स्थायी कमिटीमा उठेका विषयको समाधान गर्न कार्यदल बनाउन प्रचण्डको प्रस्ताव

|

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार आफ्नो धारणा राखेका छन्। स्थायी कमिटी बैठकको पहिलो दिन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले प्रस्तुत गरेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले उठेका प्रश्नको समाधान गर्न छुट्टै कार्यदल बनाएर जानुपर्ने प्रस्ताव राखेका छन्।

तर यस प्रस्तावबारे भने बिहीबार बस्ने स्थायी कमिटीको बैठकले टुंगो लगाउनेछ। बुधबार बिहान ८ बजेदेखि शुरु भएको बैठक पौने ११ बजे सकिएको थियो। बैठकमा अध्यक्ष प्रचण्डले सैद्धान्तिक, राजनीतिक, वैचारिक विषयलाई बढी जोड दिएका छन्। उनले सरकार र पार्टी सञ्चालनको कार्यलाई एकत्रित गरेर जानुपर्नेमा जोड दिएका छन्।

बैठकमा अध्यक्ष प्रचण्डले सरकारले पार्टी चलाउने नभएर पार्टीले सरकार चलाउनुपर्ने भन्दै त्यसका निम्ति बृहत् छलफल गरेर जानुपर्ने बताएका छन्। सरकार र पार्टीको सम्बन्धलाई कसरी परिभाषित गर्ने? भन्ने बारेमा छलफल गरेर जानुपर्ने उनको भनाइ रहेको नेता रघुजी पन्तले जानकारी दिए। 'मुलतः सरकारले पार्टी चलाउने होइन पार्टीले सरकार चलाउनुपर्छ। त्यो कुरालाई ध्यानमा राखेर अगाडि बढ्नुपर्छ', अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै नेता पन्तले भने, 'संसारमा जहा पनि पार्टीले सरकार चलाउने हो। त्यहीअनुसार हामी अगाडि बढ्नुपर्छ।'

सरकार सञ्चालनका अन्तर्राष्ट्रिय मान्यता र दृष्टान्त पस्कँदै अध्यक्ष प्रचण्डले सरकारले पार्टी सञ्चालन गर्नु पर्ने धारणा राखेका छन्। 'सरकार र पार्टीलाई अलगअलग गरेर हुर्नुहुँदैन, द्वन्द्वात्मक रूपमा बुझ्नुपर्छ', अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै नेता पन्तले भने 'पार्टीले सरकार सञ्चालन गर्नुपर्छ। सरकारले पनि पार्टीबाट सहयोग, मद्दत लिनुपर्छ।'

सरकार र पार्टी सञ्चालनमा कतिपय कमजोरी भएको स्वीकार गर्दै उनले यसको मिलेर समाधान गर्नुको विकल्प नरहेको समेत बताए। 'कतिपय कमजोरी र त्रुटि भएका छन्', उनले भने, 'तथापि हामीसँग सच्चिनुको विकल्प छैन। हामी सच्चिन्छौँ।'

बैठकमा दुई घण्टा लामो भाषण गरेका अध्यक्ष प्रचण्डले पार्टीभित्रका गुटहरूको विघटन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। पार्टी एकतापछिको परिस्थितिमा पनि हिजोकै मूल्यमान्यता र दृष्टिकोणबाट पार्टी चलाउन नहुने बताउँदै पुराना गुट, विचार समूहका नाममा हुने गतिविधिले जरा टेकिनसकेको पार्टी कमजोर हुने प्रचण्डले निष्कर्ष निकालेका छन्। 'एमाले माओवादी केन्द्र एकीकरण भएर नेकपा बनिसकेको छ, हिजोकै गुट, विचार र अलगअलग पार्टीमा मूल्य र आँखामा नेकपाको आन्दोलनलाई बुझ्नुहुँदैन,' प्रचण्डकोको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने।

जारी स्थायी कमिटी बैठक आफूलाई स्कुल भएको बताउँदै सबै स्थायी कमिटी सदस्यको मनभित्र पस्न पाएको र विचार र भावनाको गहिराइमा पुग्न पाएको विचार व्यक्त गरेका छन्।

बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले अनेक धम्कीका बीचमा पनि पार्टी एकतालाई सम्पन्न गरेको बताएका छन्। अन्तर्राष्ट्रिय, राष्ट्रिय परिस्थितिको वस्तुगत विश्लेषण गर्दै पार्टी एकता भएको बताउँदै प्रचण्डले पार्टी एकता नेतृत्वको मनोगत आग्रहका रूपमा मात्रै बुझ्नुनहुनेमा जोड दिएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए।

'दुई पार्टी एकता गर्ने तयारी थाल्दा विभिन्न पदीय प्रलोभन देखाइयो, त्यो प्रलोभनमा नफस्ने चाल पाएपछि धम्क्याउन थालियो,' प्रचण्डको भनाइ उद्धृत गर्दै नेता भट्टराईले भने, 'विभिन्न धम्कीहरु आए। अध्यक्ष, प्रधानमन्त्री बनाउछौ सम्म भने। तर हामीले दुई पार्टी मिल्नुको विकल्प छैन भनेर एकतालाई सम्पन्न गर्यो।'

अहिले निकै पेचिलो अवस्थामा पार्टी एकता र सरकार गठन भएको भन्दै अध्यक्ष प्रचण्डले एकतालाई धरापमा पार्ने, कमजोर तुल्याउने काम पार्टी भित्र र बाहिरबाट भइरहेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन्।

बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र व्यक्तिवाद हावी भएको सदस्यहरूको टिप्पणी स्वीकार्दै पार्टीमा सामुहिक नेतृत्वसीप, निर्णयसीप र व्यक्तिगत उत्तरदायित्वको भावना विकास गर्नुको विकल्प नरहेको जिकिर गरे।

सदस्यहरूले राजनीतिक प्रतिवेदनमाथि दिएका सुझाव, टिप्पणी समेटेर राजनीतिक प्रतिवेदनलाई परिमार्जन गर्नुपर्ने, स्थायी कमिटी सदस्यहरूबाट आएका सुझावलाई हार्दिकतापूर्वक ग्रहण गर्दै त्यसलाई पार्टीको सम्पत्ति बनाउनुपर्नेमा जोड दिएका थिए।

प्रचण्डले सदस्यहरूको मनोभावनाको सम्बोधन गरेको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए। 'अध्यक्ष प्रचण्डको सम्बोधनले धेरै कुराको सम्बोधन गरेको छ,' नेतम खनालले भने, 'पार्टी र सरकार सञ्चालनका क्रममा उठेका धेरै कुराको सम्बोधन भएको छ।'

सरकार र पार्टी सञ्चालनको क्रममा उठेका प्रश्नको निरुपण, राजनीतिक प्रतिवेदनका बारेमा सदस्यहरूले दिएका सुझाव र टिप्पणी समेटेर पार्टी र सरकारको कामलाई गति दिन प्रचण्डले कार्यदल गठनको प्रस्ताव गरेको उनले बताए। 'अहिले देखिएका सबै समस्या समाधान गर्न कार्यदल गठन गर्ने उहाँ (पुष्पकमल दाहाल)को प्रस्ताव छ,' खनालले भने।

बिहीबार अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि बैठकले कार्यदल गठन गर्ने स्थायी कमिटी सदस्य किरण गुरुङले जानकारी दिए। 'अध्यक्षद्वयको मनशाय बिहीबार नै बैठक टुंग्याउने भन्ने छ। कार्यदल नबनाइ यत्राविधि समस्याका समाधान स्थायी कमिटीको बैठकले मात्रै गर्न सक्दैन,' गुरूङले भने।

राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले उठाएको प्रश्नको जवाफ अर्का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिनेछन्।बैठक दिउँसो ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.