|

तनहुँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले बन्दीपुरमा व्यक्तिको जग्गामा झण्डा गाडेको छ। बन्दीपुर गाउँपालिका १ का ऋषिराम अधिकारीको जग्गामा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका कार्यकर्ताहरुले झण्डा गाडेका हुन्।

निर्माण व्यवसायी संघ तनहुँका पूर्व अध्यक्षसमेत रहेका अधिकारीको डुम्रे बजार नजिकै रहेको जग्गामा विप्लव माओवादीको संगठन जिल्ला जनपरिषद् नेपाल तनहुँका कार्यकर्ताले झण्डा गाडेका हुन्।
 
जनपरिषद्ले सार्वजनिक जग्गा संरक्षण गर्दै जग्गा हडप्नेलाई कार्वाही गर्ने अभियानअन्तर्गत अधिकारीको जग्गामा झण्डा गाडिएको कार्यकर्ताको भनाइ छ। अधिकारीले डोजर लगाई  सम्याएर राखेको जग्गामा सोमबार विप्लव कार्यकर्ताहरुले दुई वटा पार्टीको झण्डा सहित जग्गा संरक्षण र हडप्नेलाई कार्वाही गरिने भन्ने व्यानरसमेत टाँगेका थिए। 

उक्त व्यानरमा यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन, अन्यथा जनपरिषद्ले कार्वाही गर्नेछ, भन्ने लेखिएको छ । उक्त जग्गा सार्वजनिक भएकोले त्यसको संरक्षणका लागि झण्डा गाडिएको परिषद्का प्रमुख पुर्णजित पुनले बताए।

सार्वजनिक जग्गा संरक्षण गरी जग्गा हडप्नेलाई कार्वाही गर्ने अभियानका साथ जनपरिषद् सार्वजनिक जग्गा संरक्षणमा जुटेका उनले बताए। 

झण्डा गाडेको स्थानमा उनीहरुले 'बन्दीपुर गाउँपालिका अन्तर्गत विभिन्न स्थानहरुमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने, सत्ता र शक्तिको आडमा दलाली धन्दामार्फत् आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्ने खालका बदमासी भइरहेको सन्दर्भमा सार्वजनिक जग्गा हडप्ने र सार्वजनिक जमिनमा घर बनाएर भाडामा लगाउने जस्ता गलत कार्यका विरुद्ध व्यापक जनगुनासो आएकाले सार्वजनिक जग्गा अतिक्रमण गर्ने सम्बन्धित व्यक्तिहरुलाई तुरुन्त आफ्नो कार्य सच्याउन आग्रह गर्दछौँ, अन्यथा जनपरिषद् नेपाल तनहुँले जनताको पक्षमा आवश्यक कार्वाही गर्न बाध्य हुनेछ' भन्ने पर्चा समेत छोडेका छन्।
 
सो जग्गा सार्वजनिक र बढी विवादितसमेत भएकाले विप्लव कार्यकर्ताले झण्डा गाडी कब्जामा लिएको बताइएको छ। यता जग्गा धनी अधिकारीले भने सो जग्गा आफ्नो लालपुर्जाको जग्गा भएको बताएका छन्। 

जग्गा संरक्षणका लागि पर्खाल लगाउँदा १/२ मिटर जग्गा भित्र बाहिर हुनसक्छ, तर त्यो जग्गा मेरै लालपुर्जाको हो, सार्वजनिक होइन, अधिकारीले भने। जग्गामा कुनै पार्टी निकटका कार्यकर्ताले झण्डा गाडेको सुन्दा आफू आश्चर्यमा परेको अधिकारीले बताए ।
 
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले झण्डा गाडेको भन्ने सूचना प्राप्त गरेको बताए। 'सूचना प्राप्त भएको छ, वास्तविकता के हो बुझ्दैछौँ', प्रजिअ शर्माले भने । 

विप्लव कार्यकर्ता व्यासमा पस्दै 

यसैबीच सार्वजनिक जग्गा हडप्नेलाई कार्वाही गरी जग्गा संरक्षण अभियानमा लागेका विप्लव कार्यकर्ता व्यासको दमौली पस्ने भएका छन्। दमौली बजारमा नाम चलेका व्यक्तिहरुले जिल्ला विकास समितिको जग्गा कब्जा र अतिक्रमण गरी भाडामा लगाएर पैसा लिइरहेको गुनासो सुनेसँगै विप्लव कार्यकर्ता व्यासको दमौली पस्ने भएका हुन्। 

'सार्वजनिक जग्गा हडपेर भाडामा लगाई पैसा असुलेको रिपोर्ट प्राप्त भएको छ, अब जग्गा फिर्ता नगरे जनपरिषदले कार्वाही गर्नेछ', परिषदका एक नेताले भने । 

दमौली बजारमा जिल्ला विकास समितिको जग्गा विभिन्न व्यक्ति र संस्थाहरुले हडपेर भाडा लगाई खाएको गुनासो पछि तात्कालीन जिविसले सांसद आशा कोइरालाको संयोजकत्वमा छानविन समिति गठन गरी त्यसले प्रतिवेदन समेत बुझाइसकेको भएता पनि तीन जग्गा हडप्नेको प्रभाव र दवावमा छानविन समितिको सो प्रतिवेदन गुपचुप राखिएको व्यासनगरवासीको गुनासो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.