|

कास्कीः चिसो मौसमले न्यानो स्वागत गरिरहेको पोखरामा यतिबेला साहित्य मेला चलिरहेको छ। बिभिन्न क्षेत्रमा आबद्द नेपालका विभिन्न क्षेत्रका नेता तथा बौद्धिक लेखकले भरिएको छ पोखरा। 

आज नेपाल लिट्रेचर फेस्टिभलको चौथो तथा अन्तिम दिन। विभिन्न सेसनका कार्यक्रमहरू चलिरहेका छन्। जसमा एक सेसन थियो अबको नेतृत्वः कस्को र कस्तो? वक्ताहरु थिए विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र, नेपाली कांग्रेस युवा नेता गगन थापा र नेकपाका नेता नारायणकाजी श्रेष्ठ। प्रस्तोता थिए पत्रकार गुणराज लुइटेल। 

विगत तीन दिनदेखि कार्यक्रममा उपस्थित दर्शकहरु पनि उस्तै उल्लेख्य रहेको छ। कार्यक्रमको सुरुवातमै तीन नेतामा देखिएको आत्मियताले माहोललाई अझ रोचक बनाएको थियो। विस्तारै माहोल तताउने काम सुरु भयो जब प्रस्तोता लुइटेलले सोधे नेता भनेको केहो? 

जवाफमा मिश्रले, ‘नेता भनेको जनताको एक हिस्सा हो जस्ले जनताको चाहानालाई बुझ्छ। जनता मैत्री हुन्छ।’ थापाले जवाफ दिए, ‘जसले नेतृत्वकर्तालाई र जनतालाई प्रश्न सोध्ने र उत्तर दिने क्षमता राख्छ।’ श्रेष्ठले जनता मैत्री हुनु नै नेता हुनु हो भन्ने जवाफ दिए।

लुइटेलले  गगन थापातिर प्रश्न सोझ्याए, ‘के तपाई नेपाली कांग्रेसमा नेतृत्व गरेर अगाडि बढ्न सक्नुहुन्छ?  जवाफमा थापाले भने, ‘सकिन्छ हामीले महाधिवेशन बाट हस्तक्षेप सुरू गरिसकेका छौँ।  तर नेतृत्वमा पुगिसकेपछि के गर्ने भन्ने कुरा मुख्य हो।’

कांग्रेसलाई जिताइयो भने उसले त देशै बेचिदिन्छ भनेर नेकपाले डर देखाएको र नेकपाले जितेमा अधिनायकवाद ल्याउँछ भनेर आफूहरुले डर देखाएको थापाले बताए। विवेकशील साझाले दुवै पार्टीले देश बिगार्छन भनेर डर देखाइरहेको पनि उनले बताए। यस्तो पद्धती हटाउन जरुरी रहेको पनि उनले बताए।

मिश्रले जवाफ दिए, ‘अहिलेको नेतृत्व कस्तो भयो भने एक प्वालबाट बुद्ध छिराउँदा अर्को प्वालबाट निस्किँदा चाल्स शोभराज  हुने। वामपन्थी र नेपाली कांग्रेसको राजनीतिबाट आफूले राजनीतिमा के गर्न हुने र के गर्न नहुने कुरा बुझिसकेको छु।’

अहिलेको नेतृत्वमा सुधार्नुपर्ने धेरै कुरामध्ये  देशका बिभिन्न निकायमा राजनीतिक भागवण्डा अन्त्य हुन जरुरी रहेको मिश्रले बताए। देशको समृद्धिका लागि सबैभन्दा हानिकारक दलिय भागवण्डा भएको उनले बताए। अर्को कुरा अहिले सरकारमा रहेका २४ मन्त्री मध्ये अधिकान्शले पेट्रोलको पैसा खाइरहेको र घरभाडाको पैसा आइरहेको बताउँदै उनले त्यसो नगरे देश बन्न धेरै समय नलाग्ने बताए।

असल नेतृत्वकर्ता बन्न धेरै दिन नलाग्ने उनले टिप्पणी गरे। अहिलेको सरकारप्रति इंकित गर्दै मिश्रले अघि भने, ‘सक्नुहुन्छ भने दलीय पेशागत संगठन खारेज गर्नुस्। राजनीतिलाई स्कुल र कलेजबाट बाहिर निकाल्नुस्। घर हुँदाहुँदै घरभाडा लिने तपाईंका नेतालाई कारबाही गर्नुस्।’

मिश्रले नारायणकाजीतिर प्रश्न गरे, ‘संविधानमा समाजवादउन्मुख भनेर लेख्ने अनि शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्वमै नराख्ने?’ आफू शिक्षा र स्वास्थ्यमा लगानी गर्दै हिँड्ने र घरभाडा, तेल खाएर ठूला सिद्धान्तका कुरा गर्ने काम गलत भएको बताए।

श्रेष्ठले लुइटेल र मिश्रलाई जवाफ दिए, ‘देशको आवश्यकता र आकस्मिकता नै नेतृत्वमा पुग्ने नपुग्ने निचोड हो। राजनीति मेरो लागि मुक्तियात्रा हो। पद, पैसा र प्रतिष्ठाको लागि मैले राजनीति गरेको होइन। नेतृत्वमा जाने लक्ष्य पनि छैन।’

नेपालका दशौँ हजार नेता तथा कार्यकर्ताहरु बिना श्रम विलाषी जीवन बाचिरहेको श्रेष्ठले बताए। ‘जसले गर्दा जनतालाई हाम्रा नेतृत्वदेखि वितृष्णा छ।हरेक ब्यक्ति आफ्नो तहबाट पनि नेतृत्वलाई प्रश्न गरिरहनु पर्छ। दशौँ हजार नेता कार्यकर्ता पाल्ने यो पद्धति नेतृत्वले बन्द गर्नुपर्छ।’

‘अस्ति भर्खर जनताले दुईतिहाइ बहुमत दिएका होइनन्? ६ वटा प्रदेशमा सरकार बनाइदिएका होइनन्?  स्थानीय निकायमा बहुमत दिएका होइनन्? अनि ९ महिनामै मूल्यांकन गरेर हुन्छ?’ उनले भने, ‘नआत्तिनुस्, हामी आफ्नो भिजनमा हिँडिरहेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.