|

काठमाडौं : सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न २०७२ चैत २५ बाट स्वास्थ्य बीमा संचालन गर्‍यो। कैलालीबाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले ३६ जिल्लामा संचालन भइसकेको छ भने अब ११ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने योजना बनाएको छ।

तर गुणस्तरीय सेवा सुविधा नहुनु स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुनु जस्ता कारणले पछिल्लो समय एक पटक बीमित भएकाहरू पुन: अर्को पटक बीमित नहुने हुँदा बीमाको आकर्षण घट्दै गएको छ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अहिले विभिन्न ३६ जिल्लाका नौ लाख ३२ हजार नागरिक समेटिएका छन्, जसमा अतिविपन्न वर्गमा पर्ने नागरिकको संख्या एक लाख ३२ हजार छ। स्वास्थ्य बीमा कार्यक्रम सबैभन्दा बढी पाल्पा र कास्कीमा प्रभावकारी देखिएको छ। स्वास्थ्य बीमा अभियानमा सदस्य बनेकामध्ये सबैभन्दा बढी कैलालीका नागरिकले बीमावापत उपचार लिएका छन्।

आर्थिक वर्ष २०७४/०७५ मा स्वास्थ्य क्षेत्रमा ३१ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको सरकारले सन् २०२२ सम्म नेपालको स्वास्थ्यसम्बन्धी सूचकांकमा आमूल परिवर्तन ल्याउने र मुलुकलाई विकासशील मुलुकको सूचीमा पार्ने लक्ष्य राखेको छ।

हालसम्म १४ लाख २३ हजार ६७२ जना स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् भने एक अर्ब २२ करोड ३७ लाख ३८ हजार रुपैयाँ बीमितबाट सरकारले उठाइसकेको छ। एक अर्ब २२ लाख रुपैयाँ बढी रकम बीमितहरूको उपचारका लागि अस्पतालहरूलाई दिइसकेको छ। तर गुणस्तरीय सेवा सुविधा नहुनु, स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुनु जस्ता कारण पछिल्लो समय एक पटक बीमित भएकाहरू पुन: अर्को पटक बीमित नहुने हुँदा बीमाको आकर्षण घट्दै गएको छ। यसै सन्दर्भमा सरकारले लामो समय नेपाल राष्ट्र बैंकमा विदेशी विनिमय विभागमा निर्देशकको कार्यभार सम्हालेर सेवानिवृत्त भएका वरिष्ठ अर्थविद् रमेशकुमार पोखरेललाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको छ। 

कामलाई थप प्रभावकारी बनाउँदै लैजाने, स्वास्थ्य बीमा प्रति नागरिकमा विश्वास अभिवृद्धि गराउने, स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने योजना बनाएका बोर्डका निर्देशक रमेशकुमार पोखरेलसँग थाहाखबरकर्मी सविना खनालले हालको स्वास्थ्य बीमाको प्रभावकारिता र चुनौतीका बारेमा गरेको कुराकानी प्रस्तुत छ।

स्वास्थ्य क्षेत्रबाहिरको क्षेत्रबाट स्वास्थ्य बीमा बोर्डको निर्देशक हुनुभएको छ, कसरी काम गरिरहनुभएको छ?

हो, म स्वास्थ्य क्षेत्रभन्दा बाहिरको हुँ। निर्देशक भएर आएको पनि धेरै भएको छैन। मेरो लामो समयको अनुभवले मेरो कार्यकालमा स्वास्थ्य बीमालाई सबै नागरिकमा प्रभावकारी रूपमा पुर्‍याउन म सक्दो प्रयास गर्ने छु। स्वास्थ्य बीमा नेपालका लागि नयाँ कार्यक्रम भए पनि सरकारले जनतामा विशुद्ध सेवाभावले ल्याएको कार्यक्रम हो यो।

तर नेपालमा स्वास्थ्य बीमाको विस्तारमा चुनौतीहरू देखिएका छन् भन्ने छ नि?

सबैभन्दा ठूलो चुनौती भनेको हाल स्वास्थ्य बीमामा आबद्धहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो भने स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउनलाई आर्थिक रूपमा बीमा बोर्डलाई छुट्टै स्वायत्त संस्था बनाउनु अर्को चुनौती छ। अर्को चुनौती भनेको गरिब परिवारको पहिचान गरेर गरिब परिवारका सदस्यहरूलाई नि:शुल्क स्वास्थ्य बीमामा आबद्ध गराउनु छ तर हाल २५ जिल्लामा मात्र गरिबी पहिचान भएको छ अन्य जिल्लाको नभएको अवस्थामा बीमा विस्तार गर्नु चुनौती रहेको छ।

बीमा संचालन भएका जिल्लाहरूमा पनि बीमितहरूले राम्रोसँग सेवा नपाएको भन्ने गुनासोहरू आइरहेको छ नि, किन?

सरकारले सबै नागरिक स्वास्थ्यको पहुँचमा पुगून् र आधारभूत स्वास्थ्य सेवा सबैले पाऊन् भन्ने योजनामा बीमा कार्यक्रम संचालन भएको हो। यो नयाँ कार्यक्रम हो, जसले केही सीमित पूर्वाधारसहित यो कार्यक्रम संचालन गरिएको छ। जहिले पनि जनताले पहिलो पटक बीमाबाट सेवा लिँदा साममुदायिक अस्पताल तथा प्राथमिक स्वास्थ्य संस्थाबाट सेवा लिने भनिएको छ। यसलाई कानुनी आधार पनि मानियो। पहिलो पटक सेवा लिन प्राथमिक स्वास्थ्य संस्थामा जानुपर्ने तर त्यस्ता स्वास्थ्य संस्थामा जनताले अपेक्षा गरेअनुसार स्वास्थ्य सेवा उपलब्ध नहुनु, सरकारले दिएको सेवा पनि गुणस्तरीय नहुनु जनताले गर्दै आएका गुनासाहरू हुन्। यस्तै, हाम्रो स्वास्थ्य संस्थामा औषधि उपकरणहरू पनि नहुने गुनासा बीमितहरूको हो।

देश संघीयतामा गइसकेको अवस्थामा स्वास्थ्यका केही संरचनाहरू परिवर्तन भइसकेको अवस्था छ, यस्तो अवस्थामा बीमा संचालन गर्न के कस्ता समस्या छन् ?

संघीयता लागू भइसकेको अवस्था छ। यस्तो अवस्थामा स्वास्थ्यका केही संरचनाहरूमा पक्कै परिवर्तन आएको छ। यसले गर्दा केन्द्रबाट नियन्त्रित केही संस्थाहरू छन्। यसरी स्वास्थ्य बीमा लागू गर्नुपर्ने केही त्यस्ता संस्थाहरूको परिवर्तनले बीमा लागू गर्न पक्कै अप्ठ्यारो छ तर यसलाई समाधान गर्नुको अर्को विकल्प पनि छैन।

एक पटक बीमामा आबद्ध भएकाहरू अर्को पटक बीमा नगराउनेहरू धेरै भएकाले स्वास्थ्य बीमाप्रतिको आकर्षण घट्दै गएको भन्ने छ नि?

स्वास्थ्य बीमामा आबद्ध भएकाहरूले राम्रो सेवा र सुविधाको आशा राख्छ। विभिन्न कारणले बीमितले आफूले अपेक्षा पूरा नभएपछि पुन: बीमामा आबद्ध हुनेको संख्या घट्ने हो। स्वास्थ्य बीमाको हकमा पनि पुन: बीमा गराउने बीमितहरूको संख्या घटेको पक्कै हो। पुन: बीमा गराउने संख्या घट्नुको मुख्य कारण बीमाबाट पहिलो पटक सेवा पाउने हाम्रा स्थानीय प्राथमिक स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सेवा गुणस्तर नहुनु हो। अझै हाम्रा स्वास्थ्य संस्थाहरूमा पर्याप्त स्वास्थ्यकर्मीको दरबन्दी नहुनु हो। अझै पनि कतिपय हाम्रा स्वास्थ्य संस्थामा सिटामोलसमेत नभएको अवस्था छ। यस्तो बेला स्वास्थ्य बीमामा बीमित हुनेहरूलाई गुणस्तरीय सेवा दिन नसक्दा पुन: बीमामा आबद्ध हुने बीमितको संख्या भने पक्कै घटेको हो।

कहिलेसम्म सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा संचालन हुन्छन् त?

हाम्रा लागि यो अत्यन्तै नयाँ कार्यक्रम हो। सरकारको वार्षिक कार्यक्रमा यही आर्थिक वर्षमा सबै जिल्लामा बीमा संचालन गर्ने लक्ष्य भए पनि बीमामा आबद्ध बीमितहरूलाई सेवा दिने हाम्रा सरकारी स्वास्थ्य संस्थाहरूको गुणस्तर बढाउनुपर्नेछ। खाली बीमाको दायरा बढाउनुभन्दा पनि बीमा लागू भइसकेका जिल्लाहरूमा सेवाको गुणस्तर बनाउन आवश्यक पूर्वाधारहरू पूरा गराउनुपर्छ। बीमा संचालन नभएका जिल्लामा बीमाको विस्तार गर्नुभन्दा हाल संचालन भएका जिल्लाहरूमा बीमाको प्रभावकारिता र गुणस्तर बढाउनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.