|

हुम्ला : चीनको स्वसाशित  क्षेत्र पुराङ काउण्टीमा रहेको मानसरोवर कैलाश तीर्थ अब हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ६ अन्तर्गतको लिमी लाम्प्चा भञ्याङ भएर दर्शनका लागि जान मिल्ने भएको छ। मानसरोवर कैलाश दर्शन गर्न उत्कृष्ट गन्तव्यस्थलका रूपमा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चा भञ्याङ सम्भावना बढेको हो।

आगामी वर्षको योजना अनुसार लिमी लाप्चा भञ्याङबाट सम्भावना देखिएको छ। नेपालकै लाप्चा भञ्याङबाट चीनको मानसरोव र कैलाश दृश्य देखिने भूभाग नेपालको लिमी नै पाइएपछि यो सम्भावना बढेको पाइएको छ। नाम्खाको लाप्चाबाट मानसरोवर र कैलाश एकैपटक दृश्यावलोकन गरी दर्शन गर्न पाइने उचित स्थानको रूपमा विकास हुँदै आएको छ। हाल हुम्लाको लाप्चा भञ्याङबाट आन्तरिक पर्यटकले मात्रै उपयोग गर्दै आएको नाम्खा गाउँपालिकाअध्यक्ष विष्णुबहादुर लामाले बताए।

आगामी आर्थिक वर्षभित्रै भ्यु टावर सहितको अन्य आकर्षक गन्तव्य स्थलको रुपमा विकास गर्न लागेको अध्यक्ष लामाले बताए। सल्ली खोलादेखि २ घण्टा टाढाको दूरी रहेको छुङसाखोला बास बस्नकालागि सार्वजनिक भवन निर्माण गर्न योजना रहेको अध्यक्ष लामाको भनाइ छ। भवन निर्माणका लागि नेपाल पर्यटन बोर्डले १५ लाख बजेट विनियोजित गरेको अरु बाँकी नाम्खा गाउँपालिकाले बजेट हाल्ने अध्यक्ष लामाले बताए।

नाम्खा गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्नको लागि प्रचार प्रसार र अन्य सुविधासहित पर्यटकलाई लाप्चाबाट दर्शन गराई पर्यटन प्रवर्द्धनको लागि टेवा पुर्‍याउने गरी गाउँपालिकाको आर्थिक समुन्नति बढाउनको लागि पहल गरिने अध्यक्ष विष्णु लामाले बताए। 'सदरमुकाम सिमकोटदेखि ३ दिनको पैदल यात्रापछि लिमी लाप्चा भञ्याङ पुग्न सकिने वातावरण सिर्जना गरिनेछ' अध्यक्ष लामाले भने, 'यसको लागि सडकको स्तरोन्नति, सवारी साधनको पर्याप्तता लगायतको सुविधामा जोड दिइने गाउँपालिकाको योजना छ।' 

सुन्दर दृश्यावलोकन र फरक संस्कृतिको स्वाद पर्यटकले लिन सक्ने अवस्था लिमीमा रहेको छ। हरेक वर्ष पैदल यात्रा, वन्यजन्तु, बोटविरुवा, संस्कृति अवलोकनको लागि आन्तरिक तथा तेस्रो मुलुकका पर्यटकको राम्रो आवागमन लिमी र लाप्चा भञ्याङमा हुने गरेको छ। विशेष गरी त्यस क्षेत्रमा भाद्रको अन्तिमदेखि कात्तिकको पहिलो हप्तामा मौसममा सुधार आउने भएकोले पर्यटक र तीर्थयात्रीको आवागमनको उपस्थिति बाक्लो हुने गरेको छ। तेस्रो मुलुकका पर्यटक पैदलै भ्रमण गर्न रुचाएको भए तापनि आन्तरिक पर्यटकको लागि भने सवारीको सुविधा जरुरी हुने गरेको छ। 

समुद्री सतहबाट चारहजार ८०० मिटरको उचाईमा रहेको लिमीको लाप्चा भञ्ज्याङ अति नै सुन्दर ठाउँ पनि हो। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीको लाप्चा भञ्याङबाट पशुपंक्षीको आकर्षक वासस्थानको रुपमा चिनिएको यो भञ्याङबाट दर्शनको साथमा वन्यजन्तु र पशुपंछीको अवलोकन गर्न पाइने भएपछि पर्यटकको रोजाई रहँदै आएको छ।

सदरमुकाम सिमकोटबाट पैदल हिँडेर नेपाली यात्रीको लागि तीनदिन र तेस्रो मुलुकका यात्रीले ६ दिनको हिँडाई पछि लिमी लाप्चा भञ्याङ पुग्ने गरेका छन्। नेपालकै अति नै सुन्दर ठाउँको रुपमा पर्यटकले लाप्चा भञ्याङ र लिमी उपत्यकालाई लिने गरेको पाइएको छ। वन चौंरी, वन घोडा र वन्यजन्तुको उपयुक्त वासस्थानको लागि समेत लिमी लाप्चा भञ्याङ प्रसिद्ध रहेको छ। यस वर्षको आँकडा अनुसार तेस्रो मुलुकका पर्यटक ३७६ र आन्तरिक पर्यटक ७२१ जनाले मानसरोवर कैलाश नेपालबाटै गरेको तथ्यांक नाम्खा गाउँपालिकाले सार्वजनिक गरेको छ। यस क्षेत्रको भ्रमणको लागि स्थानीय प्रशासनबाट अनुमति लिनु पर्ने प्रावधान रहेको छ।

नेपाल सरकारले हुम्लाको सिमकोटबाहेक सबै क्षेत्रलाई निषेधाज्ञा घोषणा गरेको छ भने भ्रमण र अध्ययनको लागि सरकारको अनुमतिविना कोही कसैलाई हुम्लाको सबै क्षेत्र भ्रमण गर्न नपाउने प्रावधान रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.