पहिलो बैठकमा शीर्ष नेताको सम्बोधन र शोक प्रस्ताव

|
फाइल फोटो

काठमाडौं : सभामुख कृष्णबहादुर महराले संघीय संसदको हिउँदे अधिवेशनमा बिजनेस अभाव र नियम निलम्बनको अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गरिएको बताएका छन्।

सिंहदरबारस्थित कार्यकक्षमा मंगलबार सभामुख महराले भोलिदेखि सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनका बारेमा जानकारी दिएका हुन्। कार्यव्यवस्था परामर्श समितिको बैठकपछि कुरा गर्दै सभामुख महराले संसद अधिवेशनको सुरुमा बिजनेस भए पनि पछिका लागि भने प्रधानमन्त्री केपी शर्मा ओली र कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराएको बताए।

‘मैले त धेरैपटक प्रधानमन्त्री र कानुनमन्त्रीको ध्यानाकर्षण गराइसकेको छु’, सभामुख महराले भने,‘भोलिको बैठकमा सरकारले अध्यादेश पेश गर्नेछ। केही विधेयक संसदीय समितिहरूमा छन् र तबसम्म सरकारले थप बिजनेस दिनुहुनेछ।’ उनले यसपटक नियम निलम्बन गर्न नपरोस् भनेर कार्यव्यवस्था समितिको बैठकमा मन्त्री ढकालको ध्यानाकर्षण गरिएको बताए।

सभामुख महराले फागुन २१ गतेसम्ममा संविधानसँग बाझिएका सबै ऐन संशोधन हुने विश्वास पनि व्यक्त गरेका छन्। उनले संविधानसँग बाझिएका कानुन संशोधन गर्नका लागि धपेडीको अवस्था आउन नदिन संसद र सरकार काम गरिरहेको जानकारी दिए। संवैधानिक व्यवस्थाअनुसार केही नेपाल ऐनलाई संसोधन गर्न बनेका सबै विधेयकलाई सरकारले हिउँदे अधिवेशनमा पेश गर्ने आफूलाई विश्वास रहेको उनले बताए। केही नेपाल ऐनलाई संसोधन गर्न बनेका ५५ विधेयक र १ खारेज गरी ५६ वटा विधेयक सचिवालयमा दर्ता भइसकेको उनले जानकारी दिए।

पहिलो बैठकमा शीर्ष नेताको सम्बोधन र शोक प्रस्ताव

हिउँदे अधिवेशनको पहिलो बैठक संघीय संसदका राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक हुनेछ। जसमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। मंगलबार बसेको कार्य व्यवस्था परामर्श समिति बैठकले संसद अधिवेशनको पहिलो बैठकमा राष्ट्रपतिले पठाएको संसद अधिवेशन आह्वानको पत्र सभामुख महराले वाचन गरेपछि शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकः

मुख्यतः संसदमा प्रतिनिधित्व गर्ने दलहरू नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। शीर्ष नेताहरूको सम्बोधनको बारेमा सभामुख महराले भने, ‘सबै पार्टीका मुख्य नेताहरूले गएको अधिवेशनको समीक्षा र यो अधिवेशनलाई कसरी अगाडि बढाउने लगायतका विषयमा धारणा राख्नुहुनेछ।’

भोलिको बैठकमा सरकारले कर्मचारी समायोजन अध्यादेश पनि पेश गर्नेछ। केहीअघि मात्रै सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउनका लागि अध्यादेश जारी गरेको थियो। त्यसैगरी भोलिकै बैठकमा राष्ट्रियसभाबाट पास भएका विधेयक पनि टेबुल हुनेछन्।

बुधबार नै संसदको दोस्रो बैठक बस्नेछ। जसमा यस बीचमा निधन भएका पूर्वसांसदहरू पद्मरत्न तुलाधर, चक्रप्रसाद बाँस्तोला र मोतीदेवी चौधरीको शोक प्रस्ताव पेश गरिने कार्यक्रम तय भएको संसद सचिवालयले जानकारी दिएको छ।

संसदलाई जीवन्त बनाइने

सभामुख कृष्णबहादुर महराले हिउँदे अधिवेशनलाई जीवन्त बनाउनेबारे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू र सरकारसँग छलफल भइरहेको बताएका छन्। सरकारलाई संसदप्रति जिम्मेवार बनाउनका लागि संसदको हिउँदे अधिवेशन अगाडि बढ्ने सभामुख महराले बताए।

यसका लागि संसदमा प्रधानमन्त्रीसँग सांसदहरूले प्रश्नोत्तर गर्ने, सरकारका कामकारबाहीबारे मन्त्रीहरूसँग प्रश्नोत्तर कार्यक्रमलाई प्राथमिकता राखिने सभामुख महराले जानकारी दिए।

संसद संचालनमा कर्मचारीको असहयोग आन्दोलनले असहज

संघीय संसदका कर्मचारीहरूले अहिले असहयोग आन्दोलन गरिरहेका छन्। कर्मचारीले अहिले बिहान १० देखि दिउँसो ४ बजेसम्म मात्रै काम गरिरहेका छन्। संसदमा सामान्य कार्यालय समयबाहेक पनि काम हुने गरेको छ। कर्मचारीहरूको आन्दोलनका कारण संसदको काममा प्रभाव परेको संसदका पदाधिकारीले बताउने गरेका छन्। त्यसको समाधानमा लागेको पनि उनीहरूले दाबी गर्दै आएका छन्।

कार्यालय समयबाहेक काम गरेको भत्ता कटौती गरेपछि पुस १ गतेदेखि संघीय संसदका कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। जसको समाधान गर्नका लागि संसद र सरकारबीच पटकपटक छलफल भएको छ।

यसबारेमा प्रश्न गर्दा सभामुख महराले भने, ‘सरकारसँग छलफल चलिरहेको छ, अहिले यत्ति भनौँ।‘

कर्मचारीहरूको आन्दोलनले हिउँदे अधिवेशनको पहिलो बैठक संचालनमा नै प्रभाव पर्ने हो कि भन्ने चिन्ता संसद सचिवालयलाई देखिएको छ। बैठक दिउँसो ४ बजे बोलाइएको छ। सभामुख महराले भने साँझ ५ बजेसम्म कर्मचारीहरू काम गर्ने र सोही समयभित्र संसद बैठक सकिने जानकारी दिए। कर्मचारीहरूको आन्दोलनले संसद बैठक संचालनमा नै असहजता आउने देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.