|

काठमाडौ: सातौँ आइएमई नेपाल लिटरेचर फेस्टिभलका सम्पूर्ण सत्रहरू उल्लासपूर्ण रूपले सकिएका छन्। पोखरामा भएको उक्त कार्यक्रमको आयोजक थियो- बुक वर्म फाउण्डेसन र र्‍याण्डम रिडर्स सोसाइटी। पुस ७ गतेदेखि १० गतेसम्म भएको उक्त कार्यक्रम सभ्य र भव्य भएको भन्दै निर्देशक अजित बराल उत्साहित देखिन्थे।

पोखराबाट देखिएको माछापुच्छ्रे

पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रिन्सिपल जर्ज जोन र एलियम्मा जोनले शनिबार कार्यक्रम उद्घाटन गरेका थिए। उद्घाटनका अवसरमा जर्जले पोखरामा सहभागी लेखक एवं साहित्यकारलाई स्वागत मात्र गरेनन्, उनले सबैको जीवन शुभकर, सन्तोषप्रद एवं सुखमय होस् भन्ने चाहनासमेत व्यक्त गर्दा दर्शक दीर्घाबाट तालीको वर्षा भएको थियो। पहिलो दिनमा विभिन्न सत्रमा रोचक शीर्षकमा संवादहरू भए, जसका कारण चिसो मौसमले चिसिएको पोखरामा न्यानो थपियो।

'अझै रमिता छ', अभिनेत्री मनीषा कोइरालाको 'हिल्ड' पुस्तक विमोचन, ‘पागल बस्तीपछिको पोखरेली आख्यान’, ‘दि आर्ट अफ दि ग्राफिक मेम्वायर’लगायतका विभिन्न सेसनमा बाक्लो रूपमा उपस्थित दर्शकहरू साँझ पर्दै जादाँ घट्दै जान थालेका थिए। मंचबाट आयोजकले 'स्तम्भकार र सम्पादक' सेसनका लागि नेपालका ख्यातिप्राप्त लेखक तथा कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्ले र नेपालका चर्चित लेखक तथा स्तम्भकार खगेन्द्र संग्रौलालाई मंचमा आउन अनुरोध भयो। घट्दै गएको उपस्थिति एक्कासि बाक्लियो। दुवै जनाले एकअर्काको बारेमा रोचक प्रसंगहरू निकाल्दा दर्शकहरू उत्साहित देखिन्थे।

'हेर्दा शान्त र शालीन स्वभावका संग्रौला स्तम्भचाहिँ कडा लेख्नुहुन्छ' भन्दै वाग्लेले सोधे, 'लेख्ने बेला तपाईंको कलम कसरी आक्रामक बन्छ?’ भनेर प्रश्न गरे। उक्त प्रश्नको जवाफ संग्रौलाले भने, 'आफूले भोट दिएर सत्तामा पुर्‍याएको मान्छे सत्ताको गन्धले सुँगुरजस्तो देखिन थाल्छ, यस्तो परिस्थिति देख्दा जोकोहीको मनमा आक्रोश पैदा हुन्छ। उक्त उत्पन्न आक्रोश र आवेगलाई म लेखनबाट बाहिर निकाल्ने चेष्टा गर्छु।’ विगत ५५ वर्षदेखि लेखनमा लागेका संग्रौलाले अहिले आफूमा लेखन शक्ति घट्दै गएको र आमपाठकको अनुरोधका कारण सिर्जना गरिरहेको स्वीकार गर्दा दर्शकले उनको स्वीकारोक्तिलाई तालीले सम्मान गरे। यस्तै, वाग्लेले जो कसैको स्तम्भ सम्पादन गर्दा विशेष परिस्थितिलाई मध्यनजर गरेर रोक्नुपर्ने अवस्था आउने स्वीकार गरे।

पोखराबाट देखिएको शान्ति स्तुपा

देशको राजनीतिक, आर्थिक तथा सामाजिक विषयवस्तुहरूका बारेमा मिहीन ढंगले अन्तरसंवाद भएका अधिकांश सेसनमा पोखराका विभिन्न विद्यालयबाट विद्यार्थीहरूको उपस्थिति पनि कम थिएन। त्रिवेणी क्याम्पसबाट आएकी विद्या पौडेलले यस्ता कार्यक्रमहरूले आफू जस्ता नयाँ पुस्तालाई ज्ञानको दायरा फराकिलो बनाउन सहयोग पुग्ने बताइन्। आफू पोखरामा भएको फेस्टिभलका तीनवटै संस्करणमा उपस्थित जनाएको पनि उनले बताइन्।

कार्यक्रममा भेटिएका एक वृद्धले महोत्सवको अर्को रोचक पाटो भनेको महिलामैत्री हुनु पनि बताए। सुशीला कार्की, आनी छोइङ, मनीषा कोइराला, कुमारी लामा, उमा सुवेदी, सरस्वती प्रतीक्षा, सावित्री गौतम, अर्चना थापा, मञ्जुश्री थापा, रम्यता लिम्बू, ऋचा शर्मा, एसिड आक्रमणमा परेका संगीता मगर र सीमा बस्नेतलगायतको उपस्थिति र उनीहरूको संवादले महोत्सवलाई स्तरीय बनाउन सहयोग गरेको थियो। उनीहरूले विभिन्न विषयमा गरेको संवाद रोचक मात्र नभएको, विशिष्ट किसिमको रहेकाले खुसी भएको वृद्धले बताए।

कार्यक्रममा महिला संशक्तीकरण, महिलाले समाजमा भोग्नुपरेको समस्या, समस्याले निम्त्याएको जटिलताको बारेमा समेत वैचारिक उठान उत्कृष्ट रहेको थियो।महोत्सवको अन्तिम दिन 'म किन राष्ट्रवादी होइन' सेसनमा लेखक खगेन्द्र संग्रौलाले नेपालको संविधान निर्माणमा भएका त्रुटि, नेकपा र नेपाली कांग्रेसविरुद्ध कडा आलोचना गरे। सामाजिक असन्तुलन हुने र मधेसलाई पाखा लगाएर ल्याइएको संविधान र नेपाली राजनीतिक दलको आचरणमा सुधार गर्नुपर्ने संग्रौलाको विचार सुन्दा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ दर्शकदीर्घामा बसेर मुसुमुसु हाँस्दै थिए।

कार्यक्रममा विभिन्न क्षेत्रका लेखक,पत्रकार, राजनीतिक विश्लेषकहरूसँग उनीहरूका फ्यानहरूले फोटो खिचेको दृश्य कम रोचक थिएन। नायिका मनीषा कोइराला लेखक खगेन्द्र संग्रौला, नयनराज पाण्डे, सुविन भट्टराई, बुद्धिसागर, अभिनेता दयाहाङ राई, खगेन्द्र लामिछाने, कवि नवराज पराजुली, विप्लव प्रतीक, संचारकर्मी रवि लामिछाने, लेखक तथा पत्रकार विजयकुमार पाण्डे, नारायण वाग्ले, दिलभूषण पाठक, युवराज घिमिरेलगायतलाई आफ्‍ना प्रशंसकहरूले घेरेका थिए।

प्रशसंकहरू आफ्ना मनपर्ने व्यक्तिहरूसँग फोटो खिच्न पाउँदा खुसी देखिन्थे। कलेज पढ्ने पोखराका रेशम कार्कीले आफूलाई मनपर्ने मान्छेलाई नजिकबाट देख्न र भेट्न पाउँदा आफूभित्र पनि थप ऊर्जा हुने बताए।

४० बढी सेसनमा आधा दर्जन बढी विदेशी लेखकहरूको उपस्थिति रहेको महोत्सवमा दुई दर्जन बढी नेपाली लेखक, साहित्यकार, पत्रकार, राजनीतिक विश्लेषकहरूको चर्को बहसले यसपालिको साहित्यिक महोत्सवले नेपाली समाजका हाम्रा बुझाइलाई थप परिस्कृत गर्ने सहभागीहरूले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.