|

'जात्रा' के हो ?

पैसाले समाजमा भित्र्याएको विकृतिमा आधारित चलचित्र हो 'जात्रा'। यो पुरै परिवार एकसाथ बसेर हेर्न मिल्ने भद्र नेपाली चलचित्र हो। 'पैसाको बोरा' वरिपरी चलचित्रका मुख्य ३ पात्र घुम्छन्। चलचित्र डार्क कमेडी जनरामा बनेको छ। चलचित्र हेरेर दर्शकले पुरापुर मनोरन्जन लिन सक्छन्।

'जात्रा' किन गरिन्छ ?

चलचित्रको कथावस्तुले भन्छ, समाजमा प्रेरणादायी काम गर्नेको सम्मानमा 'जात्रा' आयोजना गरिन्छ।

तर जात्राले कथाका मुख्य पात्रमाथि नमिठो व्यङ्ग्य गर्छ। चलचत्रिका मुख्य पात्र फणिन्द्र तिमसिना (विपिन कार्की) स्वाभिमानी हुन्छन्। काठमाडौं असनको भित्री गल्लीमा सानो स्टेशनरी चलाएर जीविकोपार्जन गर्ने फणिन्द्रको स्वाभिमानमाथि उनका ससूरा र साढूदाईले पटक-पटक प्रहार गर्छन्।

'काठमाडौंमा एउटा घर नहुने। १०-२० लाख रुपैयाँ ब्यालेन्स त मलाई मान्छे नै लाग्दैन।' यो डायलग ससूराको भूमिकामा देखिएका प्रकाश घिमिरेले ज्वाँईं फणिन्द्रको स्वभिमानमाथि प्रहार गर्न प्रयोग गर्छन्। असनको गल्लीमा व्यापार गर्ने फणिन्द्र र उनका साथी चलचित्रका मुख्य ३ पात्र हुन्।

फणिन्द्र- स्टेशनरी पसले। घरमा श्रीमती र सानो उमेरको छोरो छ। सम्पन्‍न ससुराली र साढुदाइ छन्। जसबाट बारम्बार खप्की खानुपर्छ। तर, उनको इमानदारिता देखेर सुन्दरी श्रीमती प्रभावित छिन्।

जयस- गल्लीभित्रको फेन्सी पसलमा व्यापार हुन छोड्यो। अनि 'पसल बिक्रीमा' भन्‍ने सूचना टाँसेको महिनौं भइसक्यो। घरबेटीबाले पैसा मागेको माग्यै। तनावको जिन्दगी।

मुन्‍ना- वैदेशिक रोजगारको कम्पनी खोलेर घाटामा परेको 'नाई'। जो असनमा शैलुन खोलेर बसेको छ र बारम्बार भनिरहन्छ, 'नाई नभन्‍नु ल!' घरबाट ठगिनेले पैसा माग्या माग्यै छन् पैसा पठाउ बुढा भनेर फोन गरिरहने बुढी।

पैसाको खडेरीले जीवन सुक्खा पारिरहेको बेला फणिन्द्रको स्टेशनरी बाहिर एकाबिहानै बोरामा पैसा भेटिन्छ। त्यसपछि उनको स्वाभिमानमा पहिरो जाने क्रम सुरु हुन्छ। कुनै समय भावनात्मक रहेका मुन्‍ना, जयस र फणिन्द्र अब 'पैसा पचाउन' जुट्छन्। उनीहरुको स्वाभिमान क्रमश: धुलो हुँदै जान्छ।

'मान्छेले कागजको पैसा बनायो। त्यही पैसाले मान्छेलाई कागज बनायो।', फणिन्द्रले यसरी डायलग बोल्दा दर्शक भावूक हुन्छन्। चलचित्रले यो गम्भीर विषयलाई कमेडी जनरामा उठाएको छ।

पैसाको लोभले आम मानिसमा आइलाग्‍ने समस्यालाई चलचित्रमा कलात्मक ढंगले देखाइएको छ। घरमा बालबच्चा, श्रीमती अनि आफन्त। उनीहरुलाई लालनपालन गर्नुपर्ने। आफन्तका सामु सान देखाउनुपर्ने। त्यसैले पैसाले तनाव थप्दै जान्छ। पात्रहरुको खोक्रो स्वाभिमानमाथि धावा बोल्छ।

पशुपति प्रसाद चलचित्रमा 'भस्मे डन' बनेका विपिन कार्की फणिन्द्रको भुमिकामा मज्जाले जमेका छन्। रंगमञ्चमा लामो समय काम गरेका विपिन जस्तोसुकै भूमिकालाई पनि न्याय गर्न सक्ने कलाकार हुन् भन्ने पुष्टी गर्न अब अर्को चलचित्र कुर्नु नपर्ला। यसअघि 'छड्के' र 'कालोपोथी' चलचित्रमा पनि उनले दमदार अभिनय गरेका थिए।

'नाई नभन्‍नु ल ४',' छक्का पन्जा' लगायतका चर्चित चलचित्रमा अभिनय गरेकी वर्षा राउतले यस चलचित्रमा आफ्नो सुन्दरताभन्दा ज्यादा अभिनय पस्केकी छिन्। उनको अभिनय जिवन्त छ। छोराकी आमाको भूमिकामा पनि ग्ल्यामर पस्कन सक्नु वर्षाको अर्को विशेषता हो।

'टलकजंग भर्सेज टुल्के' चलचित्रका बाबुसाहेबको छोरा तथा 'पशुपतिप्रसाद' का ''हनुमानजी' यस चलचित्रमा साँचो प्रेम गर्ने 'जयस' को भूमिकामा अब्बल छन्।

'नाई' मुन्‍नाको भूमिकामा देखिएका रविन्द्र झा, प्रकाश घिमिरे, प्रवीण खतिवडा, कमलमणि नेपाल, भोलाराज सापकोटा आदि कलाकारहरुको  रंगमञ्चको अनुभवलाई निर्देशक प्रदिप भट्टराईले मज्जाले प्रयोगमा गरेका छन्। चलचित्र हेरिसकेपछि यो उनको पहिलो चलचित्र निर्देशन हो भनेर विश्वास गर्न गाह्रो हुन्छ।  तर, महजोडीको सहायक निर्देशक बनेर अनुभव लिएका प्रदिपको चलचित्रमा महजोडीको फ्लेबर भल्किन्छ।

चलचित्रको पटकथा समेत लेखेका प्रदिपले सबैमाथि व्यङग्य गर्न भ्याएका छन्। प्रहरी, धनाढ्य, डनदेखि इमानदारीताको मुखुन्डो ओडेकाहरुसम्म 'जात्रा' को शिकार भएका छन्। तर व्यङ्ग्य गर्ने बहानामा निर्देशक केही दृश्यमा चुकेका छन्।

मधेसी पात्रको भूमिकालाई पुरानै ढर्रामा प्रस्तुत गर्नु चलचित्रको सबैभन्दा कमजोर पाटो हो। नेपाली फिल्ममा मधेसी पात्रलाई पान पसले, कपाल काट्ने, पुजारी, देखाउने चलन रहिआएको छ। काठमाडौंको यस ट्रेन्डबाट 'जात्रा' मुक्त छैन्। अभिनयमा निकै अब्बल रविन्द्र झा 'मुर्ख' मधेसीको भूमिकामा छन्। चलचित्रमा 'मुन्‍ना' ले बोलेको 'पुलिसभन्दा कुकुर विद्धान' संवादले दर्शकलाई धेरैबेर हसाउँछ। यस्ता दृश्य 'मुन्‍ना' को चरित्रमा बारम्बार झल्कन्छन्। उनको कुर्सीमा किला छ। जो अरुलाई बारम्बार बिझ्छ, तर, उनले परिवर्तन गर्दैनन्। चलचित्रमा यो दृश्यले  काठमाडौंमा सैलुन व्यवसाय गर्ने मधेसीहरु पेशाप्रति गैरजिम्मेवार छन् भन्‍ने देखाउन खोजेको अभास हुन्छ।

'हामीजस्तो करोडपतिलाई गरिब बन्‍न गाह्रो हुदैंन' भन्ने संवादले पनि मधेसी पात्रको कमजोर चरित्र चित्रण गर्छ। चलचित्रमा नेवार पात्रको लड्बडाएको लवज पेश गरिएको छ। जुन स्वभाविक लाग्दैन।

फणिन्द्रकी श्रीमतीको भूमिका निभाएकी वर्षा राउत हुन्, जयसकी प्रेमिका हुन् वा मुन्‍नकी श्रीमतीको भूमिकामा रहेकी प्रियंका झा नै किन नहुन्। सबै महिला पात्र पुरुषमा निर्भर छन्। महिलाको खुसीका लागि पुरुषहरु गलत बाटो समात्‍न बाध्य हुन्छन् भन्‍ने देखाउन खोजिएको छ।

के फरक छ अन्य चलचित्रको तुलनामा?

कथावस्तु मज्जाले बगेको छ। चलचित्रमा झन्झटिला दृश्यहरु छैनन्। ग्ल्यामरका नाममा छाडा दृश्य देखाउने रोगबाट यो चलचित्र मुक्त छ। नायिकाको बाहिरी सुन्दरता नभएर अभिनय क्षमतालाई चलचित्रले बेच्‍न खोजेको छ,जून नेपालमा विरलै देखिन्छ। प्राविधिक पक्षमा खोट लगाउने ठाउँ छैन।

र अन्त्यमा

चलचित्र पैसाको बोरा वरिपरी घुम्छ। 'पैसा पचाउने' ध्याउन्‍नमाथि बनाइएको चलचित्रको अन्त्यमा न त्यो पैसाले मुख्य पात्र खुसी भएको देखाउँछ न पीडा दिएकै देखाउँछ।

त्यसो भए पैसाले के असर गर्छ त?

पैसाले 'जात्रा' देखाउँछ। चलचित्रको सुरुवातदेखि नै 'इमान बेच्‍ने मान्छे होइन' भन्दै रटान लगाउने फणिन्द्रले अन्यसम्म इमान बेचिसकेका हुन्छन्। 'तिम्रो इमान देखेरै बिहे गरेको' भन्‍ने श्रीमती इमान बेच्‍न उक्साउँछिन्। पैसा कहाँ जान्छ।कसले लान्छ। सबै रहस्यमै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.