ट्राफिकलाई दिनुपरेकाले बढी भाडा लिएका हौँ :  अटोरिक्सा चालक

|

उदयपुर : पछिल्लो समय उदयपुरमा तीनपांग्रे अटोरिक्साका चालकले मनलाग्दी भाडा दर कायम गरेर पैसा असुल्ने गरेका छन्। सानो तथा छोटो दुरीको लागि उपयुक्त मानिने अटोरिक्सा हो। त्यही रिक्सा चालकले यात्रु हेरेर भाडा असुल्ने गरेका हुन्।

उदयपुरको कटारी, गाईघाट, नेपालटार, बेल्टार, रामपुर, मैनामैनी, घुर्मी लगायतका बजारी क्षेत्रमा अटो रिक्साको प्रयोग बढ्दो छ। एक प्रकारले जीवीकोपार्जन गर्ने माध्यम अटो रिक्सा बने पनि भाडादर निर्धारण चालक आफैँले गर्दा यात्रा गर्ने सर्वसाधारण मारमा परेको बताउँछन्। बजार क्षेत्र र समथर भित्री मधेसमा अटो रिक्सा चालकले यात्रु ठग्ने गरेको गुनासो बढ्दै गएको छ।

दुई किलोमिटरको १००

गाईघाट बजारका नजिकका गाउँ पुग्न अटो रिक्सा प्रयोग हुने गर्छ। अनि तिनै अटोरिक्सा चालकले मनपरी भाडा लिने गरेको स्थानीय शिव दाहाल बताउँछन्। ‘गाईघाटको पिजीचोकबाट बोक्से पुगेको एक जनाको एकसय रुपैँया लिए,’ दाहालले भने, ‘पीजि चोकबाट जम्मा दुई किलोमिटरको दुरीको भाडा एक सय तिर्नुपर्छ।’

गाईघाट बजार क्षेत्रमा मात्र होईन। मोटर साईकलको इन्जिन भएको अटो रिक्साले  गाईघाटबाट ७ किलोमिटर दुरीमा रहेको अधेँरीबाट गाईघाटसम्म आउँदा एक हजार दुई तिर्नुपरेको होमबहादुर बस्नेत बताउँछन्। ‘अटोरिक्सा हुँदै महँगो भएको छ,’ उनले भने, ‘श्रीमती र म अनि एउटा खसी बोकाएको एक हजार २ सय तिनुपर्‍यो।’

यता कटारी नगरपालिकाको कटारीबजारबाट बाँसबारी बजार २२ किलोमिटर दुरीमा पर्छ। कटारी बाँसबारी अटोरिक्सा भाडा चार हजारसम्म तिर्नुपरेको बाँसबारी हुतराज मगरले गुनासो गरे। ‘भनेको वेला सार्वजानिक यातयातका साधन भेटिँदैन,’ उनले भने, ‘अटो रिक्सा प्रयोग गर्‍यौँ भने भएभरको पैसा लिने गरेका छन्।’

बसमा ८० लाग्ने ठाउँमा एक हजार

कटारी र सिरहाको मिर्चैया २६ किलोमिटर दुरीमा पर्छ। सोही दुरीमा ठुला यात्रुवाहक सवारी साधनमा ८० रुपैँया मात्र भाडा लाग्छ। ‘बस, माईक्रोमा यात्रा गरे ८० रुपैँया मात्र भाडा तिर्नुपर्छ,’ मिर्चैयाका नेत्रकुमार यादवले भने, ‘एक जनाले मात्र अटो रिक्सामा यात्रा गरे एक हजार पाँच सयसम्म मैले तिरेको छु।’

ट्राफिकलाई दिनुपर्ने भएकाले बढी भाडा लिएका हौँ  अटोरिक्सा चालक

यात्रुले भाडा महँगो भयो भनेर विवाद गरे ट्रफिकलाई समेत पैसा दिनुपर्ने भएकाले महँगो भएको अटोरिक्सा चालकले भन्ने गरेका छन्। ‘हामीले पेट्रोलको पैसा उठाएर केही मुनाफा लिने हो,’ अटोरिक्सा चालक लक्ष्मण राउत भन्छन्, ‘धेरै अटोरिक्सा चालकहरूले लाइसेन्ससमेत हुँदैन, अनि मासिक रूपमा ट्राफिक प्रहरीलाई समेत पैसा दिनुपर्ने भएकाले भाडा महँगो लिइएको हो।’

अटोरिक्सा चलाएर स्वरोजगार बन्नेहरुको भिड लागेको छ। जसले गर्दा अधिकाँस अटोरिक्सा चालकले सवारी अनुमति पत्र लिएका छैनन्। अनि ट्राफिक प्रहरीलाई समेत मासिक रूपमा पैसा तिरेर चलाउने गरेको गुनासो अटो रिक्सा चालकको छ। ‘अधिकांश अटोरिक्सा चालकको सवारी अनुमति पत्र छैन,’ आफ्नो पनि सवारी अनुमति पत्र नभएकाले एक अटोरिक्सा चालकले नाम नलेखिदिने सर्तमा भने, ‘गाईघाटका अधिकांश अटोरिक्सा चालकले मासिक रूपमा ४ देखि ८ हजारसम्म ट्राफिकलाई दिनुपरेको छ।’

अटोरिक्सा व्यवसायीहरुको संघले सरल भाडा दर कायम गरे पनि सवारी अनुमति पत्र नभएकै कारण ट्राफिक प्रहरीलाई मासिक रुपमा पैसा दिनको लागि महँगो लिनुपरेको अटोरिक्सा चालकको भनाइ छ। ‘चालक र मालिक आफैँ हौँ,’ अटोरिक्सा चालक महेन्द्र ठाकुरले भने, ‘विदेशबाट आएर अटोरिक्सा चलाउन थालेका हौँ, सवारी अनुमति पत्र छैन, ट्राफिकलाई तिर्नुपर्छ, अनि अलिअलि महँगो त लिनुपरिगो नि।’

अटोरिक्साबाट पैसा असुलेको छैन : ट्राफिक

जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रमुख दिनेश चौधरीले ट्राफिक प्रहरीले कुनै पनि अटोरिक्साबाट पैसा असुल्ने नगरेको बताए। ‘हामीले गाईघाटबाट लामो दुरीमा यात्रा गराउने अटोलाई भेटे कारवाही गरिरहेका छौँ,’ उनले भने, ‘सवारी अनुमति पत्र नभएकाबाट कोही ट्राफिक प्रहरीले पैसा लिएको भए फिर्ता गरिदिन्छु।’ यात्रु नै ट्राफिक प्रहरीलाई गुनासो गर्न नआएको चौधरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.