|

सोलुखुम्बु : अधिकांश स्थानीय सरकार विलासिता तथा सुविधामा लिप्त भएको भन्ने व्यापक गुनासो आइरहेको बेला जिल्लाको महाकुलुङ  गाउँपालिकाले भने सवारीसधान खरिदमा विनियोजित बजेट छात्रवृत्ति तथा अन्य गाउँपालिकाको विकास निर्माणमा खर्च गर्ने भएको छ। सवारीसाधन खरिद शीर्षकमा विनियोजित ६२ लाख बजेट रकमान्तर गरी विभिन्न विकास निर्माणसँगै एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय भएको हो। 

गाउँपालिकाको मंगलबार सम्पन्न गाउँकार्यपालिका बैठकले महाकुलुङ १ का रोशन कुलुङलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्तिस्वरूप ४ लाख रुपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए। गाउँपालिका अध्यक्ष किराँतीका अनुसार विपन्न परिवारका रोशनलाई एसइईमा सोलुखुम्बु जिल्ला प्रथम हुँदै हालै एमबिबिएसको प्रवेश परीक्षामा छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएकाले गाउँपालिकाको तर्फबाट पनि थप सहयोग गरिएको हो। यस्तै फार्मेसी डिप्लोमा अध्ययनका लागि महाकुलुङ २ की एकता कुलुङलाई पनि छात्रवृत्तिस्वरूप एकलाख दिइने गाउँ कार्यपालिकाले निर्णय गरेको छ।

स्थानीय सरकार आएको पहिलो वर्षमै केही स्थानीय तहले सवारीसधान खरिद गरेको भए पनि महाकुलुङले चालु वर्ष खरिद गर्ने निर्णय गरेको थियो। अधिकांश स्थानीय सरकारको आफ्नै डोजर, रोलर, गाडी, मोटरसाइकल समेत रहेको छ। महाकुलुङमा पाँच वडा छन्। वडा नम्बर तीन बाहेकको वडामा एकएक वटा मोटरसाइकल छन् भने गाउँपालिकासँग अन्य तीनवटा रहेको लेखा अधिकृत खरिधन कुलुङले जानकारी दिए। 

गत वर्षनै यस गाउँपालिकामा सडक पुगिसकेको छ। चालु आर्थिक वर्षमा सवारीसाधन गरिद गर्न विनियोजन गरिएको रकममध्ये सुर्के खोला लघु जलविद्युत आयोजनालाई १० लाख, पात्ले सिँचाइ आयोजनालाई ५ लाख, गुदेलमा बर्थिङ सेन्टर मर्मतका  लागि ४ लाख विनियोजन गरिएको गाउँपालिकाका लेखा अधिकृत खरिधन कुलुङले जानकारी दिए। उनका अनुसार वडा नम्बर ४ कोे वर्थिङ सेन्टर मर्मतकै लागि पनि ४ लाख खर्च गरिनेछ।

गाउँपालिकाभित्रको कक्षा ८ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा ३ लाखलगायत शीर्षकमा बजेट छुट्याइएको छ। गाउँपालिका अध्यक्ष सागर किराँतीले भने,'गाउँपालिकामा अहिलेको अवस्थामा विलासिताका सामग्रीभन्दा जनताको चाहना विकास निर्माण हो। त्यसैले जनताको चाहनाअनुसार रकमान्तर गरी खर्च गर्ने निर्णय गरेका हौँ।'

विद्यालय सुधार योजना निर्माण र शिक्षा शाखा व्यवस्थापन निर्माण लागि चार लाख, पात्ले तोस्खम सिँचाइका लागि पाँच लाख, ट्रान्समिटर खरिदका लागि तीन लाख, सगरमाथा मावि खानेपानी फिल्टरका लागि तीनलाख, तुमाउ स्वास्थ्य चौकी फर्निचर व्यवस्थापनका लागि चार लाख, सुर्के खोला लघुजलविद्युत आयोजनाका लागि रु.१० लाख विनियोजन गर्ने निर्णय गरेको पनि अध्यक्ष किराँतीले बताए। 

जिल्लाको आठ स्थानीय तहमध्ये माप्यदुधकोशी, नेचा सल्यान र महाकुलुङले चालु वर्ष गाडी खरिद गर्ने पक्षमा छन् भने खुम्बुपासाङल्हामु गाउँपालिमाका सडक नै नपुगेको कारण अहिलेसम्म कुनै पनि सवारीसाधान खरिद गरेको छैन। अन्य तीन गाउँपालिका तथा एक नगरपालिका सोलुदुधकुण्डले यस अघिनै सवारीसाधन खरिद गरिसकेको छ। 

चाक्चाकुरको अवसरमा तीनदिन स्थानीय सार्वजानिक बिदा

गाउँपलिकाले कुलुङ जातिको महान चाडको रूपमा लिइने चाक्चाकुरको अवसरमा स्थानीय सार्वजानिक बिदा दिने निर्णय गरेको छ। कुुलुङ जातिहरूको बाहुल्यता रहेको यस गाउँपालिकामा चाक्चाकुरको अवसरमा पुस १५, १६ र १७ गते स्थानीय बिदा दिने पनि सोही गाउँकार्यपालिकाले निर्णय गरेको छ। 

चाक्चाकुरको शाब्दिक अर्थ कुलुङ भाषामा पौष महिना भन्ने हुन्छ यद्यपि यसलाई अन्नपात दिने प्रकृतिलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यसरी नै अन्नपात वर्षाएर सारा प्राणीजगतकाे जीवन बचाउन भगवानलाई पूजा गर्ने कुलुङहरूको पर्व भनेर बुझ्ने पनि गरिन्छ।

गाउँपालिकाभित्र जुवातास प्रतिबन्ध

प्लास्टिकमुक्त, सिसाको बोतलमुक्त लगायतको पर्यावरणीय हिसाबले महत्व बोकेका क्षेत्रमा ध्यान दिदै आएको गाउँपालिकाले जुवा, तास र डाइस समेत खेल्न खेलाउन प्रतिबन्ध लगाएको छ। गाउँपालिकाभित्र कही कसैले पनि अब जुवातास तथा डाइस खेलाउन पाउने छैनन् भने खेल्न समेत निशेध गरिएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए। 

महाकुलुङ गाउँपालिका कस्तो हो?

साविक तीनवटा गाविस बुङ, गुदेल र छेस्कामसहित सोताङको दुई  वटा समेटेर निर्माण गरिएको उक्त गाउँपालिका निक्कै बिकट गाउँपालिकाको रुपमा परिचित छ। मेरापिक, सिलुछो डाँडा, केन्पा डाँडाको तीनतिर सीमा रहेको यो गाउँपालिका ६४८.०५ वर्ग किलोमिटरमा फैलिएर २७.३७’ देखि २७.६२’ उत्तरी आक्षांश र ८६.५०’ देखि ८६.८४’ पूर्वी देशान्तरमा अवस्थित रहेको छ।

वि.सं.२०६८ को जनगणना अनुसार ११,४५२ जनसंख्या रहेको यस गाउँपालिकालाई पाँच वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा संखुवासभा जिल्ला, पश्चिममा खुम्बु पासाङल्हामु र सोताङ गाउँपालिका, उत्तरमा खुम्बुपासाल्हामु गाउँपालिका तथा दक्षिणमा खोटाङ र भोजपुर जिल्लासँग जोडिएको छ। त्यहाँ कुनै पनि आकस्मिक दुर्घटना घटेमा हेलिकाेप्टरमार्फत उपचारको लागि सदरमुकाम या राजधानी लैजानु पर्ने बाध्यता छ। कुलुङ जातिको बाहुल्यता रहेको उक्त गाउँपालिकामा शेर्पा, क्षेत्री र दलित समुदायका मानिसको बसोबास रहेको छ।

कुलुङ जातिको उत्पत्ति थलो (सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्र) सँगै संखुवासभा, भोजपुर, इलाम, सुनसरी, मोरङ, झापा, काठमाडाैं लगायत जिल्लामा बाक्लो बस्ती रहेको कुलुङ अगुवाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.