|

पर्वत : गुणस्तरीय शिक्षाको खोजीमा अभिभावकहरू बालबालिका निजी विद्यालयमा पढाउन मरिहत्ते गर्छन्। शहरको कुरा छाडौँ, गाउँकै सामुदायिक विद्यालयहरुमा समेत विद्यार्थी पाउन मुस्किल छ, अचेल। बालबालिकाहरू धमाधम निजी विद्यालयमा सर्दा सामुदायिक विद्यालय रित्तिएका छन्। कतिपय सामुदायिक विद्यालय गाभिने क्रममा छन्।

तर पर्वतको बिहादी गाउँपालिका सन्दर्भमा भने यो कुरा लागू हुँदैनन्। सामुदायिक विद्यालयका कारण निजी विद्यालयलाई विद्यार्थी पाउन नै मुस्किल भएको छ। सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमको पढाइ सुरु गरेपछि पछिल्ला दिनमा निजी विद्यालय नै ‘मर्ज’को अवस्थामा पुगेका छन्।

गाउँपालिकाले कक्षा एकदेखि तीनसम्म सबै विद्यालयमा अंग्रेजी माध्यम अनिवार्यगरेको छ। चालू शैक्षिकसत्र देखि गाउँपालिकाका ३२ सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाउन थालिएको छ। सकी नसकी निजी विद्यालयमा बालबालिका भर्ना गराएका अभिभावकले पनि छोराछोरीलाई सामुदायिक विद्यालयमा सारेका छन्। 

सामुदायिक विद्यालयमा विद्यार्थी नआउने र अंग्रेजी पढाउनकै लागि अभिभावकले बालबालिका बोकेर बजार झर्न थालेपछि एकै पटक सबै विद्यालयमा अंग्रेजी माध्यममा पढाउन शुरु गरिएको गाउँपालिकाका गाउँ शिक्षा अधिकृत कृष्णप्रसाद आचार्यले बताए। ‘सामुदायिक विद्यालय खाली हुँदै गएपछि सुधारका लागि अंग्रेजी माध्यममा पढाउन थालेका हौँ’, उनले भने ‘त्यसको प्रभाव अहिले नै देखिन थालेको छ, सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढेको छ।’ 

गाउँपालिकाले विद्यालयहरुमा अंग्रेजी माध्यममा पढाउन सुरु गरेपछि बिहादी २ बर्राचौरमा कक्षा ३ सम्म सञ्चालनमा रहेको बिहादी बोर्डिङ स्कुल यसै वर्ष बन्द भएको छ। उक्त विद्यालयका सबै विद्यर्थी नजिकै रहेको आम्बारी माविमा सरेपछि निजी विद्यालय बन्द भएको आम्बारी माविका प्रधानाध्यापक गणेश पौडेलले बताए।

आम्बारीमा कक्षाकोठा अभाव भएका कारण प्रावि तहको पठनपाठनका लागि बन्द भएको बिहादी बोर्डिङ स्कुलकै पाँचवटा कोठा प्रयोग गरिएका छन्। यस्तै, निजी विद्यालयमा अध्ययनरत विद्यार्थी वडा नं. १ बाच्छाको जनकल्याण माविमा सरेपछि त्यहाँ रहेको निजी विद्यालय पनि विद्यार्थी अभावमै बन्द हुने अवस्थामा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.