|

डडेल्धुरा : डडेल्धुराको भित्रि मधेसमा पर्ने परशुराम नगरपालिका–५ मा ‘परशुराम धार्मिक- पर्यटन महामहोत्सव २०७५’ आयोजना हुने भएको छ। यही पुस ३० गतेदेखि माघ ८ गतेसम्म महामहोत्सवको आयोजना गर्न लागिएको हो। चार धाममध्येको एक धाम परशुराम धामलाई देश तथा विदेशमा प्रचारप्रसार गर्ने उद्देश्यले महामहोत्वसको आयोजना गर्न लागिएको हो।

पुस ३० गते कलश यात्रासहित उद्घाटन हुने महामहोत्सवमा महास्नान, गंगा आरती, मकर महास्नान, योग विज्ञान शिविर, नित्य पुजन, संगीतमय श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ, देउरा दर्शन, दिवा कार्यक्रम, रात्रि कार्यक्रमहरू प्रस्तुत हुने आयोजनक परशुराम नगरपालिकाका नगरप्रमुख एवं परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५ का संयोजक भीमबहादुर साउँदले जानकारी दिए।

‘यो देशकै ठूलो धार्मिक पवित्रा धार्मिक स्थल हो। यसलाई भगवान विष्णुको छैठौँ अवतारका रुपमा लिइन्छ। भगवान परशुरामले यहीँ क्षेत्रमा तपस्या गरेको र यसै क्षेत्र उहाँहरू पनि जन्म भएको पुराणमा उल्लेख छ’ नगरप्रमुख साउँदले भने,‘यो ओझेलमा परेको क्षेत्रलाई पहिचान गर्नुका साथै परशुराम धाम क्षेत्रलाई साँकृतिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न र यसको महत्वलाई देश विदेशमा चिनाउन महामहोत्वसको आयोजना गर्न लागका हौँ।’

महामहोत्वसको तयारी तीव्ररूपमा भइरहेको उनले जानकारी दिए। महामहोत्वसको तयारी ७५ प्रतिशत सकिएको उनको भनाइ छ। चार धाममध्येको एक धाम परशुराम धाममा पुस महिनाको मसान्त तथा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्दछ। परशुराम धाममा रहेका चुनढुंगा भगवान परशुरामले तपस्या गरेपश्चात् होम गरेपछि बनेको भन्ने जनविश्वास रहँदै आएको छ।

भगवान् परशुरामले तपस्या गरेकाले यो स्थानको नाम परशुराम धाम राखिन गएको पुराणमा उल्लेख गरिएको छ। पुस मसान्तको साँझ यहाँ आएर रातभर आगो तापेर भक्तजनहरू जाग्रम बस्ने गर्दछन्। त्यसो गर्नाले धर्म कमाइने विश्वास छ। माघ १ गते बिहान ४ बजेदेखि महाकाली किनारमा नुहाउने भक्तजनहरूको पनि भीड लाग्छ।

माघे संक्रान्तिको दिन गंगा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास गरिन्छ। मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत तीर्थालु तथा दर्शनार्थीहरू आउने गरेको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष प्रेम चन्द ठकुरीले बताएका छन्।

‘माघे संक्रान्तीबाहेक औँशी, पूर्णिमा तथा ग्रहण लागेको समयमा पनि यस क्षेत्रबाट टाढाटाढाबाट दर्शनाथीहरू आउँछन्’, अध्यक्ष चन्दले भने। एकातिर चूरे पर्वत शृंखला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागिरि पर्वतको मध्य भागमा रहेको परशुरामधाम डडेल्धुराको सदरमुकामदेखि १०० किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दूरीमा सडक मार्गबाट पुग्न सकिन्छ।

सबै तीर्थ पटक–पटक परशुराम एक पटक’ स्कन्द पुराणको मानसखण्डमा उल्लेखित उक्त वचनले नै परशुराम तीर्थको धार्मिक महत्व दर्शाउँछ। भगवानका दश अवतार मध्ये परशुराम अवतार भएको उक्त धाम डडेल्धुराको परशुराम नगरपालिका–५ महाकाली किनारमा रहेको छ। हिन्दू देवीदेवताका तेत्तिसकोटी मठ मन्दिरमध्ये परशुराम तिर्थ मात्र एउटा यस्तो पवित्र धाम हो जस्को संसारमा अन्यत्र कहीं पनि मन्दिर पाइँदैन्।

स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागिरि मन्दिरमा सतीदेवीको पूर्ण अंग पतनपछि भगवान् शिवले यही धाममा लामो कालखण्ड तपस्या गरेका थिए। पछि ईश्वरीय अवतारका लागि यही पुण्य भूमिमा परशुरामले तपस्या सफल पारे। परशुराम भगवान् विष्णुका दश अवतारमध्ये एक मानिन्छन् । मेलास्थलसम्म यातायातका साधनको पहुँच पुग्दा भक्तजनहरू यहाँ बढी केन्द्रित हुने गरेका छन्।

महाकाली पारी परशुराम धामदेखि सात किलोमिटरको दुरीमा रहेको पूर्णागीरी मन्दिरमा बर्षेनी आउने लाखौँ धार्मिक यात्रुहरू मध्ये एक चौथाइ पनि परशुराम धाममा आउने वातावरण सिर्जना गर्ने हो भने डडेल्धुराको आर्थिक विकासमा मात्र नभएर सुदूरपश्चिमा धार्मिक पर्यटनको ठूलो विकास हुन सक्ने सम्भावना रहेको छ।

धार्मिक पर्यटनका दृष्टीकोणले परशुराम धाम हिन्दूहरूको पवित्र धार्मिक स्थल भएपनि अन्य पर्यटका दृष्टीकोणले पनि त्यो उत्तिकै महत्व राख्ने कार्यपालिका सदस्य तथा स्थानीय धमेन्द्र नेपालीले बताए। सरकारको चरम उपेक्षाले मुलुकको एकान्तकुनाको परशुराम धामको महत्व ओझेलमा परेको  भए पनि अहिले स्थानीय सरकारले साँस्कृतिक पर्यटकीय क्षेत्र घोषणा गरी सडक ग्राबेल गरी रहेको छ। सशस्त्र द्वन्द्वको समयमा माओवादीले आगो लगाइ ध्वस्त गरेको परशुरामको संस्कृत क्याम्पस हाल पुनर्निर्माण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.