|

झापा : गजलकार भोजराज घिमिरेको छन्द/बहरबद्ध गजलकृती 'निर्बन्ध आकाश'माथि अन्तर्क्रिया गरिएको छ।

झापाको दमकमा शुक्रबार आयोजित अन्तर्क्रियामा युवा गजलकार सुरेश सुवेदीले घिमिरेका गजलमा लय पक्ष अत्यन्त सशक्त भएको तर शिल्प पक्षमा परिष्कार गर्नुपर्ने धारणा राखे। उक्त कृति प्रयोगका रूपमा पनि लेखिएको बताउँदै सुवेदीले अवकाशपछिको जीवनमा छन्द/बहर जस्तो जटिल विषयमा अध्ययन गरेर सिर्जना गर्नु साँच्चै अनौठो भएको धारणा राखे।

अर्का टिप्पणीकर्ता कवि, समालोचक शिव प्रणतले घिमिरेले आफूलाई गजलमै समर्पित गरिरहेका र गजलप्रतिको उनको लगाव लोभलाग्दो रहेको बताए। गजल आफैँमा जटिल विधा भएको र त्यसमाथि छन्द/बहरमा लेख्नु कठिन हुने भन्दै प्रणतले यस्तो कार्य साधनाबाट नडराउने मान्छेले मात्र गर्नसक्ने धारणा राखे।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मंचका अध्यक्ष कवि/समालोचक घनेन्द्र ओझाले उक्त कृति पुराना सर्जकका लागि पाठ र नयाँ सर्जकलाई चुनौती भएको बताए। साधना र अध्ययन स्रष्टाका लागि अनिवार्य र अपरिहार्य कुरा रहेका भन्दै ओझाले उक्त कृतिका लागि घिमिरेलाई बधाइ पनि दिए।

प्रमुख अतिथि डा. भीम खतिवडाले घिमिरेले लामो प्रशासनिक, सामाजिक तथा पारिवारिक जीवनमा भोगेका, देखेका अनुभव र अनुभूतिलाई काव्यात्मक रूपले आफ्ना गजलमा उतारेका बताए। खतिवडाले आगामी दिनमा अझ सशक्त सिर्जना र कृतिको घिमिरेबाट अपेक्षा गरिएको पनि बताए।

दमक क्याम्पस साहित्यिक विद्यार्थी मंच आयोजक र घनश्याम पथिकले संयोजन गरेको उक्त कार्यक्रममा रोहित पराई, सुमन राई, रश्मि असफललगायतले गजल वाचन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.