|

ताप्लेजुङ : निगुरादिनका भिमबहादुर जोगीको गत वर्षको असारमा पुल निर्माण गर्नुपूर्व गरिने माटो परीक्षणका लागि आवश्यक मेसिन बोक्दा दाहिने काँध सड्कियो। अहिले पनि गह्रौ भारी बोक्न नहुने भएको उनले बताए। आफ्नै घरअघि गाडी दौडिने आशामा तमोर नदीमा बन्ने मोटरेबल पुल निमार्णको मेसिन निःशुल्क बोकेर सहयोग गरेको उनले बताए। तर, लामो समयसम्म पुल निर्माणले गति नलिँदा उनमा खिन्नताका साथै आक्रोस बढेको छ।

तमोर करिडोरअन्तर्गत ताप्लेजुङको आठराई त्रिवेणी र पाँचथरको हिलिहाङ गाउँपालिका जोड्ने तमोर नदीमाथिको मोटरेबल पुल निर्माण सुरु भएको एक वर्ष हुँदा एउटा मात्र खाल्डो खनिएको छ। पुल निर्माणको काम सुस्त भएपछि जोगीजस्तै स्थानीयहरु आक्रोसित छन्।  

निर्माण ठेक्का सपना याक्थुङहाङ जेभी निर्माण कम्पनीले लिएको छ। ताप्लेजुङमा रहेको उत्तर–दक्षिण लोकमार्ग आयोजनाले सपना याक्थुङहाङसँग निर्मिाणको सम्झौता गरेको हो। तर, एक वर्ष वित्दा समेत ताप्लेजुङ क्षेत्रमा एउटा खाल्डो खनेको छ। त्यो पनि पूरा भएको छैन।

‘कहिले काहीँ यो बाटोबाट पाँचथर जाँदा एउटा मेसिनले काम गरेको देखिन्छ,’ आठराई त्रिवेणी गाउँपालिका–१ का वडा समस्य मल्लराज पोमु लिम्बूले भने, ‘एउटा सुपरभाइजर छन् भन्ने सुनेको छु, भेट भएको छैन। कहिले मेसिन बिग्रियो भनेको सुन्छु। एक वर्ष भो यति खाल्डो मात्र खनेका छन्।’ निर्माणको गति यस्तै रहने भए १० वर्षमा पनि पुल निर्माण पूरुा नहुने स्थानीयहरु बताउँछन्।

ठेक्का सम्झौता गरेर जनकपुर सरुवा भएका तत्कालीन आयोजना प्रमुख कुबेर नेपाली अहिलेसम्म योभन्दा बढी काम हुनुपर्ने बताउँछन्। जिल्लामा आयोजनाको कार्यालय निस्क्रिय रहेकाले ठेकेदारले लापरबाही गरेको स्थानीयको गुनासो छ।

पुल निर्माण क्षेत्रका वडाध्यक्ष पूर्ण सिटौलाले भने कसले, कहिलेसम्म, कतिको लागतमा निर्माण गर्ने यसको जानकारी नपाइएको बताउँछन्। ‘नियमअनुसार निर्माण स्थलमा योजनाको नामसहित सम्पूर्ण जानकारी रहेको बोर्ड राख्नु पर्ने हो,’ वडाध्यक्ष सिटौलाले भने, ‘खै अहिलेसम्म ती ठेकेदारले केही जानकारी पनि गराएका छैनन्। स्थानीय लागेर काम छिटो गर्न दबाव दिनुपर्ने देखिएको छ।’ 

निर्माण कम्पनी याक्थुङहाङ जेभी कम्पनीका प्रबन्धक तेज कुरुम्बाङले पनि निर्धारित समयमै काम सक्न मुस्किल रहेको स्वीकारे। तर, धेरै ढिला नगर्ने बताए। ‘हामीलाई मुख्य समस्या सडकको हो,’ उनले भने, ‘काबेलीबाट खोलासम्म जाने बाटोको स्तरोन्नति गरिसकेका छौँ। अब काम धमाधम हुन्छ।’

निर्माण कम्पनीका अनुसार अहिले तयार भइरहेको ताप्लेजुङतर्फको फाउण्डेशन तयार भएपछि पाँचथरतर्फ पनि तयार गरी यही हिउँदमा दुवैतिर पिलर तयार गर्ने बताए। यसपछि ट्रस्टको काम गरिने छ। तर, सम्झौताअनुसार काम सक्न खोलाको वारि र पारि पिलर उठाउने र माथिबाट ट्रस्ट लगाउनुपर्ने पुल निर्माणको अवधि १८ महिना मात्र बााकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.