|

काठमाडौं : अंग्रेजी पात्रोअनुसार आज वर्षको अन्तिम दिन हो। आजैका दिनबाट सन् २०१८ सकिन्छ र भोलिबाट नयाँ वर्षको सुरुवात हुनेछ। नयाँ वर्षको सुरुवात हुँदै गर्दा नेपालमा सन् २०१८ मा भएका अपराधका सुल्झिएका र सुल्झिन अझै कति समय लाग्ला भन्ने यकिन नभइसकेका घटना भए।

सन् २०१८ मा नेपालमा सबैभन्दा ठूलो अपराधको घटना कञ्‍चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या रह्यो। यसले सन् २०१९ मा पनि चर्चा पाउने निश्चित छ। त्यसैगरी, सन् २०१८ को पहिलो महिना नै अत्यधिक चर्चामा रहेको ३३ किलो सुन तस्करीको पर्दाफास भयो। यी दुई घटनाले अपराध अनुसन्धानको दायित्व भएको नेपाल प्रहरीका उच्च अधिकारीको निदहराम गरिदियो। त्यस्तै हाइप्रोफाइल हत्या पनि काठमाडौंमा भयो। जसको अपराधी पनि पत्ता लाग्न सकेको छैन। 

यहाँ, सन् २०१८ मा नेपालभर भएका केही प्रतिनिधिमूलक अपराधका घटनाको लेखाजोखा पेस गर्ने प्रयास गरेका छौँ। 

३३ किलो सुनको पहेँली!

२०१८ को पहिलो महिना जनवरीमै वर्षौंदेखि भइरहेको सुन तस्करीको पर्दाफास भयो। २३ जनवरी २०१८ मा दुवै हुँदै नेपाल भित्रिएको ३३ किलो सुन त्रिभुवन विमानस्थल हुँदै बाहिरिए पनि सम्बन्धित ठाउँमा नपुगी हराएपछि सुन तस्कर काण्डले चर्चा पाएको थियो। सोही तस्करी प्रकरणमा दुई जनाको रहस्यमय मृत्यु र एक जनाको निर्मम हत्यासमेत भएको थियो। नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरीले महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहस्यमय तरिकाले आत्महत्या गरेका थिए।

सुन तस्करीका अर्का आरोपी सानु वनले पनि विमानस्थलभित्र गुड्दा गुड्दै गरेको पानीको ट्यांकरमा ठोकिएर आत्महत्या गरेका थिए। उनी थाई एयरवेजका इन्जिनियरसमेत हुन्।

सानु वन र चौधरीले आत्महत्या गर्नुभन्दा एक महिना पहिला नै मोरङ उर्लाबारी  ७ का ३३ वर्षीय सनम शाक्यको निर्मम यातनाबाट हत्या भइसकेको थियो। ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके मोरङ उर्लाबारीका ‘गोरे’ भनिने चूँडामणि उप्रेती समुहले शाक्यको हत्या गरेका थिए।

सनम शाक्य हत्या र सुन तस्करी घटनाको छानविन गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेत्रृत्वमा समिति समेत गठन गरिएको थियो। सुन तस्करी र सनम शाक्य हत्या काण्डले प्रहरी संठगनमा समेत पहिरो गयो। छानविन समितिको सक्रियतामा प्रहरीका उच्च अधिकारीमसेत भटाभट पक्राउ परेका थिए।

जसमा महानगरीय अपराध महाशाखाका तत्कालिन प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिवेश लोहनी, प्रहरी उपरीक्षक (एसपी) विकाशराज खनाल, प्रहरी नायव उपरीक्षक (डीएसपी) संजय राउत, सई बालकृष्ण सञ्जेल र पूर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) गोविन्द निरौलासमेत पक्राउ परेका थिए।

समितिले पछि नेपालमा वर्षौंदेखि ‘गोरे’ समूहले ३८ सय किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो। सोहीअनुसार सरकारले ६३ जनाविरुद्ध विराटनगर जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ। हाल मुद्दा विचाराधीन अवस्थामा छ। पक्राउ परेका प्रहरी अधिकारीसहित अधिकांश रिहा भइसकेका छन्। तस्करीका मुख्य नाइके भनिने गोरे भने केन्द्रीय कारागार सुन्धारास्थित गोल घरभित्र कैद जीवन भोगिरहेका छन्।

यो तस्करीको पहेँलीले नेपालको संसदमा पनि व्यापक बहस पायो। राजनीतिक दलका नेताहरू नै सुन तस्करीमा संलग्न भएको भन्ने सर्वत्र चर्चा भए पनि आधिकारिक रूपमा को संलग्न थियो भन्ने बाहिर आउन सकेन। प्रहरी अधिकारी र केही तस्कर मात्रै संलग्न रहेको भन्ने प्रतिवेदन तयार भयो। तर, उक्त प्रतिवेदन सार्वजनिक भएन। ईश्वरी पौडेल नेतृत्वको समितिले उक्त प्रतिवेदन गृहमन्त्रीलाई बुझाए र गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाए। अनि, समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यलयमा थन्किएको अवस्थामा छ।

'फेक इन्काउन्टर' को वर्ष

२१ फ्रेब्रुअरी २०१८ मा विभिन्न आपराधिक घटना र हत्यामा संलग्न हुँदै आएका रूपन्देही देवदह नगरपालिका ६ का मनोज पुन र उनका सहयोगी भनिएका भैरहवाका सोम आले प्रहरीको इन्काउन्टरमा मारिए।

उनलाई तीन दिनअघि भारतको गोवाबाट प्रहरीले पक्राउ गरेर नेपाल ल्याएर हत्या गरेको र प्रहरीले इकाउन्टरको हवला दिएको आरोप प्रहरीमाथि लागेको थियो। मनोजमाथि रूपन्देहीका दुर्गा तिवारी हत्याको मुख्य योजनाकार, रूपन्देहीकै व्यवसायी वसन्त पौडेलको हत्या, दुर्गालाल भण्डारीमाथि गोली हानेको अभियोगदेखि निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामासमेत संलग्न रहेको पाइएको थियो। पुन र आलेमाथि प्रहरीले १० देखि १२ वटा गोली प्रहार गरेको थियो। 

त्यस्तै  ११ जुन २०१८ मा ललितपुरस्थित युएन पार्कमा गोली चल्यो प्रहरीको गोलीबाट अपराधिक पृष्ठभूमि भएका अशोक लामा घाइते भए। ललितपुर गिम्दी ८ का स्थानीयवासी ३८ वर्षीय लामा अपराधको दुनियाँमा चर्चामा नआए पनि उनको धन्दा क्यासिनोमा लगानी गर्ने र मिटरब्याजमा पैसा लगाउने रहेको थियो।

लामाले पैसा लगानी गरेको व्यक्तिले फिर्ता नगर्दा ज्यान मार्ने धम्की दिने गरेको प्रहरीको भनाइ थियो। अपराध महाशाखाको टोलीले उनलाई गोली हानेर नियन्त्रणमा लिएको थियो। 

त्यसैगरी ६ अगस्त २०१८ को  आइतबार साँझ ११ वर्षीय बालक निशान खड्का काठमाडौं काँडाघारीबाट अपहरणमा परे। उनको शव भोलिपल्ट हत्या गरिएको अवस्थामा फेला परेको थियो। अपहरणकारीको खोजिमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुईजना अपहरणकारी मारिएका थिए। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरको डोलेश्वर पाइलट बाबा जंगलमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको थियो। यो इन्काउन्टरमा पनि शंका उब्जियो।

प्रहरीले ती दुईजनालाई घरबाट पक्राउ गरेर जंगलमा लगि मारेको भन्ने कुरा सार्वजनिक भयो। जसको जवाफ गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा दिनुपर्‍यो। अर्कोतर्फ अपराध अनुसन्धान महाशाखाको टोलीले मानवअधिकार आयोगमा स्पष्टीकरण दिनुपरेको थियो।

त्यस्तै, केही दिनअघि मात्र काठमाडौंको कालोपुलमा प्रहरीसँगको गोली हानाहानमा इटहरी उपमहानगरपालिका ५ स्थायी घर भएका राजन लिम्बू घाइते भएका थिए। लिम्बूसँग पेस्तोल भएको सूचनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रहरीले जवाफी फायर खोलेको थियो।

लिम्बूको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामदसमेत भएको थियो। प्रहरीका अनुसार उनी नामुक डाँका हुन्। उनीमाथि दर्जन बढी लुटपाटको अभियोग थियो। यसरी प्रहरीको इन्कान्टरमा चार जनाको ज्यान गयो भने दुईजना घाइते भए। 

निर्मला बलात्कार र हत्या काण्ड

कञ्‍चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या २०१८ कै नेपालको सबैभन्दा ठूलो र विवादित अपराध घटनाकमा दर्ज भएको छ। निर्मलाको साउन १० अर्थात् अगस्ट २६ मा बलात्कारपछि हत्या भएको थियो।

हत्या अभियोगको आशंकामा प्रहरीले १८ जनाभन्दा बढीको डिएनए परीक्षण, हजारौँ व्यक्तिको मोबाइलको कल डिटेल र निर्मलाको शव भेटिएको क्षेत्र नजिकका घरका मानिसलाई सोधुपुछ गरिसकेको छ। तर, अझै यो घटनाले बिट मारेको छैन। जसको कारण प्रहरी संगठन नै आलोचित हुन पुगेको छ।

निर्मलाको हत्या अनुसन्धानका क्रममा सुरुवाती चरणमा प्रहरीबाट कमजोरी भएको भन्दै तत्कालीन कञ्‍चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट सेवाबाट बर्खास्त भएका छन्। निर्मला हत्याकाण्ड अनुसन्धान गर्न कञ्‍चनपुर पुगेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीलगायत दर्जन प्रहरी निलम्बित छन्।

निर्मलाको न्यायको माग गर्दै सरकार र प्रहरीलाई चौतर्फी दबाब बढ्दो छ। घटनाको अन्तर्राष्ट्रियकरणसमेत भएको छ। निर्मला हत्याको अभियोगमा स्थानीय दिलीपसिंह विष्टलाई पक्राउपछि सार्वजनिक गरे पनि डिएनए नमिलेपछि उनी थुनामुक्त भएका थिए। यो घटनामा विदेशमा रहेका नेपालीले पनि आवाज उठाइरहेका छन् र यसले सन् २०१९ मा पनि सरकारको टाउको दुखाउने निश्चित छ।

हाइप्रोफाइलको रहस्यमय हत्या

फ्रान्सका लागि पूर्वनेपाली राजदूत केशवराज झाको ०१८ जुलाई २० मा हत्या भयो। बबरमहलस्थित आफ्नै निवासमा उनको राति हत्या भएको थियो। झा को टाउको र घाटीमा गम्भीर चोट लागेको थियो। तर, उनको हत्या कसले र किन गरे त्यो पत्ता लागेको छैन। प्रहरीका अनुसार अनुसन्धान अझै जारी छ। 

हत्या भएकै दिन प्रहरीले झाको घरमा सुरक्षा गार्ड काम गर्दै आएका सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो। तर, उनीहरूले नै हत्या गरेको यथेष्ट प्रमाण नभेटेपछि तीनैजना आठ/आठ हजार रुपैयाँ धरौटीमा थुनामुक्त भएका थिए।

त्यसपछि भने प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन। हाल महानगरीय अपराध महाशाखा र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हत्या अनुसन्धान गरिरहेको छ। यो ०१८ को भिआइपी हत्या काण्ड हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.