माझियो त नेताहरूको मन ?

|
File Photo

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार सकिएको छ। गएको मंसिर २९ गतेदेखि शुरु भएको बैठक ११ दिन चल्यो। बीचबीचमा स्थगन हुँदै चलेको बैठकमा नेताहरूले करिब ३२ घण्टा बहस गरे।

नेकपाको स्थायी कमिटीको बैठक बस्न नसकेको कुरा लामो समयदेखि चर्चाको विषय बनेको थियो। बैठक समयमा बस्न नसक्दा नेकपाका स्थायी कमिटीका सदस्यहरूले खुला रूपमै बोल्न थालिसकेका थिए। नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले त स्थायी कमिटीका सदस्य सबैलाई बोलाएर छुट्टै भेला गरेर स्थायी कमिटीको बैठकको माग गरे। 

चर्चामा बामदेव

पछिल्लो समय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका बामदेव गौतमले गएको मंसिर २२ गतेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कुराएको भन्दै बैठक छाडेर बाहिरिए। जसमा गौतमसहित अन्य नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसमेत थिए।

स्थायी कमिटी बैठकको पहिलो दिन मंसिर २९ गते अध्यक्षद्वय ओली र प्रचण्डले संयुक्त राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। अध्यक्षको प्रतिवेदन प्रस्तुत भएलगत्तै नेता गौतमले १६ पेजको छुट्टै प्रतिवेदन बैठकका सदस्यलाई बाँडे। जसका कारण गौतम बैठक अवधिभर चर्चाको विषय बने। जुन प्रतिवेदन अध्यक्ष तथा प्रधानमन्त्रीलक्षित विषयवस्तु मात्र थियो।

गौतमको दस्तावेजलाई सञ्चारमाध्यमले फरक मत, छुट्टै प्रतिवेदन भनेरसमेत अर्थ्याए। तर नेकपाकै स्थायी कमिटीका सदस्यले नेता गौतमले छुट्टै प्रतिवेदन वा दस्तावेज नभएर आलोचना, कुण्ठाको दस्तावेज बैठकमा प्रस्तुत गरेको रूपमा अर्थ्याए। गौतमकै निकट मानिएका नेता किरण गुरुङले गौतमले छुट्टै प्रतिवेदन नभएर आफ्नो विचार धारणा मात्र प्रस्तुत गरेको बताए।

कार्यदलमाथि कार्यदल

नेकपाको स्थायी कमिटीको बैठकको अन्तिम दिन शुक्रबार नेताहरू करिब चार घण्टा बैठकमा बहस गरे। विशेषत: अब बैठकलाई कसरी टुंग्याउने भन्ने विषयमा छलफल केन्द्रित थियो। बुधबार बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहालले बैठकमा उठेका विषयवस्तुलाई समेट्न छुट्टै कार्यदल बनाएर जाने प्रस्ताव गरेका थिए।

बिहीबार अर्का अध्यक्ष केपी शर्मा ओलीले लामो सम्बोधनपश्चात् पार्टी संगठनको काम खासगरी एकताको बाँकी कार्यभार पूरा गर्न छुट्टै कार्यदल बनाएर जाने प्रस्ताव गरे। जसमा उनले पुसमा कार्यदलले एकताको सम्पूर्ण काम पूरा गर्ने, माघमा पार्टीको भेला, बैठक गरिसक्ने, फागुन र चैतमा देशव्यापी राष्ट्रिय अभियान सञ्चालन गर्ने भन्ने प्रस्ताव थियो। 

त्यसै विषयलाई निर्णय गर्दै शुक्रबार नेकपाको स्थायी कमिटीको बैठक सकिएको छ। छुट्टै कार्यदल बनाएर समस्या समाधान गर्नेगरी बैठक सकिएको छ। सांगठनिक एकीकरण, विधानलगायतका विषयमा गृहकार्य गरेर सुझाव प्रतिवेदन पेश गर्नका लागि कार्यदल गठन गरेको छ। कार्यदलले पार्टी एकताको सम्पूर्ण कामको गृहकार्य गरेर सचिवालय हुँदै स्थायी कमिटीमम प्रस्तुत गर्नेछ।

बैठकले रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोख्रेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे,बेदुराम भुसाल, रघुविर महासेठ सदस्य रहेको कार्यदल गठन गरेको छ। कार्यदलले पुस मसान्तभित्र अर्को स्थायी कमिटी बैठकद्वारा सांगठनिक एकीकरणका सबै काम पूरा गर्ने गरी निर्णय गर्नका लागि अध्यक्ष कहाँ सुझाव प्रतिवेदन प्रस्तुत गर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।  यही पुस महिनाभित्र नै सांगठनिक एकीकरणका सम्पूर्ण काम पूरा गर्नेगरी कार्यदलले काम गर्ने निष्कर्ष बैठकले लिएको छ।

त्यसो त पार्टी एकीकरणको काम पूरा गर्नका निम्ति नेकपाले कार्यदल गठन गरेको यो पहिलोपटक होइन। यसअघि पनि गठन भइसकेका छन्। पार्टी एकताको कामलाई १५ दिनभित्रै टुंग्याउने गरी एकीकरणलगत्तै जेठ १६ गते अन्तरपार्टी निर्देशन जारी गरिएको थियो। जसमा ७ वटा प्रदेश, १ प्रवास, मातहतका जिल्ला कमिटी र २२ जनसंगठनको एकतालाई टुंगो लगाउन दुवै पार्टीका गरी चारचार सदस्यलाई जिम्मा दिइएको थियो। कार्यदलका सदस्यले एकताको उत्साह बोकेर कार्यक्षेत्रमा खटिएका पनि हुन्। तर, भदौ मसान्तसम्म पनि एकाधबाहेक अधिकांशले जिम्माको काम पूरा गर्न सकेनन्। र, बाँकी काम टुंग्याउने गरी प्रस्ताव तयार पार्न सचिवालयको बैठकले अध्यक्षद्वयलाई जिम्मा दियो।

असोज पाँच गतेको सचिवालय बैठकले बैठकमा प्रदेश कमिटीको प्रस्ताव पेशमात्रै गरेनन्। जिम्मेवारी बाँडफाँट गरे। सातै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकिए। प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट भएको विषय सचिवालयमै सर्वसम्मत हुन सकेन। नेता माधव नेपालले सार्वजनिक रूपमै असन्तुष्टि पोखे। त्यो असन्तुष्टिले स्थायी कमिटी बैठकमा पनि प्रवेश पायो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई तत् प्रदेशका इन्चार्ज तोकिएको बिवादको मुख्य विषय बनेको थियो। अघिल्लो कार्यदलले प्रस्ताव गरेको नाममध्ये केही नामहरुमा पुनर्विचार हुने बैठकबाट बाहिरिदै गर्दा स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए।

यसअघि बसेको सचिवालयको बैठकले स्थायी कमिटी बैठकले प्रदेश कमिटी अनुमोदन गर्ने सहमति भएको थियो । त्यसमा यसविषयलाई लिएर असन्तुष्टि जनाएका नेता माधवकुमार नेपाललेसमेत सहमति जनाएका थिए। पछिल्लो पटक यही प्रयोजनका निम्ति नेकपाको सचिवालयले रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदल गठन गठन गरेको थियो। गएको कार्तिक ८ गते बसेको नेकपाको सचिवालय बैठकले पार्टी एकताको सबै काम पूरा गर्नका लागि खाका बनाउने जिम्मा सचिवालयका दुई नेतालाई दिएको थियो। तर त्यो कार्यदलले प्रदेश कमिटीका सदस्य मात्रै सिफारिस गर्न सक्यो। तर अब यो बैठकले कार्यदल गठन गरेर एकताको सम्पूर्ण कार्यभार पूरा गर्ने नेताहरू दाबी गरेका छन्।

प्रतिवेदनमाथि कस्तो परिमार्जन!

११ दिन लामो बैठक बसेर शुक्रबार बैठक सम्पन्न भएको छ। बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि बैठकमा उठेका विषयहरु थपघट गर्नेगरी प्रतिवेदन पारित गरेको छ। बैठकले प्रतिवेदनमा सच्याउनुपर्ने कुरा सचिवालयलाई जिम्मा समेत लगाएको छ। तर कुन कुन विषयमा परिमार्जन गर्ने भन्ने विषय भने स्पष्ट छैन। बैठकले कुन–कुन कुरा परिमार्जन गर्ने हो निष्कर्ष दिन सकेको छैन। ‘अध्यक्षद्वयले बैठकमा हामीले उठाएका विषय समावेश गर्छौ भनेर कसम खानुभएको छ', बैठकपछि नेता योगेश भट्टराईले भने।

राजनीतिक प्रतिवेदनलाई पूर्णता दिने जिम्मा सविचालयलाई दिइएको नेता भट्टराईले बताए। उनले भने, 'अध्यक्षद्वयले परिमार्जित प्रतिवेदन सचिवालयको बैठकमा प्रस्तुत गर्नुहुनेछ र सचिवालय पारित गरेपछि मात्रै प्रतिवेदनले पूर्णता पाउनेछ।'

माझियो मन ?

नेकपा बैठकमा पार्टी काम, सरकारको कामकारबाहीलाई लिएर थुप्रै बहस भए। खासगरी अध्यक्ष तथा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर चर्काचर्की नै पर्यो। पार्टी अध्यक्षले एकलौटी ढंगले निर्णय गरेको, आफ्ना नजिककालाई अवसर र बाहिरकालाई पाखा लगाएको भन्ने चर्को आरोप बैठकमा खेप्नुपरेको थियो। 

यो कुरा बुधबार नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले पनि पुष्टि गर्छ। उनले बैठकलाई सम्बोधन गर्दै 'सरकार पार्टीले चलाउने हो, सरकारले पार्टी चलाउने होइन' भनेको कुराले पनि पुष्टि गर्छ। उनले संसारका कुनैपनि ठाउँमा पार्टीले सरकार चलाउनुपर्ने बताएका थिए।

अध्यक्ष ओलीको कार्यशैलीको विषयलाई लिएर बैंठकमा नेता बामदेव गौतम, भिम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरूले प्रश्न उठाएका थिए।

बैठकमा आत्माआलोचनाको विषय पनि चर्को रुपमा उठेको थियो। खासगरी भर्खरै सम्पन्न भएको एशिया प्याशीफिक सम्मेलनको विषयलाई लिएर ती कुरा आएका थिए। तर बैठकको उत्तरार्धमा आइपुग्दा अध्यक्ष ओली न आत्मआलोचित भए न उनले आलोचनालाई वस्तुनिष्ठ ढंगले ग्रहण नै गरे। अर्का अध्यक्ष प्रचण्डले ‘सदस्यले उठाएका महत्त्वपूर्ण सुझाव प्रतिवेदनमा अटाइनेछन्’ भनेर सान्त्वना पार्ने काम गरेका छन्।

बैठक जसरी शुरु भएको थियो, समापन हुदै गर्दा फरक रुपमा समापन भएको छ। खासगरी बैठकमा नेताहरुले मन माझ्ने काम भएको प्रतिक्रिया दिएका छन्। ११ दिन लामो बैठकमा जेजति बहस भए पनि निष्कर्ष सकारात्मक भएको नेता घनश्याम भुसालले बताए। ‘हामीले निर्णय राम्रो गरेका छौँ। अध्यक्षहरुले बैठकमा उठेका विषयप्रति प्रतिवद्ध भएमा एकचरण पार्टी राम्रो हुन्छ’, नेता भुसालले भने।

बैठकको मर्म र भावनालाई नेतृत्वले आत्मसाथ गर्ने हो भने एकचरण पार्टीले गतिलिने उनले विश्वास व्यक्त गरे। स्थायी कमिटीको बैठक यसअघि नै बसेको भए धेरै कुरा समाधान भइसक्ने भुसालको भनाइ छ। 'स्थायी कमिटीको बैठक यसभन्दा अघि नै हुनुपथ्र्यो,' उनले भने, यो बैठकमा व्यक्त विचार र भावना राम्ररी आत्मसाथ गर्ने हो भने एकचरण पार्टी र सरकार दुवैले गति लिन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.