|

पर्सा : यो वर्षको शित लहरका समयमा चिसोको कारण पर्सामा एकजनाको पनि मृत्यु हुन नदिने गरी काम गर्न सरोकारवालाहरू सहमत भएका छन्। विपद्  व्यवस्थापन समिति पर्साको अगुवाइमा बसेको आकस्मिक बैठकपछि स्थानीय सरोकारवालाहरू सक्रिय हुन सहमत भएका हुन्। 

चिसोबाट कसैको ज्यान नजाओस् भनी पूर्व तयारी गर्ने क्रममा पर्साका १४ स्थानीय तहहरूमा भएका सबैभन्दा गरिव र विपन्नको ठोस तथ्यांक एक हप्ताभित्र तयार पार्ने निर्णय भएको छ। ठोस तथ्यांकमा लुगाफाटो हुँदै नभएका,साह्रै विपन्न र आफूले जोहो नै गर्न नसक्लेलाई प्राथमिकतामा राखेको विपत् व्यवस्थापन समिति पर्साका संयोजक तथा पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।

सबैभन्दा बढी न्यानो कपडा नभएकै कारण चिसो थेग्न नसकी मृत्युवरण गर्न पुग्ने निष्कर्षसहित पहिलो प्राथमिकतामा उनीहरूलाई राखेको उनको भनाइ छ। त्यसपछि बिरामी, बालबालिका, बृद्धबृद्धा लगायतलाई क्रमशः प्राथमिकतामा राखी कार्यसम्पादन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।

पर्साका १४ स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतहरू सहभागिता रहेकाे आकस्मिक बैठकमा हरेक स्थानीय तहहरू आफै स्थानीय सरकार भएकोले जिम्मेवारीबोध पनि स्थानीय तहले गर्नु पर्नेमा विपद् व्यवस्थापन समितिले जोड दिइएको छ। स्थानीय तहहरूबाट सम्भव हुन नसकेको र थप सहयोग आवश्यक परे जिल्ला विपद् व्यवस्थापन समितिले पनि गर्ने निर्णयमा उल्लेख भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। 

आकस्मिक बैठकले शित लहरमा विपन्न र गरिबलाई बचाउन न्यानो कपडा वितरण गर्ने तथा भण्डारण गरिराख्ने, दाउरा तथा औषधिको जगेडा पनि पहिले नै गर्ने र आवश्यक जनशक्ति पनि तयारी अवस्थामा रहने जस्ता निर्णय गरेको जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.