फिचर

अस्तित्व संकटमा हायु
SHARES

पुस १६, २०७५

    उदयपुर : विभिन्न जातजातिको भाषाभाषी, संस्कार, संस्कृति भएको नेपाली समाजमा हायु जाति पनि एक हो। सबै जातजातिका भाषाभाषी, संस्कार, संस्कृति, परंपरा संरक्षणमा सरकार नै जुटेको छ। लोपोन्मुख जातिहरूमध्ये हायु बदलिँदो परिवेशमा हराउँदै गएको छ। उदयपुर बसोबास गर्ने त्यही हायु जाति भाषा, धर्म, संस्कार, संस्कृतिको खोजीमा छन्। उदयपुरको कटारी नगरपालिका- ११ स्थित सिरवानीमा पाँच घर हायु जाति छन्। टिन र खरको छानो भएका घर छन्। त्यही घर नजिकै गाईभैँसी पाल्दै कृषि पेसामा आवद्ध छन्।

    त्यही हायु बस्तीका पूर्व नेकपा एमाले उदयपुरका जिल्ला किमिटी सदस्य अन्नत हायुले भाषा, धर्म, संस्कार, संस्कृति नै हराउँदै गएको गुनासो गरे। ‘नेपालका हामी छुट्टै धर्म, संस्कार, संस्कृति र परंपरा भएका जाति हौँ’, उनले भने, ‘हाम्रो संख्या देशमै थोरै भएकाले सबै कुरा हराउँदै गयो।’

    एक हायु गोत्रबाट अर्को हायु गोत्रमा विवाह हुँदैन

    घर वरिपरि बारीमा कोदो, मकैको खेती गर्छन् हायु। अघिल्लो पुस्ता हेर्दा जनजातिझैँ लाग्ने र पछिल्लो पुस्ताका केटाकेटी हेर्दा क्षेत्री ब्राह्मण वर्णका छन्। अत्यन्तै न्यून संख्यामा भएकाले केही वर्षयता हायु जातिमा आफ्नो जातिको फरक गोत्रमा विवाह हुन पाएको छैन।

    यसले गर्दा वंश नै क्षेत्री ब्राह्मण समुदाय जस्तै बन्दै गएको बताइन्छ। ‘हायुको मागी विवाह गर्ने चलन हट्दै गएको छ’, कटारी- ११ कै ५० वर्षीय जीतबहादुर हायुले भने, ‘अन्तरजातिमा प्रेम विवाह गर्ने चलन बढेकाले हायु जातिको अस्तित्व लोप हुने भयो।’ सिरवानीमा बालुङलोचा दुई घर र कमालोचा तीन घर छन्। यी दुई गोत्रबीच विवाह हुँदै आएको थियो। ‘एकअर्कामा विवाह गर्दै आएका थियौँ’, उनले भने, ‘मावली साइनोले अहिले विवाह गर्न फरक जातिमा पुगेका छौँ कि खोज्दै हिँड्न थालेका छौँ।’

    अधिकांश हायु समुदायमा अन्तरजातीय विवाह हुने गरेको छ। यता, त्रियुगा नगरपालिकामा पनि ईश्वरीया नाँखु जातिको बसोबास छ। लोपोन्मुख जातिमा पर्ने यो जातिको आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति छन् तर ती सबै लोप हुने अवस्थामा पुगेको जीतहबादुरको भनाइ छ।

    जिल्लामा हायुको संख्या ५९

    उदयपुरमा कटारी नगरपालिका- ११ मा पाँच घरमा ४९ जना र त्रियुगा नगरपालिकामा एक घरमा १० गरी जम्मा ५९ जना मात्र हायु जाति छन्। आफ्नो मातृ भाषाको संरक्षण गर्न र जन्म, विवाह र मृत्यु संस्कार चलाउनसमेत उनीहरूलाई संकट पर्दै गएको छ।

    पाँच घर परिवारमा सीमित रहेको हायु जातिमा आफ्नै जातिको पर्याप्त जनसंख्या छैन। भएकाहरूमा पनि अन्य जातीय प्रभाव परेका कारण भाषाको संरक्षण गर्न र जन्म, विवाह र मृत्यु संस्कार परिवर्तन गर्दै गएको अगुवा हायुको भनाइ छ। जीतबहादुर हायु भन्छन्, ‘छोरा या छोरीको विवाह आफ्नै समुदायको फरक गोत्रमा गराउन छिमेकी जिल्ला रामेछाप, सिरहा, भोजपुर, सिन्धुली, काभ्रे, ओखलढुंगा जानुपर्छ।’

    यसरी हायु जाति संकटमा पुग्यो

    त्रियुगा नगरपालिका- १० का बद्री हायु हायु जातिको भाषा, संस्कार र संस्कृतिको विषयमा जानकारी नहुँदा अन्य जाति र समुदायकै भाषा, संस्कार र संस्कृति नै प्रचलनमा आएको बताउँछन्। ‘न्वारान, विवाह र मृत्यु संस्कार ब्राह्मण, क्षेत्रीको जस्तै हुँदै आएको छ’, ५६ वर्षीय बद्री हायुले भने, ‘आफ्नो भाषा, संस्कृति र संस्कार भए पनि न्यून संख्याका कारण संस्कारअनुसार गर्न सकिएको छैन।’

    भेषभूषा, भाषा, संस्कार र संस्कृतिको प्रयोग हुन नसक्दा हायु जातिको अस्तित्व संकटमा परेको देखिन्छ। उनका अनुसार किरात धर्मअनुसारको संस्कार संस्कृति नै हायु जातिको हो। ‘किरात, लिम्बू, सुनुवारको कान्छो भाइ जाति हायु हो’, उनले भने, ‘कतै हायुले हायु राई भन्दै आएका छन् भने कतै हायु मगर भनेर नागरिकतामा लेखाउँदै आएको पाइन्छ।’

    बद्री हायुका दुई छोराले पनि राजेन्द्र हायु राई र मीनकुमार हायु राई लेखाएको गुनासो गरे। ‘हायु भन्ने जाति नै अनौठो लागेकाले जुन जातिको बाहुल्य छ’, उनले भने, ‘त्यही जातिको जातमा हायु जोडेर लेख्ने चलनले पनि हायु लोप हुने भयो।’

    हायु अगुवाको माग

    सरकारले हायु जातिलाई लोपोन्मुख जातिको सूचीमा राखेर मासिक प्रति व्यक्ति दुई हजार रुपैयाँ विशेष भत्तासमेत दिँदै आएको छ। मंगोल महावंशको किरात समुदायअन्तर्गत पर्ने हायु जाति उदयपुर, सिरहा, भोजपुर, सिन्धुली, काभ्रे, ओखलढुंगा, सर्लाही र रामेछाप जिल्लामा छरिएर बसेको हायु एकता समाज उदयपुरकी उपाध्यक्ष सरिता हायु बताउँछिन्। ‘अत्यन्तै न्यून संख्यामा रहेका कारण यो जातिका भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणमा कसैले पनि खासै ध्यान दिएको पाइँदैन’, सरिताले भनिन्, ‘पछिल्लो समय छाएको शैक्षिक ज्ञान र जागरणले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने चेतना हायु जातिमा आएको पाइन्छ।’

    शिक्षा, स्थास्थ्य, सडक, खानेपानी जस्ता पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर हाम्रो भाषा, संस्कार र संस्कृतिको संरक्षणमा राज्यको ध्यान दिनुपर्छ’, ३७ वर्षीया सरिताले भनिन्, ‘अत्यन्तै थोरै जनसंख्या रहेको हाम्रो जाति यो देशको सम्पत्ति हो।’ २०६८ सालको जनगणनाअनुसार नेपालमा एक हजार ८०० हायु जातिको जनसंख्या छ।

    के हो हायु जाति?

    हायु जातजातिको मुख्य बसोबास रामेछाप जिल्लाको सुकाजोरमा पर्ने मुराजोर भन्ने ठाउँमा छ। कुन ठाउँबाट यिनीहरू यो ठाउँमा बसाइँ आएका हुन् भन्ने यकिन नभएको हायु एकता समाजकी उपाध्यक्ष सरिता हायु बताउँछिन्। बुढापाकाहरूको भनाइअनुसार उनीहरू एउटा बाजा बोकेर समूहमा यात्रा गर्ने क्रममा रामेछापको सुगाजोर आइपुग्दा आफूले बोकेको बाजा अकस्मात् बजेकाले देवताहरूको संकेत ठान्दै त्यही स्थानमा बसोबास गर्न थालेका हुन्।

    त्यसपछी कागुनेको बिउ छरेर उनीहरूले जीविकोपार्जन गर्दै आएका छन्। हायुहरूको शारीरिक बनावट, मध्यम कद, कालो कपाल भएको मंगोल नश्ल जस्तै छ। झट्ट हेर्दा हायुहरू साह्रै सोझा देखिन्छन्। हायुहरूको थर अनौठो भएका कारण अवसर गुमाउनुपर्ने बाध्यताका कारण थर नै परिवर्तन गर्नुपर्ने स्थिति भएको बताउँछन्। विर्तामा पाएको जग्गाका (अहिले भोगचलनमा नभएको) कारण हायुहरूको आर्थिक अवस्था धेरै गतिलो छैन। तर गरिबी र अभावमा बाँचेका हायुहरूलाई देश विकासको मूलधारमा ल्याउन नसकेको प्रष्टै देखिन्छ। पढेलेखेकाले जागिर खानुपर्छ भन्ने मान्यता बोकेका हायुहरूले निजामती सेवामा हायुको पछि विभिन्न जातिको थर लेखेका छन्।

    हायुको बारेमा यसो भन्छन् स्थानीय सरकार

    हायु जातिमा चेतनाको अझ विस्तार गर्दै उनीहरूको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने कार्यक्रम तयार गर्न लागेको कटारी नगरपालिका- ११ का वडाध्यक्ष दीपक बुढाथोकीले बताए। ‘हायु जातिको चेतना विस्तारसँगै भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र आर्थिक सामाजिक विकासमा नगरपालिकाले कार्यक्रम तयार गरेको छ’, वडा अध्यक्ष बुढाथोकी भन्छन्, ‘लोपोन्मुख जाति भएकाले हायु जातिको उत्थानमा स्थानीयस्तरमै विभिन्न कार्यक्रम सुरु गरिएको छ।’

    कृषि क्षेत्रमा अनुदान र शिक्षामा विशेष सुुविधा थप्नुपर्ने उनको भनाइ छ। ‘विविध जातजाति, भाषाभाषी, संस्कार र संस्कृतिको संरक्षणमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहन्छ’, कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले भने, ‘भाषा, संस्कार र संस्कृति जस्ता साझा सम्पत्तिको संरक्षण गर्न सकेमा मात्रै स्थानीय तहको विकासले सार्थक रूप लिने भएकाले हामीले हायु जातिको भाषा, संस्कार र संस्कृति संरक्षणको योजना बनाएका छौँ।’ हायु जातिको संरक्षणसँगै चेतनाको स्तरसमेत वृद्धि हुने खालका कार्यक्रम वडा तहबाटै संचालन गर्दै जाने उनको भनाइ छ।

विदुर कटुवाल

कटुवाल थाहाखबरका उदयपुर संवादाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]