|

लमजुङ : गुरुङ जातिको आदिम थलो क्व्होलासोँथर। त्यही आदिम थातथलोको मणि घलेगाउँ नेपालको पहिलो ‘स्मार्ट भिलेज’ बनेको छ। तमुहरूको महान पर्व फो–ल्हो ल्होछार वर्ष २०७५ को अवसरमा घलेगाउँलाई नेपालको पहिलो स्मार्ट भिलेज घोषणा गरिएको हो।

‘पहिलेदेखि होमस्टे (घबास)मा चर्चा कमाएको घलेगाउँलाई ‘स्मार्ट भिलेज’ बनाउन विश्वस्तरबाट नै पहल भएको हो।’ गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘स्मार्ट भिलेजलाई निन्तरताका लागि स्थानीय उत्पादनलाई अझ वृद्धि गर्नुहोस्। आधुनिकता र प्रविधिमैत्री बन्न जरुरी छ।’

स्मार्ट भिलेजको शुभारम्भ गर्दै राष्ट्रिय कलाकार भीमु गुरुङ र पृथ्वी गुरुङको स्वरमा निर्माण गरेको घलेगाउँको गीतमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ छमछमी नाचे।

स्मार्ट भिलेजका लागि होमस्टे सञ्चालनदेखि नै स्थानीय र अर्गानिक खानामा जोड दिएको होमस्टे सञ्चालक शान्ता गुरुङले बताइन्। ‘गाउँलाई ‘स्मार्ट भिलेज’ निर्माणका लागि घलेगाउँवासीले दैनिक १५ मिनेट समुदायको सरसफाइमा जुटे’, क्व्होलासोँथर गाउँपालिका अध्यक्ष तथा पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले भने, ‘हाम्रो गाउँ ‘स्मार्ट भिलेज’ बन्यो भनेर हामी खुशी त छौँ तर हामीलाई राज्यले जिम्मेवारी थप गरिदिएको छ।’

दैनिक १५ मिनेट सरसफाई ‘स्मार्ट भिलेज’ को अडिलो खुराक बन्न पुग्यो। दक्षिण एशियामै कहलिएको गाउँको नाम घलेगाउँ, जिल्लाको पहिलो होमस्टे (घरवास) घलेगाउँ, सार्क राष्ट्रकै नमूना गाउँको पहिचान कमाउन सफल घलेगाउँ २०५७ सालमा २० घरमा २/२ जनाको दरले ४० जना पर्यटकको क्षमताबाट होमस्टे (घरबास) शुरु गरेको थियो। अहिले पर्यटन प्रवर्द्धन गर्दै होमस्टे कार्यक्रम सञ्चालनमार्फत् ३२ घरमा होमस्टे सेवा सञ्चालित छ।

होमस्टे र नमूना गाउँको स्यावासी पाएको घलेगाउँ मुलुकका धेरै गाउँवस्तीका उदाहरण बन्यो। यद्यपि सकारात्मक ईख बोकेका घलेगाउँवासीलाई यतिले मात्रै पुगेन। गाउँको क्रमगत विकासको दौरानमा ‘स्मार्ट भिलेज’ को अवधारणालाई निरन्तरता दिँदै घलेगाउँले नेपालको पहिलो ‘स्मार्ट भिलेज’ सम्मको पदवी प्राप्त गर्‍यो।

कसरी भयो ‘स्मार्ट भिलेज’ को 'मास्टर प्लान'?

होमस्टेसँगै पर्यटकीय गन्तव्यको विकासका लागि ‘स्मार्ट भिलेज’ महत्वपूर्ण भएको अध्यक्ष घलेले बताए। ‘आवश्यक मापदण्ड कायम गर्दै गाउँमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई थप गुणस्तरीय सेवा प्रवाह गराउने उद्देश्यले ‘स्मार्ट भिलेज’ को अवधारणा ल्याइएको हो।’

नेपालको पहिलो होमस्टे स्याङ्जाको सिरुवारीबाट सिकेको शिक्षालाई स्थानीय समाजसेवी प्रेम घलेले घलेगाउँमा लागू गरेका थिए। त्यसपछि घलेगाउँ ग्रामीण पर्यटकीय नमूना गाउँ बनेको थियो। ‘स्मार्ट भिलेज’ को मास्टर प्लानको पिपिरो होमस्टेको शुरुवात थियो।

किन जान्छन् पर्यटकहरू घलेगाउँ ?

हिमालको मनोरम दृष्य पर्यटक लोभ्याउने मुख्य कुची बनेको हो। पर्यटक आँखा अगाडिको हिमालको दृष्यमा फोटो खिच्न मन पराउँछन् । मनोरम दृष्यका फोटो र भिडियोहरू मोबाइल र क्यामारामा कैद गर्नका लागि पर्यटक घलेगाउँ जाने गर्दछन्। त्यसमा पनि संस्कार, संस्कृति र स्थानीय उत्पादन पर्यटकको रोजाइ बनेको छ।

कहाँ बस्छन् यतिका पर्यटक?

‘स्मार्ट भिलेज’ को अवधारणासँगै घलेगाउँमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्यो। दलित समुदायमा अवस्थित २ घर होमस्टेसहित ३२ घरमा होमस्टे सेवा सञ्चालन भएको छ। बढी पाहुनाहरू आएमा सबैजसो घरमा र स्कुल तथा सामुदायिक भवनमा समेत वासको व्यवस्था स्थानीयले मिलाउने गरेका छन्।

दलित समुदायमा होमस्टे सञ्चालन गरेर अन्यत्र नभएको उत्कृष्ट र सन्देशमुलक कार्य घलेगाउँले गरेको लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामकुमार श्रेष्ठले बताए। ‘स्मार्ट भिलेज’ बनाउने अभियानसँगै यसै वर्ष गाउँका १२० घरमा उस्तै देखिने गरी हल्का रातो रंगको जस्ताले छाना छाइने तय भएको ग्रामीण पर्यटन विकास समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए। ‘घलेगाउँ क्षेत्रको भौतिक संरचनाको विकासका लागि समेत पहल भईरहेको छ', उनले भने।

‘स्मार्ट भिलेज’ बनाउने स्थानीयको ऐक्यवद्धता

‘मियो दह्रो भएमा दाइँ सफल हुन्छ’ भने झै स्थानीय अगुवा प्रेमबहादुर घले गाउँको पर्यटन प्रवद्धर्नमा अडिग भए। राम्रो कामको शुरुवातका लागि समुदायले पनि निन्तर साथ दिइरहे। घलेगाउँलाई थप व्यवस्थित, सुन्दर र आर्कषक बनाउन विभिन्न ६ वटा उपसमितिसमेत गठन भएको थियो, समित अहिलेसम्म क्रियशील छ। उपसमितिले घलेगाउँको विकास, प्रचार–प्रसार र प्रवर्द्धनमा टेवा पुगेको स्थानीय आशवीर घलेले बताए।

घलेगाउँ पर्यटन विकास समितिका अनुसार संस्कृति उपसमिति, सरसफाई उपसमिति, खानेपानी व्यवस्थापन उपसमिति, ६ वटा टोलहरुमा टोल सुधार समिति, सबै टोलमा पशु चौपाय व्यवस्थापन उपसमिति र होमस्टे अनुगमन उपसमिति गठन गरिएको थियो। गुरुङ भाषामा नै समितिले ६ वटा टोलसुधार समितिको नामकरण गरेका छन्।

गजबहादुर गुरुङको संयोजनमा नासरे टोल, पूर्णबहादुर गुरुङको संयोजनमा फन्ग्यु टोल, तीर्थराज गुरुङको संयोजनमा को टोल, उत्तमराज घलेको संयोजनमा फौजु टोल, यमप्रसाद घलेको संयोजनमा खोडा टोल र झविलाल विकको संयोजनमा दलित समुदाय टोलसुधार समिति गठन गरेका छन्। टोलसुधार समितिले ने पशु चौपाय व्यवस्थापन समितिको जिम्म पाएको छ।

त्यस्तै, बुद्धिजंग गुरुङको संयोजकत्वमा खानेपानी व्यवस्थापन उपसमिति, नौरास घलेको संयोकत्वमा सांस्कृतिक उपसमिति, दुर्गादेवी घलेको संयोजकत्वमा सरसफाई उपसमिति र पूर्णबहादुर गुरुङको संयोजकत्वमा अनुगमन उपसमिति निर्माण गरिएको पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर बिकले बताए। प्रत्येक समितिमा ७ जना सदस्य रहेको छन्। पर्यटकले गुनासो गर्ने स्थान नपाउन् भन्ने उद्देश्यका साथ उपसमिति उपसमिति गठन गरिएको सचिव बिकले बताए।

होमस्टेको परिकार

घलेगाउँको होमस्टेमा स्थानीयस्तरमा उत्पादन भएका वस्तुहरू उपभोग हुने होमस्टे सञ्चालक पुतलीकाशी घलेले बताइन्। खानाका परिकारहरूमा सिस्नोको फाँडो, टिमुरको अचार, मासु, भात, ढिंडो, बारीमा फलेको आलु, लोकल चामल हुन्। पारिवारिक वातावरणमा बसेर खान पाइने हुँदा पर्यटकहरू पनि मोहित हुने र होमस्टेप्रति आकर्षित बन्ने गरेका छन्।

घलेगाउँको पर्यटकीय स्थल

समुन्द्री सतहदेखि २१ सय मिटरको उचाइमा अवस्थित घलेगाउँबाट टाढासम्म दृष्यावलोकन सूर्योदयको अवलोकन गर्न सकिन्छ। आँखै अगाडि टल्किएको हिमालले पर्यटकलाई मोहनी लगाउँछ। गाउँमा रहेको उत्तरकन्या देवीको मन्दिर र कुवाले गाउँलाई आकर्षक बनाएको छ। देवीको मन्दिरका मूर्तिहरू उत्तर दिशातर्फ फर्किएको हुँदा यसअघि साविक गाविसको नाम पनि घले उत्तरकन्या राखिएको सो वडाका वडा अध्यक्ष खड्कसिङ गुरुङले बताए। यस्तै गुरुङ र घले राजाको बगैंचा, गुरुङ जातिको हस्तकला, चिया बगानसमेत अवलोकन गर्न पाइन्छ।

घलेगाउँको संस्कार र संस्कृति

संस्कार र संस्कृतिमा घलेगाउँ धनी छ। गुरुङ जातिको संग्रहालयले क्व्होलासोँथरको झल्को दिन्छ। गाउँमा आउने पर्यटकहरूका मनोरञ्जनका लागि घलेगाउँवासीले अपरम्परागत पहिरनमा सजिएर गुरुङ संस्कृतिमा आधारित घाँटु, कृष्ण चरित्र, झ्याउरे, सोरठी नाँच, घ्याब्रे नाच पस्कन्छन्। साँस्कृतिका नाच र गानसँगै पर्यटकहरू सहजै रमाउन र घुलमिल हुन्छन्।

घलेगाउँ पहुँचमार्ग

सदरमुकाम बेसीसहरबाट तीनवटा मार्ग हुँदै घलेगाउँ आवतजावत गर्न सकिन्छ। पहिलो मार्ग बेसीशहरदेखि बाग्लुङ्पानी, कपुरगाउँ हुँदै घलेगाउँ, दोश्रो मार्ग बेसीशहरदेखि सिम्पानी, भलामचौर हुँदै घलेगाउँ र तेश्रो मार्ग बेसीशहरदेखि खुदी, रोपलेफाँट, नायुँ हुँदै घलेगाउँ पुग्न सकिन्छ। यातायात सेवाबाट साँढे २ देखि ३ घण्टा र पैदल यात्रामा ६ देखि ७ घण्टामा घलेगाउँ पुग्न सकिन्छ। अहिले घलेगाउँमा इन्टरनेटको सुविधा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.