|

पाल्पा : रिब्दीकोट गाउँपालिकाका महिला परालको चप्पल बनाउने काममा आकर्षित भएका छन्। उनीहरूले पाँच दिनको तालिमबाट चप्पल बनाउने सीप सिकेका छन्। विशेष गरी एकल महिला, एकल महिलासँग आश्रित परिवारका सदस्य र अतिविपन्न परिवारका पुरुषले समेत परालको चप्पल बनाउने काममा सक्रिय भएर लागेका छन्।

रिब्दीकोट गाउँपालिका–७ डबकाकी ५८ वर्षीया शिव कुवँरले तालिमबाट चप्पल बनाउन सिकेको बताइन् । भर्खर सिक्दै छु, अहिले एकजोर मात्र बनाउन सकिन्छ उनले भनिन् पूर्ण दक्ष भएपछि दैनिक ३ जोरसम्म चप्पल बुन्न सकिने रहेछ। उनको अनुभवमा विगतमा घरमा बस्नको लागि बनाइने चकटी बुने जस्तै रहिछ।

वडा नम्बर पाँच कुसमखोलाकी ५९ वर्षीया शान्ता थापा पनि परालको चप्पल बनाउन सिकिरहेकी छन्। 'परालको काँटछाँट गरी मोटा र मसिना डोरा बुनेर चप्पल बनाउन सिकेकी छु,' उनले भनिन्, 'बूढेसकालमा भारी काम गर्न सक्दिन यो चप्पल बनाएर दैनिक दुई-चार सय कमाउन सकिन्छकी भन्ने लागेको छु।'

सोही गाउँपालिकाको वडा नम्बर ४ भैरवस्थानको रानीठाँटीका ५६ वर्षीय हरिप्रसाद खनालले घरमा बसेर चप्पल बनाउने र बिक्री गर्ने योजना रहेको बताए। उनले भने 'कुनै जागिर छैन् तर बस्ने र घुम्ने समयमा चप्पल बनाएर दिनको ५/७ सय आम्दानी गर्न सकिने रहेछ। गाउँपालिकाले संचालन गरेको तालिमबाट सबै वडाका गरी करीव ३० जना महिला– पुरुषले चप्पल बनाउन सिकेका छन्।'

प्रशिक्षक गुल्मीको रुरुगाउँपालिका–१ की गोमा अर्याल मरासिनीले यो पेशाबाट जीविकोपार्जन गर्न सकिने बताइन्। 'घरायसी काम गरेर दैनिक दुई जोरसम्म चप्पल बुन्न सकिन्छ' उनले थपिन् 'व्यवसायीक ढंगले गर्ने हो भने दैनीक पाँच जोरसम्म बुन्न सकिन्छ।' उनले पाँच जोर चप्पलको मूल्य एक हजारसम्म पर्ने बताइन्।

चप्पल बनाउने तरिकाबारे उनले सुनाइन् 'पहिले पराललाई काँटछाँट गरेर सफा पराल तयार गर्ने, अनि रसी बाट्ने, रसी बाटीसकेपछि चप्पलको तलिबाट काम थाल्ने हो, त्यसपछि जुत्ताको स्वरूपमा बुन्दै जाने हो। त्यति कठिन छैन्।' 

पछिल्लो समयमा परालबाट बनाइएको चप्पलको माग बढ्दै गएपछि आफूहरूले यो पेशामा आर्षित गर्न तालिम संचालन गरेको रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताए। 'कम्तिमा डेढ सयसम्म मूल्य पर्ने परालको चप्पल विशेष गरी क्रियापुत्रीले लगाउने गर्छन्' उनले भने, 'यसको माग बजारमा मात्र नभई गाउँमा समेत बढ्दै गएको छ।'

तालिमपश्चात् व्यवसायीक रुपमा काम गर्नेलाई आफूहरूले आवश्यक आर्थिक तथा भौतिक सहयोग गर्ने उनले बताए। उनका अनुसार बजार व्यवस्थापन पनि गाउँपालिका नै गरिदिनेछ। 'जिल्लाको सदरमुकाम तानसेन, बुटवल, नारायणघाटसम्म परालको चप्पलको माग भइरहेको छ' उनले थपे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.