|

धनगढी : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता हुन, खड्गबहादुर विश्वकर्मा। उनी 'प्रकाण्ड'को नामबाट परिचित छन्। पार्टीमा नेतृत्व गरिहेका विप्लव जनसम्पर्कमा नआउँदा अहिले पार्टीका एजेण्डाहरूलाई नेता कार्यकर्तासम्म पुर्‍याउने काम प्रकाण्डले गरिहरेका छन्।

उनले मुलुकमा नयाँ क्रान्तिको आवश्यकता रहेको बताउँदै आइरहेका छन्। उनले भनेको नयाँ क्रान्ति कस्तो हो? मुलुकमा फेरि सशस्त्र युद्ध निम्त्याउने गृहकार्य भइरहेको हो? यिनै विषयमा थाहा खबरकर्मी भानुभक्त आचार्यले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड)सँग गरेको कुराकानीको संक्षेप।

आफ्नै राज्य र आफ्नै नेतृत्व भन्नुहुन्छ, कसरी सम्भव छ यस्तो?

त्यो त एकीकृत जनक्रान्तिबाट सम्भव छ। अरूबाट सम्भव छैन।

कहिलेबाट सुरु हुन्छ त तपाईंहरूले भनेको जस्तो एकीकृत जनक्रान्ति?

४ वर्षदेखि क्रान्तिको प्रकृया अघि बढेको छ। अब त यो अझै विकास हुँदै जान्छ। अझै विकास भएर एउटा गन्तव्‍यमा पुगेर निर्णायक हुन्छ। अनि जित्छ यसले।

फेरि पहिलेकै जस्तो सशस्त्र युद्ध गर्ने गृहकार्य भइरहेको हो?

होइन। १० वर्षको जनयुद्ध त पुरानो भइसक्यो। त्यसको आफ्नो एउटा ऐतिहासिक महत्व छ, नेपालको राजनीतिक आन्दोलनमा। नेताहरूले ठीक ढंगले त्यसलाई अगाडि बढाएको भए उहाँहरूकै नेतृत्वमा सबै कुरा पूरा हुने थियो। देश बदलिने थियो।

त्यतिबेला पनि तपाईंले नेतृत्व तहमै हुनुहुन्थ्यो। त्यो प्रकृया पूरा नहुनुमा आफूलाई पनि दोषी देख्नुहुन्न?

थिएँ। तर, मुख्य  होइन। सहायाक सहायक थियौँ। हामी त्यो बेला क्याडरनै थियौँ। म त २०५७ सालमा केन्द्रीय समितिमा पुगेको हुँ।

दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा गयौँ तर, निर्णायक ठाउँमा हामी थिएनौँ। हाम्रो विश्वास के थियो भने, त्यो बेला उनीहरूले ठीक ढंगले सोच्लान् भन्ने थियो। तर, ०६२/०६३ मा ती नेताहरूले धोका दिए। सायद त्यही भएर होला अहिले हाम्रो पार्टीको काँधमा नयाँ जिम्मेवारी आएको छ।

अबको परिवर्तनका लागि हतियारसहित क्रान्ति गर्ने योजना हो?

राज्यले के गर्छ भन्नेमा निर्भर हुन्छ। हामीले उठाएको त पोल्टिकल मुद्दा हो। यसको सोलुसन पोल्टिकल रूपमा खोज्ने भए अरू टन्टा गर्नुपर्दैन निहुँ खोज्‍ने र दमन गर्ने दृष्टिकोण बनाइयो र सरकारले त्यो हर्कत गर्‍यो भने त्यसको काउन्टर त जनताले गरिहाल्छन नि। त्यसको नेतृत्व त नेपाल कम्युनिस्ट पार्टीले गर्नुपर्‍यो। जस्तै भन्नुस्, हामी आन्दोलनमा जान्छौँ। दमन गर्छ। दमन के कस्तो हुन्छ? हामी त्यहीअनुसार बाटो बनाउँछौँ। राज्य बन्दुक लिएर आए त्यो बन्दुकको शासनमा त हामी बस्दैनौँ भन्नेमा अहिलेका शासकले प्रस्‍ट भए हुन्छ।

एक प्रकारको क्रान्ति सकियो भन्ने जनताले सोचेका छन्। अब विकास र समृद्धिको बाटोमा जानुपर्नेमा तपाईंहरू फेरि क्रान्ति भन्नुहुन्छ। जनताले पचाउँछन्?

जनताको त आवश्यक विषय भयो क्रान्ति। राष्ट्रको जीवनमा अनिवार्य विषय भयो। क्रान्ति त्यही बेलासम्म हुन्छ, जहिलेसम्म जनताले राज्यशक्ति प्राप्त गर्दैनन्।

अहिलेको राज्यशक्ति जनताको होइन र?

होइन। दलाल पुँजीपति वर्गको हो। संसदवादी दलका नेताहरूले त्यसको प्रतिनिधित्व गरिरहेका छन्। अहिले नेकपाको सरकार छ। उसले अहिले त्यो वर्गको नेतृत्व गरिरहेको छ।

शान्ति सम्झौतायताको परिवर्तनले पनि जनता राज्यशक्तिमा पुग्न पाएनन् त?

जनयुद्ध होइन। पृथ्वीनारायण शाहले एकीकरण गरेदेखि नेपाली जनताले आफ्नो सत्ता गुमाए। अहिलेबाट होइन।

एकपटक त तपाई‌ पनि सरकारमा जानुभयो। मन्त्री पनि बन्नुभयो। त्यो पनि पुँजीपति वर्गकै सरकार थियो?

त्यो बेला के थियो भन्नुहुन्छ भने, हामीले राजतन्त्रात्मक संसदीय व्यवस्थाविरुद्ध संघर्ष गरेका थियौँ, १० वर्ष। त्यो कमजोर भएको थियो। त्यो झण्डै विस्थापित भएको थियो। नयाँ बनिसकेको थिएन। त्यो बेला हामी गएका थियौँ।

ट्रान्जिसनल पोल्टिक्स मेनेज गर्न हामी गएका हौँ। तर, नेता विचलित भए। देशी–विदेशी षड्यन्त्र हुन थालेपछि हामीले त्यसलाई रिजेक्ट गरिदियौँ।

सत्तारूढ दलले तपाईंहरू कम्युनिस्ट नै मान्दैन। तपाईंहरू निर्वाचन आयोगमा दर्ता पनि हुनुहुन्न। नेपालमा को कम्युनिस्ट हो र को होइन? कसरी बुझ्ने?

दर्ता दुई प्रकारका छन्। एउटा जनतामा दर्ता हुने हो। अर्को दलाल सत्तामा दर्ता हुने हो। हाम्रो पार्टी जनतामा दर्ता हुने पार्टी हो। दलाल पुँजीपति वर्गको सरकारमा दर्ता हुने पार्टी होइन हाम्रो पार्टी।

श्रमजीवी जनताको क्रान्ति र आन्दोलनलाई दिग्भ्रमित गर्ने साम्राज्यवादी छन्, उनीहरू दलाल पुँजीपति वर्गको सत्तामा दर्ता छन्। तिनीहरू कम्युनिस्ट नै होइनन्। तिनी त दलाल, पुँजीपति वर्गका कम्युनिस्टस्वरूपका दलाल हुन्। जसलाई हामीले सामाजिक दलाल पुँजिवाद भनेका छौँ।

त्यसकारण कम्युनिस्ट नै होइनन् तिनीहरू। कम्युनिस्ट भए त हामीसँग सहकार्य हुने थियो। हामीले त प्रचण्डै कम्युनिस्ट रहेनन् भन्यौँ, कहाँ एमाले हो र?

प्रचण्ड कहिलेदेखि कम्युनिस्ट रहेनन्?

आन्तरिक दृष्टिले २०५८ देखि। बाह्‍य र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमले २०६२/६३ देखि।

तपाईंहरूका विभिन्न मुद्दा छन्। तीमध्ये १९५० यताका भारतसँगका असमान सन्धि खारेजी मुख्य हो। पहिले पनि यो मुद्दा उठाएकै हो। तर, सरकारमा जाँदा त बिर्सनुहुन्छ नि?

जुन पार्टी र जुन नेतृत्वले राष्ट्रिय मुक्तिको मुद्दा उठान गरेको हुन्छ र त्यसका निम्ति संघर्ष गरेको हुन्छ, त्यसले नै त्यसको सम्बोधनको निम्ति अन्तिमसम्म संघर्ष गर्नुपर्ने हुन्छ।

हाम्रोमा आम राजनीतिक आन्दोलन सडकमा गयो भने उठाउने काम भयो। अनि त्यसलाई सत्ताको निम्ति बार्गेनिङ गर्ने र पुरानो सत्तामा गएपछि छोड्दिने। यस्तो भयो विगतमा। त्यसैको रिपिटेसन ०६२/०६३ मा पनि भयो। यसले नेपाली जनतालाई धोका भयो। थप राष्ट्रघात पनि निम्तियो। अहिले हामीले यसैलाई कलेक्सन गर्न खोजेका छौँ। क्रान्तिको माध्यमबाट।

एकातिर समृद्धि र विकासको आयाम छ। अर्काेतिर तपाईंहरू क्रान्तिको कुरा गर्नुहुन्छ। जनताले साथ दिन्छन् भन्ने लागेको छ?

अहिले सायद समृद्धि र विकासको कुरा संसदवादीहरूले गरिरहेका छन्। यसको नेतृत्व अहिलेको सरकार र सरकारको पार्टीले गरिरहेको छ। एउटा उखान छ नि समाजमा ‘काँशी जाने कुतीको बाटो’ भनेजस्तै हो यो। नेपाली जनतालाई बेवकुफ बनाउन। आफूचाहिँ राष्ट्र र जनविरोधी काम गर्ने, भ्रष्टाचार र कमिसनको खेलो गर्ने। अनि त्यसपछि सामाजिक असुरक्षा मच्याउने। अनि भन्ने विकास र समृद्धि। कसरी सम्भव भयो?

तपाईंलाई आफैँलाई चन्दा असुल गरेको मुद्दा पर्‍यो। तपाईंका नेता कार्यकर्ताहरू पनि खुलेआम चन्दा असुली गरिरहेका छन् भन्ने आरोप पनि बढिरहेको छ। जबरजस्ती चन्दा असुल गर्ने र फेरि जनताका लागि भन्दै क्रान्ति गर्छाैँ भन्नु दोहोरो चरित्र होइन?

हाम्रो पार्टी र हाम्रा नेता, कार्यक्रताहरूलाई जबरजस्ती चन्दाको आरोप लगाइएको छ। यो डोनेसनमा बाँचेका नेपाली दलालहरूको हाम्रो पार्टीकाविरुद्ध ठूलो अफवाह र षड्यन्त्र हो।

यो देशमा हाम्रो पार्टी मात्रै एउटा स्पष्ट आर्थिक नीति र पद्धतिका साथ चलेको छ। अरू पार्टीका नेता धनी हुन्छन्, हाम्रा पार्टीका नेता गरिब हुन्छन्। अहिले नेपालका भ्रष्ट संसदवादी दलका नेताहरू भयंकर आतंकित भएका छन् र हामीविरुद्ध यस्ता हमला गरिरहेका छन्।

को–को हुन् आतंकित भएका?

सबै–सबै छन् नि, ती पार्टीहरू सबै। तपाईंलाई थाहा छँदै छ नि! अहिले नेकपा त्यसैबाट आतंकित छ। कांग्रेस भन्ने त्यसैबाट आतंकित छ। आतंकित भएरैअफवाह फैलाइरहेका छन्।

वैधानिक रूपले चन्दा लिइरहेका छौँ भन्नुभएको हो?

नेपालका बुद्धिजीवी, व्यापारी, व्यवसायी, कर्मचारीहरूसँग आर्थिक सहयोग लिने हाम्रो नीति छ। सहयोगको अनुरोध गर्ने नीति छ। हामीले जनताबाट सहयोग लिने स्पष्ट नीतिका साथ पार्टीका सबै निकायले पहल पनि गरिरहेका छन्। तर, जबरजस्ती चन्दा भन्ने हाम्रो नीतिविपरीत हो।

कम्युनिस्ट पार्टीमा फुट पनि सामान्यझैँ देखिन्छ। तपाईं र विप्लवबीचको अन्तरद्वन्द्व पनि बाहिर आइरहेको छ। तत्कालीन माओवादीबाट फुटेरै आएको तपाईंको दल फेरि फुट्दैन भन्न सकिन्छ र?

यो हाम्रो पार्टी, लिडरसिप र क्रान्तिविरुद्ध षड्यन्त्र हो। यो वास्तविकता होइन।

यो यथार्थ हो कि नेपालका राजनीतिक दल तथा नेताहरूले फुट्न र आपसमा झगडा गर्न मात्रै जानेका छन्, मिल्न जानेका छैनन्। अर्काे विदेशी शक्तिहरू, साम्राज्यवादीहरू हाबी छन्। जो नेपालका राजनीतिक पार्टीहरूलाई टुक्रा–टुक्रा पारेर, गुटै–गुटमा बदलेर अनि ती सबै गुटलाई आफूले चलाउने र आफू अनुकूल बनाउने गर्दछन्। हामी ती दुवैप्रति आफू जानकार र सचेत छौँ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.