भद्रपुर, (झापा) : सीप होइन, काम गर्ने इच्छा शक्ति हुनुपर्छ, इच्छा शक्ति भएपछि हाते सीप आफैँ सिकिन्छ र रोजगारीमूलक काम गाउँ घरमै गर्न पाइन्छ। समाजमा यस्तै उदाहरण दिएर रोजगार बनेका छन् झापाको भद्रपुर नगरपालिका ९ स्थित डाँगीबारीका महिला। बिहान, बेलुका घरायासी काम सकेर बाँकी समय छिमेकीसँग गफगाफ वा टेलिभिजन हेरेर दिन बिताउँदै आएकी डाँगीबारीका महिला अहिले दिनभरी सीपमूलक काममा व्यस्त देखिन्छ।
डाँगाबारीका दुई दर्जन बढी महिला एकै ठाउँमा बसेर चर्खाको माध्यमबाट पस्मिनाको धागो काट्ने काममा व्यस्त छन्। धागो काट्ने रोजगारीले मनग्ये आम्दानी हुन थालेसँगै उनीहरूको दैनिकी नै फेरिएको छ। घरयाशी काम सकेर १० बजेदेखि धागो काट्ने काममा ब्यस्त रहेकी स्थानीय महिला निर्मला पोखरेलले भनिन्, ‘पहिला घरमा बसेर दिन कटाउन दिक्क लाग्थ्यो, गाँउमै सीपसहितको रोजगारीमूलक काम पाएपछि अहिले दिन काट्कै थाहा हुँदैन।’
‘सीप पनि सिक्यो, काम पनि पाइयो र परिवार चलाउन पनि सहज भयो’, उनले थपिन्। तालिम लिएर गाउँघरमै रोजगारी पाएपछि आफू एकदमै खुसी भएको स्थानीय महिला बविता आचार्यले बताइन्। ‘एक केजी धागो काट्न सके दुई हजार रुपैयाँ आम्दानी हुन्छ’, उनले भनिन् ‘यहाँ रोजागारी पाएकी महिलाले तीनदेखि चार अवधिमा एक केजी धगो काट्छिन्।’
गाँउमा दिनभर टिभी हेर्दै छरछिमेकीमा गएर त्यसै गफ गरेर दिन काट्नुभन्दा केही सीप सिकेर गाउँमै सानोतिनो काम गर्नु भन्दै गाँउकै एक जना दाइले भनेपछि मलगायतका गाउँका तीन जना महिला काठमाडौं गएर तालिम लिएको बन्दना भट्टराईले बताइन्।
‘चर्खाबाट पस्मिनाको धागो काट्ने सीप हामीले १२ दिन काठमाडौंमा बसेर लिएर आएका हौँ’, उनले भनिन् ‘काठमाडौं रहेको एक जापानीज संस्थाले सीप सिकायो, त्यसपछि गाउँमा आएर अन्य महिलालाई सीप सिकाएऔं।’
'सीप सिकेपछि महिलाको सहभागितामै चर्खा खरिद गर्यौ र काठमाडौंकै ती जापानीज संस्थाले रुवा पठादिन्छ, त्यसलाई धागो बनाएर यहाँबाट पठाउँछौँ,” उनले भनिन्। डाँगाबारीको शिवपञ्चायन मन्दिर परिसरमा अहिले २५ जना महिलाले रोजगारी पाएपछि दंग परेकी छिन्। यस सीप मुलक रोजगारीको काममा अन्य महिलालाई पनि सहभागि गराई धेरैलाई महिलालाई रोजगारी प्रदान गरिने उद्देश्य रहेको उनको भनाई छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।