पुस मसान्तसम्म पार्टी एकता टुङ्ग्याउने प्रस्ताव

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार जारी स्थायी कमिटीको बैठकलाई सम्बोधन गरेका छन्। गएको मंसिर २९ गतेदेखि जारी स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका विषयहरूलाई लिएर अध्यक्ष ओलीले सम्बोधन गरेका हुन्।

बेलुकी करिब ४ बजे शुरु भएको बैठकमा अध्यक्ष ओलीले करिब साढे २ घण्टा सम्बोधन गरेका थिए। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बैठकमा उठेका विषय सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले मूलरुपमा पार्टी एकतालाई सुदृढ रूपमा सम्पन्न गर्ने कुरामा जोड दिएका छन्।

बैठकबाट निस्किए पछि अध्यक्ष ओलीले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाएर अगाडि कुरामा जोड दिएका छन्। दुई पार्टीको एकता भइसकेपछि पनि नेकपालाई पुनः छिन्नभिन्न भएको हेर्न चाहनेहरू अहिले पनि लागिरहेको भन्दै अध्यक्ष ओलीले ती सोचलाई परास्त गरेर पार्टीलाई एकताबद्ध बनाएर अगाडि बनाउनुपर्नेमा जोड दिएको नेकपा स्थायी कमिटीका सदस्य योगेश भट्टराईले बताए।

'यो बैठक सकेर निस्कदा पार्टीलाई अझ सुदृढ र एकताबद्ध भएर निस्कनु पर्छ। यो दुईवटा पार्टीको एकता भइसकेपछि पार्टी फेरि छिन्नभिन्न होस् यो अगाडि बढ्न नसकोस्। नेताहरूको बीचमा झगडा होस्, स्थायी कमिटीमा कुरा नमिलोस् भनेर कतिपयले कामना गरेका छन्', अध्यक्ष ओलीको भनाइ उद्धृद गर्दै नेता भट्टराईले भने, 'ती सबै कामना गर्नेहरूको सोचाइ आकांक्षालाई हामीले परास्त गर्नपर्छ।'

 बैठकका केही निश्चित प्राथमिकताहरू रहेको बारेमा प्रस्ट्याउँदै अध्यक्ष ओलीले त्यसमा नेपालको राष्ट्रियता सुदृढ गर्ने, राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, अखण्डता, भौगोलिक एकतालाई सुदृढ गर्ने कुरा सरकारको मुख्य प्राथमिकता रहेको बताए।

विकास निर्माण, लोकतन्त्र सुदृढीकरण, संघीय प्रणालीलाई सुदृढ गर्ने कुरा सरकारको प्राथमिकता भएको अध्यक्ष ओलीले उल्लेख गरेको पनि नेता भट्टराईले बताए। 'सांगठनिक र सुशासनलाई स्थापित गर्ने कुरा पनि यसको प्राथमिकता हो। भ्रष्टाचार निर्मूल गर्ने, जनतालाई सुशासन दिने कुरा यसको प्राथमिकता हो', अध्यक्ष तथा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै नेता भट्टराईले भने, 'हामीले यी नै प्राथमिकताका आधारमा सरकार सञ्चालन गरिरहेका छौँ।'

हिजोको जस्तो एउटा सरकार बदलेर अर्को सरकार आएको अवस्था नभएको भन्दै उनले एउटा प्रणाली बदलेर नयाँ संविधानअन्तर्गत अहिलेको सरकार आएको हुनाले थुप्रै नयाँ संरचनाहरू समेत बनाउनु पर्ने अहिलेको सरकारको जिम्मेवारी रहेको बताएका थिए। संघीयतालाई कार्यान्वयन गर्ने, कर्मचारी संरचनाको पुन: व्यवस्थापनको कुरा, कानुन निर्माण लगायतका कार्यमा अहिले पनि प्रारम्भिक चरणमा रहेको उनको भनाइ थियो। 'हामी एउटा संरचना बदलेर नयाँ संविधानअन्तर्गत आएका छौँ। त्यसो भएको हुँदा हामी संरचना निर्माणको एउटा ऐतिहासिक क्षणमा छौँ। त्यसमा केही हदसम्म हामीले सफलता हासिल गरेका छौँ', बैठकमा उनले भनेका थिए।

सरकारले सुशासन, शान्ति सुरक्षा दिने कुरामा, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्ने कुरामा केही उल्लेख्य सफलता हासिल गरेको भन्दै प्रधानमन्त्री ओलीले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने कुरामा पनि केही सफलताहरू हासिल भएको बताएका थिए। 'अन्तर्राष्ट्रिय सम्बन्धमा हामी त्यस हिसाबले हामी एक कदम अगाडि बढेको छौं। यो हाम्रो लागि ठूलो उपलब्धि हो', अध्यक्ष ओलीलाई उदृत गर्दै नेता योगेश भट्टराईले भने, 'नेपाल कम्युनिस्ट पार्टीका निम्ती मात्र नभएर सिङ्गो मुलुकका निम्ति ठूलो उपलब्धि हो।'

यो सबैका निम्ति गर्व गर्नेपर्ने विषय भएको उनको भनाइ थियो। मुलुक यहाँसम्म आउन हिजोका लामो संघर्ष, आन्दोलनको विरासत रहेको भन्दै प्रधानमन्त्री ओलीले असफलता र ती असफलताका आफ्नै कहानीहरू भएकोले त्यसबाट नै हामी यहाँसम्म आइपुगेको स्मरण गराएका थिए। काम गर्ने क्रममा सरकारका केही कमिकमजोरी रहेको भए पनि अबका दिनमा त्यसलाई सच्याएर जानुपर्ने उनको भनाइ थियो। 'सरकारका केही कमीकमजोरीहरू होलान्। अब दिनका त्यसलाई सच्याउँदै पार्टी नेताहरूका बीचमा सुदृढ एकता बनाउँदै अगाडि बढ्नुपर्छ', ओलीले बैठकमा भने, 'यो सरकारले कुनै पनि हालतमा गलत काम गर्दैन। म त्यो विश्वास दिलाउन चाहन्छौं। हामीले राम्रो काम गर्छौं।'

बैठकमा अध्यक्ष ओलीले यो सरकारले भ्रष्टाचार नगर्ने र गलत काम गर्नेलाई यसले कारबाही गर्ने विश्वास स्थायी कमिटीका सदस्यहरूलाई दिलाए। उनले भने, 'यो सरकारले सुशासन दिन्छ। यसले पार्टीको छबी बलियो बनाउछ।'

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बैठकमा उठिरहेका विषयलाई सम्बोधन गर्दै पार्टी एकताको काम केही ढिला भए पनि हामीले अब सम्पन्न गर्नुपर्ने बताएका थिए। बैठकमा लामो समय बोलेका अध्यक्ष ओलीले पुस मसान्तसम्म पार्टी संगठनको एकीकरणको कार्य पूरा गर्न प्रस्ताव गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बिहीबारको बैठकमा अध्यक्ष ओलीले पार्टी एकताको बाँकी सांगठनीक काम गर्नका निम्ति कार्यदल बनाउने प्रस्ताव पनि गरेका छन्। उनले पुससम्म पार्टी एकताका सबै काम गरिसक्ने, माघमा तहगत कमिटी, पार्टी कमिटीको भेला तथा बैठक र यस बीचमा केन्द्रीय कमिटीको बैठकको आह्वान गर्नेलगायतका प्रस्ताव गरेको नेकपाका नेता योगेश भट्टराईले बताए। उनले फागुन र चैतमा राष्ट्रिय जनजागरण अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका छन्। पार्टीका संगठन प्रणाली भताभूङ्ग अबस्थामा रहेको , नेतृत्वले सानोघेरामा रहेर निर्णय गरी सरकार चलाएको र दुई तिहाई प्राप्त सरकार आलोचित हुँदै गएको प्रति दलकै नेताहरुबाट असन्तोष व्यक्त व्यक्त भइरहेका सन्दर्भमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको यो भनाई आएको हो ।अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गरेपछि सदस्यहरूले एकताका बाँकी कामलाई पुरा कसरी गर्ने, कार्यदलले कसरी काम गर्छ लगायतका प्रश्न उठाएका थिए। यस विषयमा छलफल गरेर निर्णयमा पुग्न स्थायी कमिटीको बैठक शुक्रबार बिहान ८ बजे पुनः बस्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.