|

धनकुटा : मुल्यवृद्धिको पर्खाइमा धनकुटाका व्यापारी र किसानका अलैँची गोदाममा नै थन्किएका छन्। प्रतिमन (४० केजी) अलैँचीको मूल्यवृद्धि भएर ६०/७० हजार रुपैयाँबाट २०७२ सालमा एक लाख २० हजार रुपैँयासम्म पुगेको थियो। तर उक्त मूल्य केही समय कायम रहेर पछिल्लो समयमा घट्दै गएर हाल ३० हजार रुपैयाँमा स्थिर भएको छ। जसको कारण उक्त समयमा  व्यापारी र  किसानहरूले संकलन गरेर राखेका अलैँची पुनः मूल्यवृद्धिको आशमा पुरानो अलैँची गोदाममा नै थन्किएका हुन्।

२०४७  सालबाट व्यापार सुरु गरेका धनकुटाको व्यापारिक केन्द्र हिलेका व्यापारी टेकबहादुर भण्डारीले आफूसँग तीन सय मन अलैँची गोदाममा नै रहेको बताए। पुरानो अलैँची बिग्रने भएकाले २०७१/७२ सालमा एक लाख २० हजारमा किनेको अलैँची कम मूल्यमा बेच्नुपर्दा ५० लाख घाटा लागेको उनले बताए। तर मूल्यवृद्धिको पर्खाइमा २०७३/७४ सालमा किनेको तीन सय मन गोदाममा नै थन्क्याएर राखेको भण्डारीले जानकारी दिए।

अलैँची व्यवसायी महासंघ धनकुटाका अनुसार अहिले जिल्लाका व्यापारी र किसानसँग सयौँ मन पुराना अलैँची  बाँकी छ। महासंघ धनकुटाका अध्यक्ष ईन्द्र तितुङ्गका अनुसार नेपाली अलैँचीको विश्व बजारमा बेग्लै जात नहुनु र नेपालको अलैँचीमा भारतको एकद्वार व्यापार कायम हुँदा यस्तो अवस्था आएको हो। ‘भारतका केही व्यापारीहरूले तेस्रो मुलुक जाने नेपालको अलैँचीमा मिसावट गरेर निर्यात गर्दा मूल्य गिरावट आएको हो’, उनले भने– ‘यसको असर व्यापारी र किसान दुवैलाई करोडौँ घाटा लागेको छ।’

ढुसी आएर बिग्रन थालेको पुरानो तीन हजार मन अलैँची कम मूल्यमा बेच्दा १ करोडभन्दा बढी घाटा भएको उनले जानकारी दिए। उनको इन्द्र ट्रेडर्समा हाल दुई सय मन पुरानो अलैँची बाँकी भएको जानकारी दिए।

उता महालक्ष्मी–३ डाडाँगाउँका विनोद थापाको घरमा विगत दुई वर्षअघिको ५ मनभन्दा बढी अलैँची गोदाममै थन्किएको छ। बेच्ने बेलामा अचानक मूल्यमा गिरावट भएपछि अलैँची गोदाममै थन्काएको उनले बताए। ३० हजार मनको दरले बिक्री गर्दा लागत खर्च समेत नउठ्ने भएकाले ६० हजारसम्म मूल्य पाए किसानलाई केही राहत हुने थापाको भनाइ छ।

अलैँचीको पकेट क्षेत्र मानिएको डाडाँगाउँका अधिकांश किसानले मूल्यवृद्धिको पर्खाइमा केही वर्षदेखि गोदामा नै अलैँची थन्काएर राखेको बताए। पहिला माग बढी उत्पादन कम भएकोले मूल्य बढेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले बताए। तर अहिले उत्पादन बढी माग उही कायम रहेकोले मूल्यमा कमी आएको उनको भनाइ छ।

उन्नती परियोजनाले मूल्य श्रृंखलामा काम गरेर अलैँचीको उत्पादन र गुणस्तरमा सुधार भए पनि मूल्य ३० हजारमा स्थिर रहनुले यसको पुष्टि भएको घिमिरेको तर्क छ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार धनकुटामा दुई सय ९९ हेक्टर जमिनमा अलैँची खेती हुन्छ। जसमा उत्पादन योग्य एक सय ६५ हेक्टर रहेको छ। गत आर्थिक वर्ष २०७४/७५ मा धनकुटामा ९७ मेट्रिक टन अलैँची उत्पादन भएको मन्त्रालयको तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.