बेरोजगारी प्रमुख समस्या

|

गुल्मी : रेसुङ्गा नगरपालिका १० की २० वर्षीया मीना पाण्डे रेसुङ्गा बहुमुखी क्याम्पसमा परीक्षा छ भन्दै मंसिर २४ गते घरबाट हिडिन्। घर छोडेको १३ दिसम्म पनि सम्पर्कमा नआएपछि उनकी सासु छत्रदेवी पाण्डेले पुस ७ गते बुहारी हराएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइन्। 

मुसिकोट नगरपालिका २ की १७ वर्षीया मनिषा महत असार २९ गते माइत जान्छु भन्दै घरबाट हिडिन्। स्थानीय बिमल सुनारसँग अन्तरजातीय विवाह गरेकी महत सम्पर्कविहीन भएपछि चारदिन पछि श्रीमानले नै श्रीमाती हराएकोले खोजी गरिदिन भन्दै प्रहरी कार्यालयमा निवेदन दर्ता गरे। अहिले पाण्डे र महत मात्र होइन, जिल्लामा मानिस हराएका निवेदनको संख्यामा उल्लेख्य रुपमा बृद्धि भएको छ। 

साउनदेखि मंसिरसम्म ६३ हराए

जिल्ला प्रहरी कार्यालय गुल्मीमा यसैगरी मानिस हराएका उजुरीमा बृद्धि हुँदै गएको छ। आर्थिक वर्ष २०७५/०७६ को पछिल्लो पाँच महिनामा मात्रै ६३ जना हराएका छन्। हराएकाहरूमध्ये सबैभन्दा धेरै महिला ३१ जना छन्। जुन कुल संख्याको ४९.२० प्रतिशत रहेको जिल्ला प्रहरी कार्यालयकी महिला तथा बालबालिका सेलकी प्रजयशोधा खनालले जानकारी दिइन्। त्यस्तै सातजना बालक, १३ बालिका तथा १२ पुरुष हराएको निवेदन पनि प्रहरी कार्यालयमा दर्ता भएका छन्।

हराएका कुल ६३ जनामध्ये १९ जना अझै फेला परेका छैनन्। जसमध्ये महिला १०, पुरुष छ र तीन बालिका बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हराएका बालिका भने सबै फेला परेका छन्।

अघिल्लो दुई वर्षमा १६९ जना हराए

आर्थिक वर्ष २०७३/०७४ मा कुल ७९ जना मानिस हराएका छन्। जसमध्ये महिला ६२ जना, बालक ११ जना र बालिका छ जना छन्। हराएकामध्ये महिला २५, बालक र बालिका पाँच-पाँच जना गरी ३५ जना सम्पर्कमा आएका छन् भने ४४ जना सम्पर्कबाहिर छन्। हराउनेहरूको संख्या आर्थिक वर्ष २०७४/०७५ मा बृद्धि भई ९० पुगेको छ। जुन अघिल्लो आर्थिक वर्षको भन्दा ११ ले बढी हो। २०७४/०७५ मा महिला ७०, बालिका ११ र बालक नौजना हराएको तथ्यांक जिल्ला प्रहरी कार्यालयमा छ। जसध्ये महिला १२, बालिका पाँच र बालक चार जनामात्रै भेटिएका छन्। बाँकी ७९ जना अझैसम्म प्रहरी कार्यालयका यम खत्रीले जानकारी दिए।

 १६ देखि २५ वर्षसम्मका महिला बढी हराए

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी महिला हराएका छन्। तीमध्ये १६ देखि २५ वर्ष उमेर समूहका सबभन्दा बढी हराउने गरेको पाइएको छ। विवाह गर्दा भागेर जानु र माइती पक्षले हराएको भनेर उजुरी दिनु तथा भेटिएपछि प्रहरीको सम्पर्कमा नआउनु महिला हराउनुको प्रमुख कारण बनेको महिला तथा बालबालिका सेलकी खनालले बताइन्। त्यस्तै अधिकांश पुरुषहरू रोजगारीको लागि विभिन्न ठाउँमा जाने र श्रीमती अर्कैसँग जानुले पनि महिला हराउनेको संख्यामा बृद्धि भएको हो। त्यसभन्दा बाहिर शारीरिक अपांग, मानसिक सन्तुलन गुमाएका, घरपरिवारको झगडा, सामाजिक अपहेलना आदि कारणले गर्दा पनि मानिसहरू हराउने गरेको प्रहरीले जनाएको छ।

भेटिएको जानकारी प्रहरीमा आउँदैन

मानिस हराएको उजुरी प्रहरीमा आए पनि भेटिएपछि भने कुनै जानकारी नआउनुले पनि हराउनेहरूको संख्यामा बृद्धि भएको प्रहरीको निष्कर्ष छ। अहिले प्रहरी कार्यालयमा भागि विवाह, श्रीमान/श्रीमतीको झगडा लगायतका कारणले घर छोडेपछि पनि हराएको भन्दै उजुरी आउछन्। तर मानिस भेटिएपछि त्यसको सूचना प्रहरीमा आउँदैनन्। ‘प्रक्रिया र व्यवहारिकता हेरेर आएका निवेदन प्रहरीले दर्ता गर्नैपर्छ।’ जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार बस्नेतले भने, ‘हराएकामध्ये धेरै भेटिएका छन्। तर प्रहरीमा जानकारी नहुँदा समस्या परेको छ।’

सबैमा राष्ट्रियताको भाव जागृत गराउनुपर्छ

रेसुङ्गा बहुमुखी क्याम्पसका समाजशास्तका उप–प्रध्यापक गुणनिधि हराउने मानिसहरूको सङ्ख्यामा कम गर्न चेतनामूलक कार्यक्रम गर्नुपर्ने बताए। स्वदेशमै रोजगारको सिर्जना र जनतामा राष्ट्रियताको भाव जागृत गराउन सकेमा पनि बैदेशिक रोजगार कम हुने र त्यसले हराउने मानिसको संख्यामा कम हुने उनको भनाई छ। ‘स्वदेशी उत्पादनलाई बढावा दिने, सरकारी निकायबाट कृषि जस्ता शीर्षकमा अनुदान र प्रोत्साहनको व्यवस्था, जनचेतामा बृद्धि आदि जस्ता काम गरेमा रोजगारी सिर्जना हुन्छ।’ उनले भने, ‘यसो भएसँगै परिवारमा मेलमिलाप हुन्छ। र हराउनेहरूको संख्यालाई कम गर्न सकिन्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.