउँदासम्म धैर्य गर्न आग्रह गर्छौं' उनले भने।  भारतीय रिजर्ब बैंकको जवाफ नआएको भन्दै उनले भारतीय सञ्चार माध्यमहरुमा आएका समाचार सत्य नभएको बताए। 

'कतिपय मिडियामा भारु नोट नसाटिने र कतिपय मिडियामा निश्चित परिणाममा साटिने भनिएको छ, तर त्यस्तो कुनै पनि निर्णय भएको छैन त्यसैले अहिलेनै निरुत्साहित वा उत्साहित हुनु पर्ने कारण छैन' पण्डितले भने। 

नेपाल राष्ट्र बैंकले गत विहीबार नै भारतीय रिजर्भ बैंकलाई पत्राचार गरेको थियो। राष्ट्र बैंकका अनुसार भारतीय रिजर्भ बैंकले यसबारेमा भारतको मन्त्रिपरिषदलाई जानकारी गराउने छ। भारतीय मन्त्रिपरिषदको निर्णयपछि मात्रै रिजर्भ बैंकले राष्ट्र बैंकलाई जवाफ पठाउने हुनाले धैर्य गर्न आग्रह गरिएको पण्डितले बताए। 

यस बीचमा नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका निजी क्षेत्रका प्रतिनीधीमुलक संघ–संस्थाले भारु नोट साट्ने वातावरण मिलाउनको लागि कुटनीतिक पहल चाल्न सरकारलाई आग्रह गरेका छन्।

भारत सरकारले भारु नोट प्रतिबन्ध लगाउदा भारुको कारोबार हुने नेपाल सहित भुटान, बगलादेश, श्रीलंका लगायतका देशमा समेत प्रभाव परेको छ। नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा ५०० र १००० को भारु नोट एक अर्ब भन्दा बढीको भएको अनुमान गरेको छ। भारु ५०० र १००० को नोटको प्रतवन्धले नेपालमा समेत वित्तीय कारोबार बृद्धि गर्न सहयोग पुग्ने अर्थविद्हरुले बताएका छन्।

नेपालमा १० हजार करोड भारु!

केही भारतीय सञ्चारमाध्यममा नेपालमा रहेका भारतीय नोट नसाटिने भनी समाचार लेखेका छन्। ती नोट साटिने वा नसाटिने भन्ने निर्णय गर्ने अधिकार आफूसँग नभएको भनी नेपाल राष्ट्र बैंकलाई पत्रचार गरिएको समाचारमा उल्लेख गरिएको छ। भारतीय सञ्चारमाध्यम आजतकले नेपालका बैंकमा ५ सय र १ हजारका कुल ३.५ करोड भारतीय रुपैयाँ रहेको बताएको छ।

नेपाली बजारमा भने १० हजार करोड बराबरको भारतीय रुपैयाँ रहेको समाचारमा उल्लेख गरिएको छ। भारतीय रिजर्ब बैंकले नेपालका बैंकलाई मात्र ३.५ करोड भारतीय रुपैयाँ मात्र दिएको बताएको छ। यस्तोमा नेपालमा यति धेरै रकम कहाँबाट आयो भन्ने प्रश्न पनि समाचारमा उठाइएको छ। समाचारमा जनाइए अनुसार नेपाल राष्ट्र बैंकको अनुरोधलाई भारतीय वित्त मन्त्रालय पठाइएको छ। यो विषयमा दुई देशका प्रधानमन्त्रीस्तरीय बातचितपछि समस्या समाधान हुने अनुमान गरिएको समाचारमा जनाइएको छ।

सम्वन्धित समाचार

भारु साट्दा ठगिए नेपाली, १ हजार भारुको जम्मा १२ सय

भारतीय नोट प्रतिबन्धको असर : झापाका सिमावर्ती आँखा अस्पताल सुनसान

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.