|

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफ्ना धारणा राखिरहेका थिए। कर्मचारी समायोजनका बारेमा बोलिरहेका थापाको निशानामा प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित।

विशेष समयमा धारणा राखेका थापालाई सभामुख कृष्णबहादुर महराले चार मिनेटको समय दिएका थिए। थापाले भाषणको सुरुवात नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशनको पहिलो दिन पुस ११ गते संसदमा गरेको सम्बोधनको भनाइबाट शुरु गरेका थिए। लोकतन्त्रका कारण विकास तीव्र गतिमा हुन सकेन भन्ने आशयको प्रचण्डको उक्त अभिव्यक्तिलाई 'नाच्न नजान्ने आँगन टेढो यस्तैलाई भन्छ' भन्दै सरकारको कामको ढंग नपुगेको बताए। उनले सिंहदरबारदेखि स्थानीय तहसम्म कर्मचारी आन्दोलनमा रहेकाले सरकारले कसरी कर्मचारीको व्यवस्थापन गर्छ? भन्ने प्रश्न तेर्स्याए।

कर्मचारी समायोजनमा कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको ऐन, मन्त्री पण्डित भारतमा पढ्न गएको, लगायतका कुरा राखिरहेका बेला थापाको माइक काटियो। चार मिनेट समय पाएका थापाले बोलेको तीन मिनेट पनि भएको थिएन। थापाको माइक काटेर सभामुख महराले बोल्ने पालो नरबहादुर धामीलाई दिए।

गगनकुमार थापाले माइक काटेपछि चुप लागेर सिटमा बसेनन्। उनी सभामुखसँग झर्किए। उनले आफूलाई दिएको समय पूरा नहुँदै माइक काटिएको भन्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडलाई भने। धामीले बोलिसकेपछि सभामुख महराले सांसद तेजुलाल चौधरीलाई समय दिए। यता खाँड आफ्नो सिटबाट उठिसकेका थिए। खाँडले संसदको घडी बिग्रिएको भन्दै सभामुखलाई जानकारी दिए। सभामुखले संसदको रेकर्डअनुसार सांसद थापा ३० सेकेन्ड बढी बोलेको भन्दै जवाफ फर्काए। त्यसपछि खाँडले 'त्यै भएर घडी बिग्रिएको भनेको सभामुख महोदय' भने। सभामुख र खाँडबीच संवाद भइरहेका बेला पनि गगन थापाको रिस मरेको थिएन। उनले सभामुखतिर मोबाइल देखाए। उनले मोबाइलमा समय देखाएका थिए। मोबाइलमा समय हेर्न सभामुख महरातिर संकेत गरेर बस्दैगर्दा पनि सांसद थापाको आक्रोश कम भएको थिएन। उनको आक्रोश देखेर कांग्रेसका प्रमुख सचेतक खाँड पनि केही असमन्जस्यमा परेका थिए। भलै खाँडले भने कुटनीतिक भाषामा सभामुखलाई आफ्ना कुरा सम्झाइरहेका थिए। उनीमाथि भएको कुरा खाँडले सदनमा राखिँदा पनि थापा आक्रोशित थिए।

त्यसपछि सभामुख महराले 'म्यानेजमेन्टको विषय हो, हाम्रो ध्यानाकर्षण भएको छ', भन्दै संवाद अन्त्य गरेका थिए।

सम्बन्धित समाचारः

हेर्नुहोस् भिडियो, (भिडियोमा गगनकुमार थापाको मन्तव्य २४ मिनेट २० सेकेन्डमा शुरु भएर २६ मिनेट ५३ मिनेटमा सकिन्छ) :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.