|

धनकुटा : वर्षासँगै भएको हिमपातले कोशी पहाडको उच्च भेगका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन्। शुक्रबार मध्यान्हबाट हिमपात सुरु भएपछि धनकुटा, तेह्रथुम र संखुवासभा र ताप्लेजुङका उच्च भेगका डाँडाकाँडा सेताम्मे भएका हुन्।

धनकुटा सदरमुकामको निगालेदेखि तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन्। यो क्षेत्रमा वर्षासँगै यो सालकै पहिलो पटक हिमपात भएको हो। दशकपछि यी जिल्लाका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको छ। धनकुटाको हिले, जोरपाटी, सिधुवा हुँदै तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्के लगायत क्षेत्र हिउँले ढाकेको छ। यी क्षेत्रमा अघिल्ला वर्षहरुमा यो भन्दा ढिलो मात्रै हिमपात हुने गरेको थियो। पछिल्लो दशकसम्म हिमपात नभएका तेह्रथुमका वसन्तपुर, जिरिखिम्ती, लसुने, घुर्मिसे, सिमिनाक्सी लगायत क्षेत्रमा पनि हिमपात भएको छ।

धनकुटाको हिले जोरपाटी सिधुवामा एकदशक अघि मात्रै हिमपात भएको सिधुवाका ज्ञानेन्द्र कार्कीले बताए। तेह्रथुमको चौकीदेखि माथिको क्षेत्रमा दिउँसोबाट दुई फिट हिमपात भएको छ। दिउँसोबाट उच्च क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ। हिउँ खेल्न धनकुटा र तेह्रथुमको तल्लो क्षेत्र र सुनसरीको धरानदेखि समेत सयौँको संख्यामा मानिस पुगेका छन्। धनकुटाको भीरगाउँ, निगाले,ओक्मालुङ हुँदै तेह्रथुमको ओयाक्जुङ, श्रीजुङ, मोराहाङ, आम्बुङ, म्याङलुङ, सोल्मा, सुङनाम लगायत बस्तीहरूमा समेत बाक्लो तुषारो परेको छ।

लामो समयपछि एकसाथ वर्षा र हिमपात भएका कारण ह्वात्तै चिसो बढेको छ। चिसाका कारण सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ। हिमपातका कारण चिसो बढेपछि दर्जनौँ सरकारी र गैरसरकारी कार्यालयका कार्यक्रमहरू समेत स्थगित भएका छन्। वर्षाले किसानलाई समेत हर्षित बनाएको छ।

पाँच महिनादेखि वर्षा नहुँदा हिउँदे बाली लगाउन नपाएका किसानलाई वर्षाले बाली लगाउन सहज हुने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.