|

सिन्धुपाल्चोक जिल्लाको समृद्धिको दरिलो आधार व्यापार हो तर निरन्तरको विपद्पछि जिल्लाको व्यापारको अवस्था एकदमै कमजोर बन्नेको छ। व्यापार कमजोर बनेसँगै जिल्लाले आत्मनिर्भर बन्ने एउटा आधार गुमाएको छ। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी नाका बन्द छ। कृषिजन्य वस्तुको उत्पादनमा समेत गिरावट आएको छ। सबै सामग्रीको बिक्री  वितरणमा एकरूपता छैन।

व्यवसायीले मौका छोप्ने प्रचलन व्याप्त छ। एउटै बजारमा वस्तु एक मूल्य अनेकको अवस्थामा सामग्री बिक्री वितरण भइरहेको छ। देश संघीयतामा गइसकेपछि जनप्रतिनिधिको भूमिका, जिल्लाको व्यापारिक  अवस्था, तातोपानी नाका संंचालनको विषय, जिल्लाको व्यापारिक अवस्था र चुनौतीमा केन्द्रित रहेर थाहाखबरकर्मी रमेश पराजुलीले नेेेपाल उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकका अध्यक्ष वेदबहादुर श्रेष्ठसँग गरेको कुराकानी।

जिल्लाको व्यापारिक अवस्था कस्तो छ?

२०७१ साउन १७ गते जुरे पहिरो तथा २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प अगाडि व्यापार व्यवसाय राम्रै थियो तर सीमाक्षेत्रमा परेको निरन्तर विपद्, जुरे पहिरो, भोटेकोसी बाढी, लार्चाको पुल पुरिनु र भूकम्पपछि जिल्लाको व्यापारिक अवस्था खस्केको छ। ऊर्जा, पर्यटन, होटल व्यवसायको अवस्था पनि पहिलेको जस्तो चलायमान छैन।

देश संघीयतामा गएपछि जिल्लाकोे व्यापारमा कस्तो समस्या परेको छ?

देश संघीयतामा गएपछि विकास हुनपर्ने हो तर सिन्धुपाल्चोक जिल्लामा विकास भएको देखिँदैन। अन्य क्षेत्रमा जस्तै व्यापार व्यवसायको क्षेत्रमा पनि संघीय कानुनअनुसार विकासले छुन सकेको छैन। व्यापारिक क्षेत्रको विकासमा जनप्रतिनिधि लाग्नुभएको छैन। उहाँहरूले पहलकदमी नगरे खस्केको व्यवसाय माथि उठ्ने अवस्था छैन।

प्रमुख व्यापारिक तातोपानी नाका बन्द छ, नाका संंचालनमा व्यवसायीहरू कतिको लाग्नुभएको छ?

तातोपानी नाका संंचालन, अरनिको राजमार्गको स्तरोन्नति, चौतारा बजार, मेलम्ची बजारलगायत जुगल हिमालको फेदीसम्मको बाटोघाटोको स्तरोन्नतिका लागि विभिन्न मन्त्रालय, सांसदज्यूहरू, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) तथा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूलाई समेत हामीले ज्ञापनपत्र बुझाएका छौंँ।

२०७५ भदौ १७ गते चीन सरकारको प्रतिनिधि तथा नेपाल सरकारको प्रतिनिधिको टोलीले कोदारीदेखि बाह्रबिसेसम्म बाटोको भौगोलिक अवस्था निरीक्षण गर्नुका साथै आन्तरिक तथा बाह्य छलफलको क्रममा नाका संंचालनका लागि हामी उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूले आवाज उठाइरहेका छौंँ। हामीले ह्लासा वाणिज्य दूत गोविन्द कार्कीज्यू तथा चीनका लागि राजदूत लीलामणि पौडेलज्यू समक्ष पनि नाका संंचालनका लागि ज्ञापनपत्र बुझाएका छौं

भनेपछि तातोपानी नाका खुल्ला त?

अब तातोपानी नाका छ-सात महिना पछाडि खुल्नेछ भन्ने मलाई विश्वास छ। नाका क्षेत्रमा बढ्दै गरेको चहललपहलले नै नाका खुल्ने संकेत गरेको छ। 

सिन्धुपाल्चोकमा व्यापार वृद्धि गर्नमा तपाईको भूमिका के छ ?

मेरो भूमिका सबै व्यवसायी र पत्रकार साथीहरूलाई जगजाहेर नै छ। म पदमा रहे पनि र नरहे पनि जिल्लाबासी तथा तमाम उद्योगी व्यवसायी र ससाना व्यवसायीहरूको हितमा मैले आफूलाई समर्पण गरिरहनेछु।

व्यापार व्यवसायको विकासमा कस्ता समस्या सिर्जना भएका छन्?

सरकारबाट अहिलेसम्म सडकको स्तरोन्नति हुन सकेको छैन। तसर्थ हामी व्यवसायीहरूले धेरै झमेलाहरू भोगिरहेका छौंँ। तपाईं आफैंँले पनि देखिरहनुभएको छ। होटल व्यवसायीहरूलाई पानी तथा बिजुलीको समस्या, पशुपालक उद्यमीहरूका लागि बीमा  तथा औषधि उपचारको समस्या, दुग्ध व्यवसायीहरूका लागि चिस्यान तथा बिजुलीको समस्यालगायत यावत समस्याहरू हाम्रा माझ छरपष्ट छन्।

स्थानीय तहले सिन्धुपाल्चोकमा व्यापार वृद्धि गर्न कस्तो पहलकदमी लिएका छन्?

सिन्धुपाल्चोक जिल्लामा तीनवटा नगरपालिका र नौवटा गाउँपालिका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले विभिन्न मितिमा स्थानीय सरकारसँग विभिन्न विषयमा उठेका समस्याहरूलाई समाधान गर्नका निमित्त छलफलहरू गर्दै आइरहेको छ। विशेषगरी दोहोरो करको मापदण्ड हटाउन र न्यूनतम करको मापदण्ड लागू गर्न हामीले पहल गर्दै आइरहेका छौंँ।

अर्को कुरा, उठेको करको सदुपयोग गर्नका लागि पनि हामीले आवाज उठाउँदै आइरहेका छौंँ। सिन्धुपाल्चोक जिल्ला भूकम्पबाट बढी क्षतिग्रस्त जिल्ला हो। तसर्थ अन्य क्षेत्रमा जस्तै व्यापार व्यवसायको क्षेत्रमा पनि ठूलो क्षति पुगेको हुनाले यस क्षेत्रलाई हेर्ने दृष्टिकोण स्थानीय सरकारको तवरबाट अत्यन्तै सहयोगी र समन्वयकारी हुनुपर्छ भन्ने मलाई लाग्छ।      

सिन्धुपाल्चोकमा सबैभन्दा धेरै व्यापार केको हुन्छ? त्यसबाट आत्मनिर्भर बन्न के गर्नुपर्ला?

सिन्धुपाल्चोक जिल्लामा भौगोलिक हिसाबले हिमाल, पहाड र पहाडी बेंँसी फाँट गरी तीन तह छन्, जसमा कृषि उपजको हिसाबले हेर्दा हिमाली भेगमा जटामसी, पाँचऔंँले, बिखमा, चिराइतो जस्ता जडिबुटीहरू प्रशस्त छन्, जसलाई हामीले जिल्लाको आम्दानीका लागि सदुपयोग गर्न सके स्थानीय तथा व्यापारीहरूको आम्दानीमा वृद्धि गर्न सकिन्छ। तल्लो तटमा अर्थात् पहाडी भेगमा कफी, अलैंँची जस्ता कृषि उपजको व्यापार व्यवसाय हुने गरेको छ।

जिल्लामा खाद्यान्नबाली, नगदेबालीको पनि राम्रै व्यवसाय भइरहेको छ। कम्तीमा सिन्धुपाल्चोक जिल्लामा दुग्धजन्य र मासुजन्य पदार्थको आयात गर्नुपरेको छैन। यसमा हामीले सकेसम्म निर्यात् गर्नुपर्छ भनेर लागिपरेका छौंँ। जहाँसम्म सिन्धुपाल्चोकको नदीनालाको सवाल छ, यसलाई ऊर्जा उत्पादनका दृष्टिकोणले भरपूर सदुपयोग गरिरहेको र अझै केही साना, मझौला र ठूला जलविद्युत आयोजना बन्दै गरेको अवस्था छ। यसर्थ हेर्ने हो भने हाम्रो जिल्लामा ऊर्जा, जडिबुटी, कृषि उपज, दुग्धजन्य र मासुजन्य पदार्थको व्यापार व्यवसाय बढ्दै गइरहेको देखिन्छ।

होटल व्यवसायका लागि तातोपानी नाका संंचालन अत्यावश्यक छ भन्ने मलाई लाग्छ। ऊर्जा क्षेत्रमा भइरहेको विवाद अन्त्य गर्नका लागि स्थानीय सरकारसँग सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ हार्दिक अनुरोध गर्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.