|

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी(विप्लव) का पोलिट व्यूरो सदस्य एवं पश्चिम कमाण्डका सह-इन्चार्ज ओमप्रकाश पुनले सरकाले वार्ता टोलीको समय अवधि सकिएको भनेर आफ्ना नेताको पक्राउ पूर्जी जारी गरिएको बताएका छन्।

शनिबार कञ्चनपुरको झलारीमा आयोजित जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीसँग सल्लाह नगरेर बनाइएको वार्ता टोलीको भएकाले यसको राजनीतिक हैषियत नभएको बताए। अपराधिक समूहसँग वार्ता गर्दै हिँडेको वार्ता टोलीले राजनीतिक वार्ता गर्ने हैषियत नराख्ने उनले बताए। 'यो जनयुद्धको उत्तराधिकारी पार्टी भएकाले यसले राजनीतिक हैषियत राख्दछ' उनले भने, ‘कम्युनिस्ट सरकारका नाममा करोडौँ रकम स्वाहा पार्नेलाई जनताले छाडने छैनन्।’

उनले सरकारले सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्ने हल्ला फिँजाएको तर वास्तविकता त्यस्तो नभएको बताए। 'सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको हल्ला फिजाइएको छ,' उनले भने, ‘अधिकार त पाइएको छैन। सिंहदरबारको भ्रष्टाचार गाउँसम्म पुगेको छ। पहिला टेवुल मुनिबाट घुस दिइथ्यो। हाल टेवुल माथिबाट घुसको रकम दिइने गरेको छ।’ शिक्षा, रोजगारीमा जनताको पहुँच पुग्न सकेको उल्लेख गर्दै उनले रोजगारीका लागि युवाले विदेशिनु परेको बताए।

माध्यमिक तहसम्म पुग्ने विद्यार्थी उच्च तहसम्म पुग्न नसको उनको भनाइ छ। विभेदकारी शिक्षा नीतिका कारण सर्वसाधारका छोराछोरीले पढने अधिकारसम्म नपाएको उनले बताए। जनताले न्याय पाउने अदालतसम्म भ्रष्टाचार पुगेको धारणा अघि सार्दै उनले जनताले न्याय पाउन नसकेको बताए।

राजनीतिक व्यवस्थाको नाम मात्रै बदलिएको छ कार्यशैली उही भएकाले जनताले अधिकारका लागि लड्नु पर्ने बेला आएको उनले बताए। दश वर्षे जनयुद्धका सपनाहरू अझै पूरा नभएकाले यसका लागि सबैले एकपटक लड्नै पर्ने उनको भनाई थियो। जनसभा कार्यक्रममा सामना परिवारको केन्द्रीय सांस्कृतिक टोलीले जनसांस्कृतिक गीत र नृत्य प्रस्तुत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.