|

काभ्रेपलाञ्चोकः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताएका छन्।

मंगलबार बनेपामा  इसाई समितिद्वारा आयोजित संयुक्त क्रिसमस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले जबरजस्त धर्म परिवर्तन स्वीकार्य नहुने बताए। उनले भने, 'धर्म कुनै व्यक्तिको पनि पेवा हाेइन।' उनले नेपाल धर्म निरपेक्ष मुलुक भएकाले राज्यको कुनै धर्म नहुने बताए।

मन्त्री बाँस्कोटाले धर्म मान्ने विषय व्यक्तिगत स्वतन्त्रता भएको बताउँदै कसैलाई जबरजस्त धर्म परिवर्तन गराउनु गलत भएको समेत बताए। उनले भने, 'धर्म मेरो निजी मामला हो। यसमा कसैले हस्तक्षेप गर्नु हुन्न र स्वीकार्य पनि हुन्न।' मन्त्री बाँस्कोटाले धर्म मान्ने विषयमा कसैले कसैलाई छिःछिः र दूरदूर गर्नुभएन। उनले भने, 'कसैको धार्मिक आस्थामाथि विभेद गर्न पाइँदैन।' यस्तै उनले धर्म, जातजाति र भूगोलका आधारमा विभेद गर्न नपाइने कानुनी व्यवस्था रहेको समेत बताए। 

मन्त्री बाँस्कोटाले नेपालको एकता, आपसी सद्भाव भड्काउन कुनै पनि नागरिकलाई छुट नभएको बताउँदै हामीले धार्मिक सहिष्णुता अँगालेका समेत बताए। उनले भने, 'हाम्रो एउटै बस्तीमा अनेक जातजाति र धार्मिक आस्थाका व्यक्ति बस्छन्। हामीले एकअर्काको धर्मको सम्मान गर्नु सिक्नु पर्छ।'

मन्त्री बाँस्कोटाले सरकारले हरेक विभेदको अन्त्यको संकल्प गरेकाले धार्मिक विचारमाथि हमला गर्नेलाई राज्यले कारवाही गर्न कुनै कसर बाँकी नराख्ने समेत बताए। उनले भने, 'धर्म नैतिकतामा आधारित हुन्छ। एकअर्को धर्मबीच लडाइँ गर्नुपर्ने कुनै कारण पनि छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.